भुक्तानीले बढायो निक्षेप

भुक्तानीले बढायो निक्षेप

काठमाडौं : बैंकिङ प्रणालीमा निक्षेप संकलनमा सुधार हुन थालेको छ। सरकारले विकास खर्चमा भएको पैसा भुक्तानी गर्न थालेपछि निक्षेपमा सुधार भएको हो। वैशाखमा १९ अर्ब रुपैयाँले घटेको निक्षेप जेठमा ३० अर्ब रुपैयाँले बढेको छ। 

असार तेस्रो सातामा भने ९४ अर्बले वृद्धि भएको छ। यसरी निक्षेप बढ्दा असार २४ सम्ममा वाणिज्य बैंकको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स संघले मंगलबार सार्वजनिक गरेकोे तथ्यांकले यस्तो देखाएको हो। सो कुल निक्षेपमा विदेशी मुद्राको निक्षेप १ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ। स्वदेशी मुद्राको निक्षेप ४३ खर्ब ८७ अर्ब रुपैयाँ छ। 

यसअघि वैशाखमा भएको निर्वाचनपछि पनि बैंकिङ प्रणालीमा खासै रकम नभित्रिएको बैंकरहरू गुनासो गर्दै आएका थिए। यद्यपि आर्थिक वर्षको अन्त्यमा भने निक्षेपमा राम्रो सुधार भएको संघले बताएको छ। निक्षेप संकलनले गति लिन थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। ‘अहिले चुनावको पैसा आएको भन्दा पनि विकास खर्चअन्तर्गत भुक्तानी गर्ने कतिपय रोकिएको पैसा पनि सरकारले भुक्तानी गर्छ। वर्षान्तमा सरकारले गर्ने सबै रकम निकासा भयो। सरकारले भुक्तानी गर्नेबित्तिकै सो पैसा बजारमा आउँछ,’ डा. भट्टले भने। यता असारमा कर्जा प्रवाह १९ अर्बले घटेको छ । यसरी घटेर कुल कर्जा ४१ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित छ। जबकि यसअघि जेठमा कुल कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब रुपैयाँसम्म पुगेको थियो। 

ऋणीबाट भटाभट कर्जाको साँवा ब्याज उठ्न थालेपछि समग्रमा कर्जाको आकार घटेको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए। ‘सरकारले ठेकेदार, सप्लायर्सलाई भुक्तानी गर्नुपर्ने पैसा दिएपछि बैंकमा तिरे। उक्त रकम ऋणबाट काटियो। यसो हुँदा ऋण घटेको देखियो। साथै उनीहरूले प्राप्त गरेका बाँकी पैसा निक्षेपमा गयो। जसले निक्षेप बढ्यो,’ उनले भने। पुँजीगत खर्चको भुक्तानी सरकारले गरेका कारण रकम बैंकिङ प्रणालीमा आएको उनले बताए। 

यसअघि निक्षेप र कर्जाको असन्तुलन वृद्धिले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)  नियन्त्रणमा भने आएको थिएन। तर, अहिले निक्षेप वृद्धि र कर्जा संकुचन हुँदा अधिकांश बैंकको सीडी रेसियो पनि राष्ट्र बैंकले तोकेको सीमाभित्र आइसकेको छ।  असार तेस्रो सातासम्म रमग्रमा वाणिज्य बैंकको सीडी रेसियो औसत ८८.५७ प्रतिशतमा झरेको छ।  बैंकले चालू आवको असार मसान्तमा सीडी रेसियो ९० प्रतिशतको सीमामा नल्याउनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो। अधिकांश बैंक सीमामा आइसकेको र नआएका पनि २–३ दिनभित्रै सीमामा आउने संघका अध्यक्ष उपाध्यायको दाबी छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.