श्रीकृष्ण रथयात्रामा रम्दै झापा
झापा : झापामा कोरोना भाइरस महामारीले दुई वर्षदेखि रोकिएको श्रीकृष्ण रथयात्रा हर्षोल्लासका साथ निकालिँदै छ। धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ। सोहीबमोजिम भद्रपुर, दमक र गौरीगन्जमा शनिबार रथ यात्रा निकाल्ने तयारी छ।
भद्रपुरमा १९ औँ भगवान् श्रीकृष्ण रथयात्रा भव्य उत्सवको रूपमा मनाइने श्रीकृष्ण रथ यात्रा मूल आयोजक समितिका अध्यक्ष देवु घिमिरेले जानकारी दिए। २०५९ सालमा काठको पाग्राले बनाएको रथ जीर्ण भएको थियो। भद्रपुर नगरपालिकाले ८ लाख रुपैयाँमा टायरको पांग्रासहित फलामले रथ बनाइदिएको छ। त्यही रथलाई पुनः रंगरोगन र फूलमालाले सजावट गरिएको छ।
भद्रपुर—५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट शुभारम्भ हुने रथयात्रा आपगाँछी, ज्ञानेचोक, झापाचोक हुँदै क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा गएर समापन हुनेछ। त्यस्तै दमक नगरपालिकामा पनि मनाइँदैछ। आयोजक समितिका अध्यक्ष रोहित आचार्यका अनुसार दमकमा पनि कोरोना महामारीले दुई वर्ष रथयात्रा स्थगन भएको थियो।
राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा नगर परिक्रममा गरी पुन सोही मन्दिरमा गएर समापन गर्ने कार्यक्रम छ। रथयात्रामा विभिन्न झाँकीसमेत प्रदर्शन गरिनेछ।
उता गौरीगन्ज गाउँपालिकामा दोस्रो पटक रथयात्रा निकाल्ने तयारी छ। गौरीगन्जको पहिचान र गौरवलाई मध्यनजर गरी पहिलो वर्ष गाडामा भगवान् श्रीकृष्णको मूर्ति राखेर रथयात्रा निकालिएको थियो। अहिले नयाँ रथ बनाइएको छ। खजुरगाछीको राधाकृष्ण मन्दिरदेखि सुरु गर्ने रथ यात्रा गौरीगन्ज बजार परिक्रममा गरी पुनः सोही मन्दिरमा आएर समापन हुने समितिका अध्यक्ष मुकेश साहले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !