शिलान्यास भएको १२ वर्षपछि स्वास्थ्य चौकी निर्माण
महोत्तरी : शिलान्यास भएको १२ वर्षपछि बर्दिबासस्थित प्राथामिक स्वास्थ्य उपचार केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ। बर्दिबास नगरपालिका- ३ मा नवनिर्मित भवनको आइतबार उदघा्टन गरिएको हो।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले अशोकको बिरुवा रोपेर भवनको उद्घाटन गरे। नगरप्रमुख क्षेत्रीले भने, 'नगरको समग्र स्वास्थ्यलाई सुदुढ बनाउनका निम्ति नगरभरिका सामुदायिक स्वास्थ्य संस्थालाई व्यवस्थित गरिनेछ। आवश्यकताअनुसार दक्ष जनशक्ति एवम् पूर्वाधारको व्यवस्थापन गरेर हरेकलाई सर्वसुलभ सेवा उपलब्ध हुनेछ।'
स्वास्थ्य र शिक्षाक्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नगरले यसवर्षको बजेट विनियोजन गरेको नगरप्रमुख क्षेत्रीले बताए।
सोही वर्ष शिलान्यास भएको अन्य स्वास्थ्य चौकी यसअघि नै निर्माण भएका छन्। सम्बन्धित पक्षले चासो नदेखाउँदा ढिलो गरी भवन निर्माण सकिएको समितिका पूर्वसदस्य श्यामप्रसाद महतोले बताए। समयमै ध्यान नदिएकै कारण भवन अभावमा पुरानो अनि साँघुरो कक्षबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको थियो।
स्थानीय कृष्णप्रसाद पौडेलले स्वास्थ्य भवन निर्माणका लागि २०६७ सालमा निःशुल्क रूपमा ५ कटठा जग्गा प्रदान गरेका थिए। महोत्तरी क्षेत्र नं. १ का संघीय सांसद एवम् पूर्वमन्त्री गिरीराजमणि पोखरेलको विशेष पहलमा विजलपुरा स्वास्थ्य चौकीको भवन निर्माणको शिलान्यास भएको थियो।
प्रतिक्रिया दिनुहोस !