स्वास्थ्य केन्द्र सुनसान, बाटोमै प्रसूति
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका–१ बाजुराकी ३५ वर्षीया कार्तिका विकलाई बिहीबार दिउँसो सुत्केरी बेथा लाग्यो। आफन्तले गाउँबाट १ घण्टा दूरीमा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्र पुर्याए। केन्द्रमा चिकित्सक हुने र सहजै सेवा पाउने उनीहरूको आशा थियो। तर, जब स्वास्थ्य केन्द्र पुगे चिकित्सक भेटिएनन्। केन्द्रमा ताला झुण्डिएको थियो। सबै खिन्न भए। सुत्केरी बेथाले च्यापेकी कार्तिकालाई झनै पीडा थपियो। तर, पनि उनीहरूले हरेस खाएनन्। चिकित्सक आउने र सेवा पाउने आस मारेनन्। एक घण्टासम्म पर्खेर बसे।
सुनसान स्वास्थ्य केन्द्र। चिकित्सकको चहलपहल पनि नदेखेपछि खिन्न हुँदै कार्तिकाका आफन्तले घर फर्कने निर्णय गरे। तर, कार्तिका बाटोमै सुत्केरी भइन्। ‘धन्न भगवान्ले साथ दिए। उनले बाटोमै छोरा जन्माइन्। भगवान्को कृपाले स्वास्थ्य समस्या भएन। नत्र गाह्रो पर्ने थियो। स्वास्थ्यकर्मी नहुँदा यसरी बिजोग अवस्थामा बच्चा पाउनुपर्ने पीडा यहाँ सुरु भएको छ’, स्थानीय बलबहादुर विकले भने। कार्तिकाको यो तेस्रो सन्तान हो।
स्वामीकार्तिक खापर–१ का वडाध्यक्ष अजयबहादुर विक करारका कर्मचारी निकालिएपछि स्वास्थ्य केन्द्रमा चिकित्सक नभएको बताउँछन्। गाउँपालिकाले करारका कर्मचारीसमेत हटाएपछि नागरिकले सास्ती भोग्नुपरेको छ। गाउँपालिकाले गरेको यस्तो निर्णयको सजाय बिहीबार कार्तिकाले भोगिन्। ‘गाउँपालिकाले करार कर्मचरीको म्याद थप गरेन। यो साउनदेखि करारका कर्मचारी आउँदैनन्। त्यसैले अहिले स्वास्थ्यचौकी खाली छ। यसको असर यसरी नागरिकले भोग्न सुरु गरिसके’, वडाध्यक्ष विक भन्छन्।
स्वास्थ्यकर्मीसमेत गाउँपालिकाले कटान गरेपछि समस्या भोगेकी कार्तिका विक गाउँकी सामान्य परिवारकी बुहारी हुन्। नियमित स्वास्थ्य जाँच गर्नसमेत उनले पाइन्। त्यसमाथि स्वास्थ्य संस्था टाढा र नियमित स्वास्थ्यकर्मी नहुने समस्या सधैं। सुत्केरी त स्वास्थ्य संस्थामा नै हुने चाहना पनि उनको पूरा भएन। यसअघि उनले एकपटक मात्र गर्भ जाँच गराएको आफन्तले बताएका छन्। ‘सुत्केरी बेथा लागेको थाहा पाएपछि घरभन्दा पनि स्वाथ्य इकाइमा लिएर सुत्केरी गराउँदा राम्रो हुने भन्दै लगियो। तर, स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी नै नभएपछि फिर्ता लिएर आउँदा बाटोमा सुत्केरी भइन्’, स्थानीय बलबहादुर विक भन्छन्, ‘न त अब सुत्केरीको स्वास्थ्य चेक गर्ने चिकित्सक छन्, न त सन्तानकै।’
कार्तिकाले यसअघि दुईवटा सन्तान घरमै जन्माएकी थिइन्। एक सन्तानको २ वर्ष पहिला मृत्युसमेत भएको विकले बताए। ‘दुई सन्तान घरमै जन्माएकी कार्तिकालाई तेस्रो सन्तान जन्माउन स्वास्थ्य केन्द्र लगियो। स्वास्थ्य केन्द्रमा जन्मिएका निरोगी हुन्छन् भन्ने आशा सबैको हो। उनले पनि त्यही चाहना रोखेकी थिइन्। तर, त्यहाँ स्वास्थ्यकर्मी नभएरपछि फिर्ता फर्कनुपर्दा सबैको मन खल्लो भयो’, उनले भने।
