दोस्रो चरणमा पुगिन् राडुकानु
वासिङ्टन : बेलायतकी नम्बर एक टेनिस स्टार इम्मा राडुकानु वासिङ्टन ओपनको दोस्रो चरणमा पुगेकी छन्। वासिङ्टनमा बुधबार भएको पहिलो चरणको खेलमा अमेरिकी खेलाडी लुइसा चिरिकोलाई ६–४, ६–२ को सोझो सेटमा पराजित गर्दै राडुकानु दोस्रो चरणमा पुगेकी हुन्।
अमेरिकी (यूएस) ओपन टेनिसको तयारीका रुपमा हेरिएको नर्थ अमेरिकाको यस प्रतियोगितामा राडुकानुले ८७ मिनेटमै जित निकालेकी थिइन्। गत वर्ष यूएस ओपनको उपाधि जितेकी राडुकानुले त्यसपछिका खेलमा प्रभावशाली प्रदर्शन गर्न सकेकी छैनन्। थुप्रै प्रतियोगितामा मध्यम प्रदर्शन गरेकी उनी यूएस ओपनको उपाधि रक्षा गर्न निकै मेहनत गरिरहेकी छन्।
अगस्ट २९ बाट सुरु हुने वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपनमा उत्कृष्ट प्रदर्शन गर्ने अभियानमा उनी छिन्। ‘वासिङ्टन डिसीमा खेल्दा र जित आत्मसाथ गर्दा निकै खुसी महसुस हुन्छ’, उनले जितपछि भनिन्, ‘विम्बल्डनलगायत केही प्रतियोगिता खेल्न पाइनँ । यसले गर्दा यूएस ओपनको उपाधि रक्षा गर्न ममाथि दबाब बढेको छ । यो जितले त्यो दबाबलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’ विश्व वरीयतामा १०औं स्थानमा रहेकी राडुकानुले वासिङ्टन ओपनको दोस्रो चरणमा कोलम्बियाकी क्यामिला ओसोरियोको सामना गर्नेछिन्।
महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्ष लामो प्रतिक्षा समाप्त गर्दै राडुकानुले गत वर्ष यूएस ओपनको उपाधि जितेकी थिइन्। सन् १९७७ मा भर्जिनिया वेडले विम्बल्डन जितेपछि बेलायतका कुनेै पनि महिला खेलाडीले ग्रान्डस्लामको उपाधि जित्न नसकेको अवस्थामा उनले त्यो खडेरी तोडेकी थिइन्। छनोट खेलाडीका रुपमा यूएस ओपनमा प्रवेश पाएकी राडुकानु ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी समेत बनेकी थिइन्।
सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। राडुकानुले १८ वर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी हुन्।
प्रतिक्रिया दिनुहोस !