मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक नियन्त्रणमा, राजश्व छलेको आशंका

मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक नियन्त्रणमा, राजश्व छलेको आशंका

झापा : मेची भन्सार कार्यालय काँकडभिट्टाबाट निस्किएको दुई वटा फुलबडी ट्रक सशस्त्र प्रहरीले बिर्तामोडबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको संयुक्त टोलीले लत्ताकपडासहित अन्य सरसामान लोड भएको ट्रक नियन्त्रणमा लिएको हो।

राजश्व अनुसन्धान विभागको आदेशपछि सशस्त्र प्रहरी बल नेपालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीलाई निर्देशन दिएपछि झापाको टोलीले मंगलवार राति साढे ८ बजे बिर्तामोड-५ स्थित पाथीभरा टोल नजिकै सटर भएको खाली गोदाममा सरसामान अनलोड गरिरहेको अवस्थामा ना४ख २०८५ र प्र-१०१-००१-ख ३५७७ नम्बरको फुलबडी दुई वटा ट्रक नियन्त्रणमा लिएको हो।

हेड क्वाटरको आदेशमा दुई वटा ट्रक नियन्त्रणमा लिएको बताउँदै नेपालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी मुख्यालय सुनसरीका डीआइजी कमल गिरीले भने, ‘सामानसहित भन्सार तिरेको प्रज्ञापन पत्र चालकसँग भेटियो, माथिबाटै निर्देशन आएकाले नियन्त्रणमा लिएको दुई वटै ट्रक राजश्व अनुसन्धान विभाग पठाइसकेका छौं।’

‘सशस्त्रले नियन्त्रणमा मात्र लियो, ट्रकसहितको सरसामानको थप अनुसन्धान राजश्व अनुसन्धान विभागले गर्छ, अहिले अरू केही भन्न मिल्दैन,’ उनले भने। ट्रक र ट्रकमा भएको सामान कसको हो भन्नेबारे उनले खुलाउन चाहेन।

यता कर्मचारी स्रोतका अनुसार मेची भन्सार कार्यालयमा कर्मचारीको सेटिङमा व्यापक राजश्व चुहावट भई ट्रकका ट्रक सरसामान गइरहेको सूचना राजश्व अनुसन्धान विभागमा प्राप्त भयो। विभागले तत्काल यसतर्फ एक्सन लियो। विभागले ७ देखि १० वटा ट्रकले राजश्व छलेको सूचना पायो।

सोमबार मेची भन्सार कार्यालयबाट निस्किएको ५ वटा ट्रकमध्ये तीन वटा ट्रक सशस्त्र प्रहरीले मधेस प्रदेशबाट नियन्त्रणमा लिएको छ।

दुई वटा ट्रकको खोजी जारी छ। मङ्गलवार बेलुका साढे ७ बजे मेची भन्सारबाट निस्किएको दुई वटा ट्रक पनि त्यही सूचनाको आधारमा सशस्त्रले नियन्त्रणमा लिएको स्रोतको भनाइ छ। हेट क्वाटरबाट आदेश आएसँगै दिउँसो देखि नै मेची भन्सार आसपास सादा पोसाकमा सशस्त्र परिचालन गरिएको थियो।

ट्रक निस्किएपछि बाटोमा कतै रोक्ने आधार सशस्त्रलाई भएन। अदालतको आदेशपछि जोर सिमल चेकपोस्ट नहुँदा सशस्त्रलाई थप समस्या नै भयो। त्यसपछि सशस्त्रले ट्रकमाथि निगरानी राखेर बिर्तामोडमा सरसामान झार्दै गरेको अवस्थामा नियन्त्रणमा लियो।

स्रोतले भन्यो, ‘चालकसँग प्रज्ञापन पत्र भेटियो, दुई वटा ट्रकको एउटै प्रज्ञापन पत्र, एउटै एजेन्टले बनाएको रहेछ।’ ‘ट्रकको सामान अनुसार प्रज्ञापन पत्र हेर्दा २० प्रतिशत पनि राजश्व तिरेको देखिँदैन, यसमा ठुलो राजश्व चुहावट भएको आशंका गरिएको छ,’ उनले थपे ।

मेची भन्सारका कर्मचारी र एजेन्टको सेटिङमा हुने राजश्व चुहावटको घटना यो मात्र नभई यसभन्दा अघि पनि यस्ता घटना घटिसकेको छ। सशस्त्र मेची भन्सारबाटै निस्किएको तीन वटा पिक अप गाडी नक्कली प्रज्ञापन पत्रसहित नियन्त्रणमा लिएको थियो। गत जेठ २२ गते राति १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँच पास भई निस्किएका रक्त चन्दनको बिरुवा र आलु बोकेका तीन वटा भारतीय मालवाहक ट्रक सशस्त्रले जोरसिमलमा चेक पोस्टमा नियन्त्रणमा लिएको थियो।

लालिगुँरास फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्ने खोजेको आशङ्कामा सशस्त्रले डब्लुबी ३७ वि ७३८३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० ट्रकहरू नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरी बुझायो। राजश्वले सामानको प्रज्ञापन पत्र नक्कली भएको पुष्टि गरेपछि घटना सतहमा आएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.