खानालाई औषधी बनाउन सिकाउँदै खड्का

खानालाई औषधी बनाउन सिकाउँदै खड्का

भक्तपुर : औषधीशास्त्रका पिता मानिने हिप्पोक्र्याट्सले भनेका छन्, ‘तिम्रो आहार नै तिम्रो औषधी हो र तिम्रो औषधी नै तिम्रो आहार हो।’ यस्तै विश्वविख्यात आहार विज्ञ आन विग्मोरले भनेकी छन्, ‘हामीले खाइरहेको भोजन हाम्रा लागि शक्तिशाली औषधी वा मन्द विष हो।’ 

यी दुई विद्वानका भनाइझैं सही खानेकुराले शरीरमा औषधीको काम गर्छ र गलत खानेकुरा मन्द विष सावित हुन्छ। यिनै विषयबस्तु समेटिएको ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ पुस्तक बुधबार लोकार्पण गरिएको छ। पतञ्जली योगसमिति भक्तपुरका अध्यक्ष केदार खड्काको यो तेस्रो कृतिमा घर वरिपरि भएका अन्न, तरकारी, फलफूल, भान्छाको मसलालगायतका खाद्य पदार्थको सही प्रयोग र सेवनका बारेमा जानकारी गराइएको छ। यसअघि उनका ‘स्वस्थ जीवन सुखी जीवन’ र ‘स्वस्थ जीवन जिउने कला’ दुई पुस्तक बजारमा आइसकेका छन्। 

पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसमा बुधबार आयोजित कार्यक्रममा पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मि श्र, सादी देवकृपा, महिला सह–केन्द्रीय प्रभारी अर्चना घिमिरे र बागमती प्रदेशका प्रमुख ग्रोविन तौजलेले पुस्तकको विमोचन गरेका हुन्। प्रमुख अतिथि मिश्रले सम्पूर्ण नेपालीलाई स्वस्थ राख्ने अभियानलाई सफल र सार्थक बनाउन लेखक खड्का र उनका साथीहरूले मिलेर विगत एक दशकदेखि प्रयत्न गरिरहेको बताए। ‘पुस्तकमा हाम्रो घर वरिपरि भएका तरकारी, फलफूल, अन्न, हाम्रो भान्छाको मसला आदिलाई सही तरिकाले खान सके यसले औषधिको काम गर्ने र गलत तरिकाले खायो भने मन्द विषको काम गर्ने भएकाले संधै प्राकृतिक भोजन गर्न लेखकले पुस्तकमार्फत सबैलाई उत्प्रेरित गरेका छन्’, मिश्रले भने।

आफ्ना स्वर्गीय बुवा इन्द्रबहादुर खड्का र आमा सान्नानी खड्कामा समर्पण गरेको उक्त पुस्तकको प्रकाशन कमला खड्काले गरेकी हुन्। कोभिड महामारीले विश्वलाई गाँजेको बेला संसारभरका मानिस एक आपसमा त्रसित भएर बसेका थिए। तर, ती दिनहरूमै आफूले पुस्तकको रचना गरेको लेखक खड्काले बताए। ‘मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी भयो भने कुनै पनि रोगले केही गर्न सक्दैन भन्ने पाठ आम मानिसलाई कोभिडले सिकायो। रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित ब्यायाम, उचित भोजन र तनाव ब्यवस्थापन जरुरी रहेको आफूले पाएकाले पुस्तकमा प्राकृतिक भोजनका बारेमा जानकारी दिने प्रयास गरेको हो’, योग शिक्षक खड्काले भने, ‘हामीले खाएको भोजनले शरीरलाई मात्र नभई मन र विचारलाई पनि सिधा प्रभाव पार्छ। गाडी र मोटरसाइकलमा हाल्ने पेट्रोल त कहाँ शुद्ध पाइन्छ भनेर खोजी हिंड्छौं भने जीवन नै चलाउने शरीरमा चाहिँजस्तो भोजन खाए पनि हुन्छ र ?’

भोजनको महत्व यति धेरै हुँदा पनि मानिसले जिब्रोको स्वाद र क्षणिक आनन्दका लागि गलत भोजन गर्दै आएको उनले बताए। भोजनको प्रभाव शरीरमा भन्दा बढी मनमा पर्ने बताउँदै उनले भने, ‘जस्तो खायो अन्न, त्यस्तै बन्छ मन। जस्तो मन बन्छ त्यस्तै हुन्छ विचार। विचार अनुसार कर्म र कर्मअनुसार संस्कार अनि संस्कार अनुसार उसको भविष्य बन्नेछ।’

पुस्तकमा लेखकले भोजन गर्ने तरिका सिकाउँदै भनेका छन्, ‘हामीले भोजन गर्दा एक पटकमा हाम्रा जति वटा दाँत छन्, त्यति पटक विस्तारै–विस्तारै चपाएर खानुपर्छ।’ खाना विस्तारै जति चपाएर खायो, त्यति कम खाए पुग्ने र खाएको खाना राम्ररी पचेर शरीरमा काम गर्ने उनको तर्क छ। खाना जहिले पनि भोक लागेपछि मात्र खाने गर्नु स्वास्थ्यका लागि उत्तम मानिने र कहिले पनि डर, त्रास, क्रोध, तनाव आदि नकारात्मक भावना उठेका बेला खान नहुने पुस्तकमा उल्लेख छ। 

खानाको विषयमा एउटा उक्ति प्रचलनमा छ, ‘खाना आधा पेट खाने, पानी त्यसको दुई गुणा, व्यायाम तीन गुणा र हाँस्ने चौगुणा।’ बिहानको खानाले दिनभर शरीर र मनलाई उर्जा दिने गर्छ। तर, बेलुकीको खानाको केही काम नभएकाले सकेसम्म बढीमा आधा पेट खान लेखकले सुझाएका छन्। 

कार्यक्रममा भक्तपुरमा रहेका पतञ्जलीका तीन वटै समिति, मूल समिति, महिला समिति र यूवा समितिको दुई वर्षका लागि पदस्थापन कार्यक्रम पनि गरिएको थियो। १९ सदस्यीय मूल समितिमा केदार खड्का, १८ सदस्यीय महिला समितिमा मञ्जु कुम्पाख र १४ सदस्यीय युवा समितिको अध्यक्षमा प्रभारी विकास वज्राचार्य चयन भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.