संखुवासभामा तीनदेखि लगातार वर्षा :सिलीचोङमा बाढीपहिरोले बस्ती उच्च जोखिममा
सङ्खुवासभा : गत तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सङ्खुवासभाको सिलीचोङ गाउँपालिका पहिरो तथा विपद्को उच्च जोखिममा परेको छ । सिलीचोङ–१ को सिसुवाखोला क्षेत्रका तेन्छोङ, होयाङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायतका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको भुपालराज मेवाहाङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष मेवाहाङका अनुसार जोखिमका कारण स्थानीय नागरिकलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको छ । त्यस्तै कालिका माध्यमिक विद्यालय नेवाटार समेत पहिरोको उच्च जोखिममा परेकाले विद्यालयमा क्षति पुगे पछि विद्यालय बन्द गरिएको छ । विद्यालय माथिबाट पहिरो खसेपछि विद्यालय सञ्चालन सम्भव नभएकाले स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेको अध्यक्ष मेवाहाङ बताए । उत्त विद्यालयमा १७० जना विद्यार्थी अध्ययनरत थिए ।
तेन्छोङ, होयेङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेका स्थानीय बासिन्दा सुरक्षित स्थानमा सामूहिक रूपमा आश्रय लिइ बसिरहेको सिलीचोङ–१ का वडा अध्यक्ष गणेश कुलुङले बताए । निरन्तर वर्षाका कारण यकिन क्षतिको विवरण सङ्कलन गर्न नसकिएको अध्यक्ष कुलुङले जानकारी दिए ।

करिब दुई सय घरहरू पहिरोको जोखिम रहेको उनको भनाइ छ । गाउँपालिका,सम्बन्धित वडा कार्यालय तथा सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रमा निरन्तर अनुगमन, जोखिम मूल्याङ्कन, उद्धार तथा व्यवस्थापनको काम गरिरहेको जनाएको छ । तर वर्षा नरोकिएकाले सडक अवरोध हटाउने र उद्धार कार्यलाई पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको उल्लेख गरिएको पालिका अध्यक्षले जानकारी दिए ।
गाउँपालिकाले सबै नागरिकलाई जोखिमयुक्त स्थानमा नबस्न,स्थानीय सरकार तथा सुरक्षा निकायबाट जारी गरिएका सूचना र निर्देशनको पूर्ण पालना गर्न तथा अत्यावश्यक कामबाहेक अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको अध्यक्ष कुलुङले बताए । साथै विपद् व्यवस्थापन तथा नागरिकको जिउधनको सुरक्षालाई उच्च प्राथमिकतामा राखी उपलब्ध सबै स्रोत–साधन परिचालन गरिएको भन्दै सबै पक्षबाट आवश्यक सहयोगका अनुरोध गरेका छन् ।
निरन्तर वर्षासँगै गाउँपालिकाभित्रका अधिकांश सडक तथा गोरेटो बाटो अवरुद्ध भएको गाउँपालिका अध्यक्ष मेवाहाङले जानकारी दिए । सडक बन्द भएपछि स्थानीय स्तरमा सञ्चालन हुँदै आएका साना सवारी साधनको सेवा पनि प्रभावित भएको छ ।
साथै विद्युत्,इन्टरनेट तथा सञ्चार सेवा अवरुद्ध हुँदा सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका काम तथा वित्तीय कारोबारसमेत प्रभावित बनेको गाउँपालिकाले जनाएको छ । स्थानीय दुई वटा माइक्रो हाइड्रो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । करिब ७० प्रतिशत सञ्चार सेवा अवरुद्ध भएको छ ।

विस्थापितहरूको यकिन तथ्याङ्क आउन बाँकी रहको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद आचार्यले बताए । 'पहिरोका कारण मानवीय क्षति नभए पनि धेरै घरहरू उच्च जोखिम रहेको उनले बताए । क्षति विवरण सङ्लनका लागि सुरक्षाकर्मीहरू र स्थानीय सरकार लागि रहेका छन्, उनले भने।
प्रभावित बस्तीको तत्काल अनुगमन,निरीक्षण तथा सुरक्षित स्थानमा स्थानान्तरण एवं आवश्यक राहत व्यवस्थापनका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग अनुरोध गरिएको प्रजिअ आचार्यले जानकारी दिए ।
यसअघि २०७७ सालमा पनि यस्तै विपद्का कारण ९७ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका थिए । तीमध्ये ५५ घरपरिवारको खाँदवारिमा पुनर्वास भइरहेको छ भने बाँकी परिवारलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा पुनर्वास गर्ने कार्य जारी रहेको छ ।

हाल गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक,केन्द्रीय विद्युत्, माइक्रो हाइड्रो, इन्टरनेट तथा सञ्चार सेवा अवरुद्ध भएकाले सरकारी सेवा तथा सम्पन्न योजनाहरूको भुक्तानीसमेत प्रभावित भएको छ। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका तथा सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गरिरहेको भए पनि सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुबाहेक तत्काल राहत तथा व्यवस्थापन गर्न कठिन अवस्था रहेको गाउँपालिका अध्यक्ष मेवाहाङले बताए ।
प्रतिक्रिया दिनुहोस !