पोखराको महत्वपूर्ण जमिन सुटुक्क निजीलाई भाडामा

पोखराको महत्वपूर्ण जमिन सुटुक्क निजीलाई भाडामा

पोखरा : पर्यटन बसपार्कसहित पोखराको ३ ठाउँको जमिन पोखरा उपत्यका नगर विकास समितिका तत्कालीन अध्यक्ष तथा पूर्वमेयर मानबहादुर जिसीले निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएको छ। मेयरबाट अवकास लिनु २ दिनअघि अर्थात् जेठ ३ गते तीन ठाउँको जमिन उनले निजी क्षेत्रलाई भाडामा दिने सम्झौता गरेको खुलेको हो।

राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्कका रुपमा प्रयोग भइरहेको १८ रोपनी जमिन शिला शालिग्राम निर्माण सेवा प्रालिलाई आउँदो २०८९ जेठसम्मका लागि १० वर्षलाई मासिक २ लाख ७५ हजार रुपैयाँमा भाडामा दिन सम्झौता भएको छ।

त्यस्तै राष्ट्र बैंक चोक र मुस्ताङ चोकबीच अगाडिपट्टि गल्फकोर्सका रुपमा प्रयोग भइरहेको ४० रोपनी जमिन पनि भाडामा दिन सम्झौता भएको खुलेको छ। यातायात कार्यालय पछाडिको ५ रोपनी जमिन पनि निजी क्षेत्रलाई भाडामा दिने सम्झौता भएको हो।

ती सबै जमिन पोखरा उपत्यका नगर विकास समितिको नाममा छन्। समितिको अध्यक्ष पोखरा महानगरपालिकाका मेयर हुने व्यवस्था छ। पूर्वमेयर जिसीले आफ्नो विदाइ हुने २ दिनअघि ती सबै जमिन भाडामा दिन निजी क्षेत्रसँग सम्झौता गरेका कागजात पोखरा महानगरपालिकामा आइपुगेका छन्।

नवनिर्वाचित मेयर धनराज आचार्यले समितिमा अध्यक्षको पदभार ग्रहण असार १६ गते गरेका थिए। पर्यटन व्यवसायीहरुले मेयर आचार्यलाई पर्यटन बसपार्क सुटुक्क निजी क्षेत्रलाई भाडामा दिइएको भन्ने गुनासो गरेपछि सम्झौताहरुको खुलासा भएको हो।

निजी क्षेत्रलाई भाडामा दिने प्रयोजनार्थको सूचना भने समितिले पोखराबाट प्रकाशित हुने र अहिले बन्द रहेको एउटा पत्रिकामा चैत २६ गते छापेको थियो। मेयर आचार्यले उक्त सम्झौता भएको भन्ने आफूलाई आज (सोमबार) मात्रै थाहा भएको बताए।

‘समितिको बैठक पनि बसेको छैन, सदस्य सचिवलाई पनि थाहा छैन, अरु सदस्यहरुलाई थाहा छैन,’ उनले भने, ‘हामी आवश्यक छानबिन गर्छौं, के कति कानुनी के कति गैरकानुनी हो भन्ने बुझेर अघि बढ्छौं।’

उपत्यका नगर विकास समितिमा मेयर अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रमुख मालपोत अधिकृत, प्रमुख नापी अधिकृत, जिल्ला वन डिभिजन कार्यालय प्रमुख र कार्यपालिकाका केही सदस्यहरु सदस्य हुन्छन्। उपत्यका नगर विकास समितिमा पोखराका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुन्छन्।

त्यस्ता सम्झौताहरुमा सदस्य सचिवको हस्ताक्षर हुनुपर्नेमा तत्कालीन मेयर जिसीकै हस्ताक्षर रहेको मेयर आचार्यले जानकारी दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन बसहरुको बिसौनी एक्कासि भाडामा दिइएको थाहा पाउँदा अचम्मित भएको प्रतिक्रिया दिए। उनले पर्यटन बसपार्कमा पर्यटन व्यवसायीका बसहरु पार्किङ गर्ने व्यवस्था हुनुपर्नेमा निजीलाई भाडामा दिइएको बताए। ‘यसबारेमा मेयर साबलाई भेटेर कुरा राखेका छौं,’ उनले भने, ‘बुझेर एक दुई दिनमा भन्छु भन्नुभएको छ।’ उक्त जग्गाको भाडा सम्झौता हुँदा उपत्यका नगर विकास समितिमा अशोक सुनार अधिकृत थिए। उनलाई पोखरा महानगरपालिकाले सोमबार समितिको कार्यालयबाट महानगरमै सरुवा तानेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.