यो एउटा प्रतिनिधि घटना भए पनि करारका कर्मचारी हटाएपछि यहाँका नागरिकले स्वास्थ्य सेवा पाउनु अब मुस्किल भएको उनी बताउँछन्। माझ गाउँ स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत अनमी र अहेब दुवै करारका थिए। म्याद थप नगरेपछि उनीहरू काममा आउन छोडे। अहिले स्वास्थ्य इकाइ केन्द्र कर्मचारीविहीन छ। दैनिक सेवा लिन आउने नागरिक त्यसै फर्कन बाध्य छन्। नागरिकलाई किन स्वास्थ्य केन्द्रमा कर्मचारी आएनन् भन्ने पनि थाहा छैन। गाउँपालिकाले कर्मचारी कटाएको विषयमा पनि नागरिक अनभिज्ञ छन्।
गाउँपालिकाले आवश्यकताका आधारमा मात्र करार थप गर्ने वा विज्ञापनमार्फत भर्ना गर्ने बताएको भए पनि कर्मचारी व्यवस्थापन नगरी भएकालाई हटाएको छ। यसले गर्दा स्वास्थ्य जस्तो गम्भीर क्षेत्रमा ठूलो असर परेको वडाध्यक्ष विक बताउँछन्।
यता गाउँपालिका प्रशासकीय अधिकृत पारसबहादुर शाहीले पनि कुनै पनि कर्मचारी तथा स्वास्थ्यकर्मीको म्याद नथपेको बताएका छन्। गाउँपालिका अध्यक्षले फोनमार्फत पहिलेका करारका स्वास्थ्यकर्मीलाई स्वास्थ्य चौकी जान भनेको भए पनि करार थपको पत्र नपाउँदासम्म नजाने अडान स्वास्थ्यकर्मीले राखेका छन्। एक स्वास्थ्यकर्मीका अनुसार केही स्वास्थ्यकर्मीलाई अध्यक्षले फोनमार्फत काममा जान भने पनि सबैको म्याद थप्नुपर्ने माग राख्दै गाउँपालिकामा कर्मचारीले ज्ञापनपत्र बुझाएका थिए। पालिकाका अन्य स्वास्थ्य संस्थामा पनि करार कर्मचारीको नवीकरण नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। बाजुरामा ३ वर्षयता ८ जना गर्भवती तथा सुत्केरी आमाले ज्यान गुमाइसकेका छन्।
स्वामीकार्तिक खापर गाउँपालिका स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। २०७४ मा नेकपा एमाले जितेको थियो। अघिल्लो स्थानीय सरकारले करार भर्ना गरेका कर्मचारीको म्याद साउनबाट सकिएपछि गाउँपालिकाले करार म्याद थपेको छैन। स्वामीकार्तिक खापर–१ र २ साबिकको साप्पाटा गाविसमा पर्छ। यो बाजुराको अति दुर्गम ठाउँ हो। यहाँका धेरै आमाहरू अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। स्वास्थ्य संस्थामा कर्मचारी नियुक्तिमा नै हानथाप हुँदा सेवा नियमित हुँदैन। त्यसैले नियमित गर्भ जाँचसमेत नगर्ने गरेको स्थानीय औला विकले बताइन्। यो ठाउँ नेपालको सबैभन्दा गरीब ठाउँका रूपमा रहेको २०६८ को जनगणनामा समेत उल्लेख छ। घरमा वा स्वास्थ्य चौकीमा बच्चा जन्माए पनि १ महिनासम्म सुत्केरी आमा र बच्चालाई गोरु गोठमा राख्ने चलन छ। त्यसैले पनि धेरै आमा र शिशुको गोठमै मृत्यु हुने गरेको छ।
स्वास्थ्यसम्बन्धी चेतना नभएकै कारण यहाँका महिलाले धेरै सन्तान जन्माउने, सानै उमेरमा विवाह गर्ने गरेको फियान नेपाल नामक गैरसरकारी संस्थामा कार्यरत सबिता थापाले बताइन्। स्वामीकार्तिक खापर–१ र २ मा कुपोषण दर पनि निकै बढी छ। गाउँपालिकाले निकालेको तथ्यांकमा पनि आमा र सन्तानको कुपोषण दर निकै बढी रहेको थापाले बताइन्। वडा–१ मुक्तिकोटमा कुपोषणका कारण असारयता ९ जना बालबालिकाको मृत्यु भएको छ। अहिले पनि २३ जना बालबालिका कुपोषित छन्।
प्रतिक्रिया दिनुहोस !