प्रदेश १ मा १८ प्रतिशत रोपाई
विराटनगर : अन्न भण्डारको उर्वर भूमि मानिने प्रदेश १मा असारको दोस्रो हप्तासम्म १८ प्रतिशत धान रोपाई भएको छ। असार १४ गतेसम्म १८ प्रतिशत धान रोपाई भएको हो।
प्रदेश १मा सबैभन्दा बढी मध्यपहाडको जिल्लामा २६ प्रतिशत रोपाई भएको छ। भने तराईको जिल्लामा १५ प्रतिशत धान रोपाई भएको छ। गतवर्षको असार २१ गतेसम्म ४७ प्रतिशत धान रोपाई भएको थियो। कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार मध्यपहाडमा धान खेती हुने ९० हजार ९ सय १६ हेक्टर क्षेत्रफलमध्ये २६ दशमलव १९ प्रतिशत धान रोपाई भएको हो। मध्यपहाडमा २३ हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरका कृषि विज्ञ नेत्रमणी काफ्लेका अनुसार तराईका तीन जिल्लामा दुई लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ३३ हजार ७ सय ४५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। जुन धान खेती हुने क्षेत्रफलको १५ प्रतिशत हो।
उच्च पहाडमा १५ दशमलव ५५ प्रतिशत धान रोपाई भएको छ। २४ हजार १ सय १३ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ७ सय ४९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। मध्यपहाडमा एक लाख ४५ हजार हेक्टर क्षेत्रफल खेती हुने गरेको कृषिविकास निर्देशनालय प्रदेश १ विराटनगरले जनाएको छ।
उच्च पहाडी जिल्लाको सोलुखुम्बुमा ३७ प्रतिशत धान रोपाइएको भएको छ। ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेतिहुँदै आएकोमा १९ प्रतिशत धान रोपाइ भएको छ।
संखुवासाभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा ११ प्रतिशत धान रोपाइ भएको छ। त्यसैगरी मध्यपहाडी जिल्ला ओखलढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये १९ प्रतिशत धान रोपाई भएको हो।
भोजपुरमा १८ हजार ९२ हेक्टर क्षेत्रफलमा धान खेतीहुँदै आएकोमा हालसम्म ५१ प्रतिशत धान रोपाई भएको छ। धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएकोमा हालसम्म १६ प्रतिशत, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर क्षेत्रफलमध्ये १८ प्रतिशत, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टरमध्ये १५ प्रतिशत रोपाई भएको छ। त्यस्तै खोटाङमा १२ हजार ८ सय ९८ मध्ये २६ प्रतिशत रोपाई सम्पन भएको छ।
पाचँथरमा ९ हजार २ सय ३ हेक्टर क्षेत्रफलमध्ये १५ प्रतिशत, इलाममा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमध्ये २३ प्रतिशत धान रोपाई भएको छ।
झापामा १८ प्रतिशत धान रोपाई भएको छ। झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये १५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ। मोरंगमा १० प्रतिशत धान रोपाई भएको छ। मोरंगमा ८३ हजार३ सय हेक्टरमध्ये १२ हजार ४ सय ९५ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। सुनसरी भने १० प्रतिशत मात्रै धान रोपाई भएको छ। सुनसरीमा ५५ हजार ५सय हेक्टर मध्ये ५५ सय हेक्टरमा धान रोपाई भएको हो।
प्रतिक्रिया दिनुहोस !