एम्बुलेन्स नहुँदा दुर्गमका बिरामी मर्कामा
ओखलढुंगा : जिल्लाका स्थानीय तहमा एम्बुलेन्स सेवा प्रभावकारी हुन सकेका छैनन्। एम्बुलेन्स सेवा प्रभावकारी नहुँदा उपचारका लागि विरामीले महंगोमा सवारी रिजर्भ गर्न बाध्य छन्।
स्थानीय सरकारले स्वास्थ्य संस्थामा औषधी, दक्ष स्वास्थ्यकर्मी तथा एम्बुलेन्स व्यवस्थापनमा भन्दा अन्य खरिद र निर्माणमा ध्यान दिँदा स्वास्थ्य जस्तो सम्वेदनशील विषय ओझेलमा परेको छ।
जिल्लाको खिजीदेम्वा गाउँपालिका-३ की धनमाया भुजेललाई प्रसूतिको समस्या हुँदा २३ हजारमा गाडी रिजर्भ गरेर जिल्ला बाहिर जानुपर्यो।
गाउँपालिकाको एम्बुलेन्स नभएपछि उनले अर्को सवारी रिजर्भ गरेकी हुन्। खिजीदेम्वाले पाँच वर्ष पहिले खरिद गरेको एम्बुलेन्स बिग्रेर थन्किएपछि उनीजस्ता सेवाग्राही महंगोमा गाडी रिजर्भ गर्न बाध्य छन्।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले पालिकाका एम्बुलेन्स बिग्रेपछि मर्मत नभएको बताए। उनले ८/९ महिनादेखि बिग्रेर बसेपछि नयाँ किन्ने प्रक्रिया सुरु गरिएको बताए।
मर्मत गरेर सञ्चालन गर्न नसकिने भएकाले नागरिकले एम्बुलेन्स सेवा नपाएको उनको भनाइ छ। मर्मत भन्दा पालिकाले नयाँ खरिद गर्न चासो दिँदा नागरिकले एम्बुलेन्स सेवा पाउन नसकेका हुन्।
गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा प्रवाह तथा प्रसूति सेवाका लागि बजेट तथा कार्यक्रम प्राथमिकतामा राख्ने उल्लेख भएपनि निर्वाचनपछि आएका जनप्रतिनिधीहरुले कार्यान्वयनमा चासो दिएका छैनन्।
एम्बुलेन्स जस्तो सम्वेदनशील सवारी मर्मत नगरेर स्थानीय सरकारले नागरिकको उपचारमा खेलवाड गरेको स्थानीय सुदीप सुनुवार बताउँछन्। पालिका भने मर्मभन्दा नयाँ खरिदमा कमिसन आउने भएपछि २ वर्ष चलाएको एम्बुलेन्स थन्क्याएर नयाँ खरिदको प्रक्रियामा लागेको छ।