हिमाली जिल्ला सोलुखुम्बुमै अक्सिजन उत्पादन थालियो
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ।
१ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लाण्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ।
एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिनेछ। अक्सिजन अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनु नपर्ने निमित्त कार्यालय प्रमुख सानी शेर्पाको भनाइ छ।
स्वचालित रूपमा विरामीको बेडमानै पाइपलाइनबाट अक्सिजन उपलब्ध हुने व्यवस्था गरिएको छ।
जिल्लामै अक्सिजन उत्पादन सुरु भएपछि अक्सिजन भर्नका लागि लाखौ रुपैया खर्चिएर बाहिर जानुपर्ने बाध्यता हटेको निमित्त प्रमुख शेर्पाले बताइन्।
कोरोनाको समयमा अक्सिजनका लागि धेरै समय र रकम खर्च गरेर बाहिर लानुपर्ने बाध्यता थियो। अब भने यो समस्या हटेको छ।
आवश्यकताका आधारमा जिल्ला अस्पतालको अक्सिजन प्लाण्टबाट उत्पादन भएको अक्सिजन जिल्लाका अन्य स्वास्थ्य संस्थाले पनि लैजान सक्ने अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !