यौन दुर्व्यवहारमा परेकी शिक्षिकालाई निकाल्न दबाब

यौन दुर्व्यवहारमा परेकी शिक्षिकालाई निकाल्न दबाब

 झापा : यौन दुर्व्यवहारका सिकार भएकी महिलालाई सान्त्वना, आत्मविश्वास र हौसला प्रदान गर्नुको साटो उल्टै समाजले तिरस्कार गर्न खोजेको एउटा घटना बाहिर आएको छ। घटना हो, झापा मेचीनगर नगरपालिका–७ गोमनसरीस्थित अरनिको माविमा कार्यरत महिला शिक्षकको। करिब २ महिनाअघि सोही विद्यालयका तत्कालीन प्रधानाध्यापक अग्नि घिमिरेबाट ती महिला शिक्षक यौन दुर्व्यवहारको सिकार भएकी थिइन्।

एकल महिलासमेत रहेकी उनी सोही निहुँमा समुदायबाटै अनेक दुःख पाइरहेकी छन्। समुदायका अभिभावकहरूले विद्यालय प्रशासनलाई दबाब दिँदै शिक्षकबाट निष्कासन गर्नुपर्ने माग राख्दै विद्यालयलाई ज्ञापनपत्र समेत बुझाएका छन्।

पीडामाथि पीडा थप्ने काम समाजबाट भएको भन्दै ती महिला शिक्षक अहिले न्यायका लागि सबै समक्ष सार्वजनिक रूपमै अपिल गरेकी छन्। अभिभावक चन्द्रकला अधिकारी, डिगबहादुर भट्टराईलगायत ७२ जना उनीविरुद्ध खनिएका छन्। उनीहरूले आवश्यक कारबाही गरी पाउँ भन्ने निवेदन साउन १३ गते विद्यालय व्यवस्थापन समिति र मेचीनगर–७ वडा कार्यालयलाई बुझाएका छन्।

सो निवेदन विद्यालय प्रशासनले दर्तासमेत गरिसकेको बुझिएको छ। निवेदनमा हिंसा प्रभावित महिला शिक्षकलाई ‘चरित्रहीन’ को संज्ञा दिइएको छ। निवेदनमा भनिएको छ, ‘महिला शिक्षकलाई स्कुलबाट बर्खास्त गरी शिक्षक–विद्यार्थीको समेत संरक्षण गरी अनुशासित र मर्यादित भई विद्यालय सञ्चालन गर्न गराउन शिक्षक–शिक्षिकाहरूलाई निर्देशन दिन हुन सञ्चालक समितिलाई अनुरोध गर्दछौं। ’ यदि हाम्रो निवेदन उपर कारबाही नभए हाम्रा छोराछोरी विद्यालय नपठाउने र विद्यालयमा समेत तालाबन्दी गर्ने भनी निवेदनमा उल्लेख छ।  

अरनिको माविका प्रधानाध्यापक विशाल भट्टराईले विद्यालयको अनुशासन उल्लंघन हुने कुनै पनि काम ती महिला शिक्षकबाट नभएको बताए। ‘प्रधानाध्यापकको जिम्मेवारी पाएको करिब २ महिना भयो,’ भट्टराईले भने, ‘अहिलेसम्म उहाँबाट कुनै गलत क्रियाकलाप विद्यालयमा देखिएको छैन। उहाँ आफ्नो काममा इमानदार र प्रतिवद्ध हुनुहुन्छ। ’ त्यस्तै, उनलाई विद्यालयबाट हटाउने कुनै योजना र निर्णय नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहालले प्रस्टाएका छन्। ‘विद्यालयमा घटना घटे पनि पीडित महिला शिक्षकलाई हटाउने समितिको कुनै योजना छैन,’ अध्यक्ष दाहालले भने, ‘तर, अभिभावकहरूले नै निवेदन लिएर आएपछि समिति अप्ठ्यारोमा परेको छ। ’ 

यता, पीडित भने आफूलाई विद्यालयबाट हटाउने प्रयास भइरहेकाले सहयोग गर्न सम्बन्धित पक्षसँग आह्वान गरेकी छन्। विद्यालयमा निवेदन परे लगतै ती महिलाले शिक्षक महासंघ मेचीनगरमा निवेदन दिएको शिक्षक महासंघ मेचीनगरका अध्यक्ष लेखनाथ पौडेलले बताए। आफ्नो जिम्मेवारी पूरा गरिरहेको शिक्षकलाई कुनै पनि हालतमा विद्यालयबाट हटाउन नपाइने उनको भनाइ छ। ‘कसैले निवेदन हालेकै भरमा शिक्षकलाई हटाउन पाइँदैन’, उनले भने ‘त्यसमाथि उहाँ त आफैं पीडित हुनुहुन्छ। उहाँलाई सबैले संरक्षण गर्नुपर्नेमा जागिरबाटै हटाउने कुरा सोच्नु पनि गलत हुन्छ। ’

गत जेठमा विद्यालयका तत्कालीन प्रधानाध्यापक घिमिरेबाटै महिला शिक्षक यौन दुर्व्यवहारमा परेको घटना सार्वजनिक भएपछि प्रधानाध्यापकले शिक्षक पदबाटै राजीनामा दिनुपरेको थियो।  चौतर्फी दबाबका कारण ती महिला शिक्षकले त्यसबेला प्रधानाध्यापकविरुद्ध प्रहरीमा कुनै उजुरी पनि दिइनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.