विस्थापितले पाए दुई वर्षपछि जग्गा
संखुवासभा : सिलिचोङ गाउँपालिका–१ बेसिन्दा संखुवासभाकाका पहिरो विस्थापित परिवारलाई जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको छ। २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवार मध्ये ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ मा जग्गा व्यवस्थापन गरिएको हो।
विस्थापित ५५ परिवारलाई संयुक्त रूपमा जग्गा पास गर्दै बुधबार जग्गा बाँडफाँड गरि हस्तान्तरण गरिएको छ। गाउँ नै बग्ने गरि गएको पहिरोको कारण विस्थापित भएकाहरूलाई पुनर्वास हुन चाहेको ठाउँ रोज्न लगाईएको थियो। ९२ मध्ये ५५ परिवारले पुर्नस्थापनाका लागि खाँदवारी रोजेका थिए।
खाँदवारी नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा गठन भएको जग्गा ब्यवस्थापन समितिले निशुल्क तथा सशुल्क जग्गा दिन चाहनेहरूबाट विवरण संकलन गरि सबैभन्दा राम्रो मानिएको खाँदवारी ७ भैरे डाँडाको जग्गा छनौट गरिएको थियो। समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा ५५ परिवारको लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिएको हो। भुगर्वविदहरू तथा प्राविधिकहरूको प्रतिवेदनपछि जिल्ला विपत व्यवस्थापन समिति जग्गा खरिद गरि पिडित परिवारलाई हस्तान्तरण गरेको छ।
जिल्ला विपत व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले संयुक्त रूपमा विस्थापित परिवारहरूलाई गोलाप्रथा गरि जग्गा बाँडफाँड गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणको लागि कित्ताकाट गरि प्रत्येक परिवारलाई वितरण गरिएको हो। जग्गा बाँडफाँड सँगै पहिलो चरणमा अस्थाई टहरा बनाउन ५० हजार रूपैयाँ र घर बनाउन तीन किस्तामा ५ लाख रूपौयाँ दिने व्यवस्था कार्यविधीमा रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ। घर निर्माणको लागि १३ हजार ५ सय ६३ दशमलव ६९ बर्गमिटर छुट्टाईएको छ भने बाँकी रहेको खेत र जंगल पछि बाँडफाड गरिने समितिले जनाएको छ।
पहिरो पिडितहरू गोलाप्रथाबाट जग्गा छान्दै।
पहिरो विस्थापितहरूलाई मनसुनजन्य विपद प्रभावितहरूलाई पुनस्र्थापना गर्ने सम्बन्धी कार्यविधि अनुसार बजेटको ब्यवस्थापन गरि जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो। सो कार्यविधी अनुसार संघीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ। घर निर्माणको लागि सिलिचोङ गाउँपालिकाले आफ्नो दायित्वमा परेको १० प्रतिशत रकम जिल्ला विपद ब्यवस्थापन कोषको खातामा जम्मा गरिकेको र संघ तथा प्रदेश सरकारमा बजेट माग भईसकेको समेत प्रजिअ खतिवडाले बताए। पहिरो गएकै स्थानमा दुई वर्ष सम्म जोखिममोलेर बस्तै आएका पहिरो पिडितहरू जग्गा पाएपछि खुशि छन्। सरकारले निशुल्क जग्गा उपलब्ध गराए पनि अब घर कहिले बन्ला भन्ने चिन्ता सुरुभएको पीडित धनशंकर राईले बताए।
सरकारले घरबनाउने जग्गा मात्र दिएको र अव त्यस स्थानमा बसेर कसरी जिविकोपार्जन गर्ने भन्ने बारे सोच्नु पर्ने वोलाभएको उनको भनाई छ। ‘बेसिन्दामा रहेको खेतिपाती सबै छाडेर सरकारले एउटा घर बनाउन दिएको जग्गा के खाएर बस्ने।’ धनशंकर भन्छन्। सरकारले बास बस्ने स्थान उपलब्ध गराए सँगै रोजगारीका लागि पनि सोच्नु पर्ने नरेन्द्र कुमार राईको भनाई छ। खेतीपाती गर्ने जमिन नभए पनि रोजगारीका लागि केही व्यवस्था गरिदिए फेरी गाउँनै पर्किनु पर्ने अवस्था नआउने नरेन्द्र बताउँछन्।
पहिरो विस्थापित ९२ परिवार मध्ये २५ घरधुरीलाई सिलिचोङ गाउँपालिकाको चित्रे गाउँमा र चेप्चेवाका १२ घरलाई बखल्टुममा स्थानन्तरण गरिएको छ। चित्रेमा ५१ दशमलब ५ रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब ५ रोपनीे ३४ लाखमा खरिद गरि पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ।
उक्त जग्गा चाँडै बाँडफाँड गरिने तयारी रहेको सिलिचोङ गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले बताए। जिल्ला विपत् व्यवस्थापन समितिले गएको गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रकृया अगाडी बढेको थियो। संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरि जग्गा खरिद गरिएको थियो।
पहिरोले सिंगो गाउँ नै बगाएपछि बेसिन्दा र चेप्चेवाका नागरिकहरू विस्थापित बनेका थिए। पहिरोमा परि ११ जना अझै वेपत्ता छन्। विस्थापितहरूको खोजी गर्ने क्रममा थप एक जनाको मृत्यू भएको थियो। पहिरोबाट विस्थापितहरूलाई नजिकैको चित्रे र सिसुवाटार बुधबारेमा अस्थायी रूपमा राखिएको थियो।
प्रतिक्रिया दिनुहोस !