भद्रपुर खानेपानी संस्थानद्वारा दूषित पानी वितरण, स्वास्थ्यमाथि खेलबाड
झापा : जिल्लाको भद्रपुर-८ स्थित नेपाल खानेपानी संस्थानले उपभोक्तालाई दूषित खानेपानी वितरण गरिरहेको छ।
सरकारी स्वामित्वमा रहेको संस्थानले अग्रिम कुनै पनि सूचना प्रवाह नगरी पटक पटक दूषित खानेपानी वितरण गरेर नगरका उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ।
फोहोर तथा माटो मिसिएको धमिलो पानी पिउन यहाँका उपभोक्ता बाध्य हुनु परेको छ। फोहोर तथा धमिलो खानेपानी वितरणको बारेमा संस्थाका कर्मचारीलाई पटक पटक जानकारी गराउँदा समेत उनीहरू त्यसप्रति गम्भीर नभएको उपभोक्ताको गुनासो छ।
संस्थानले पूर्व सूचनाबिनै सोमबार दिउँसो पानी वितरण बन्द गरेको थियो। संस्थानको आधिकारी फेसबुक पेजमा पनि कुनै सूचना हालेको देखिएन। बेलुका धारामा फोहोर तथा धमिलो पानी आएपछि यस बारेमा उपभोक्ताहरूले सामाजिक सञ्जाल फेसबुकमा भाँडोमा पानी राखेर चर्को विरोध जनाइरहेका छन्। संस्थानले बिहान, दिउँसो र बेलुका गरी तीन पटक पानी दिँदै आएको छ।
फेसबुक प्रयोगकर्ता डेन्जर सन्तोषी पोखरेलले स्ट्याटसमा लेख्छन्, हाम्रो आदरणीयहरुमा मेरो अनुरोध। हाम्रो स्वस्थमा किन यति ठुलो खेल। कहिले काहीँ पो हुन्छ गल्ती। हरेक चीज विषादीयुक्त खानु परेको छ। कमसेकम पानी त स्वस्थ पिउन पाउँ। बिना जानकारी पानी किन फोहोर आउँछ? जवाफ पाउँ।
अर्का फेसबुक प्रयोगकर्ता अरूप घोषले भद्रपुर खानेपानी संस्थानको लापरबाही भन्दै फोहोर पानीको भिडियो हालेका छन्। उनीहरू जस्तै अरू फेसबुक प्रयोगकर्ताले पनि खानेपानी संस्थानको लापरबाही बढेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
महिना दिनअघि पनि धारामा लेदो मिसिएको पानी आएको स्थानीय रोहित यादवले बताए। 'कसलाई कहाँ भन्नु पर्ने हो, भन्दा पनि कुनै सम्बन्धित निकायले वास्ता गर्दैन,' उनले भने।
भद्रपुरका एक चिकित्सक भन्छन्, 'नगरका धेरै मानिस स्वच्छ र सफा पानी पिउन नपाउँदा धेरै रोगबाट लड्नु परेको छ।' 'अस्पताल चेकजाँचमा आउने अधिकांश बिरामीमा खानेपानीको समस्या पाएको छु,' खानेपानीको कारण जटिल रोगहरू लाग्छ, उनले भने।
यता दूषित पानीको बारेमा खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियारसँग बुझ्न खोज्दा आफू व्यस्त भएको बताउँदै फोन काटे।
प्रतिक्रिया दिनुहोस !