छोरो साउदीको जेलमा, छुटाउन परिवारको हारगुहार

छोरो साउदीको जेलमा, छुटाउन परिवारको हारगुहार

धनकुटा : चौबीसे गाउँपालिका–४ का २९ वर्षीय दिनेश कार्की जरिवाना रकम तिर्न नसक्दा विगत १३ महिनादेखि साउदीमा जेल जीवन बिताइरहेका छन्। दिनेशका परिवारले जेलमा रहेका छोरालाई छुटाएर नेपाल  ल्याउनका लागि पहल गरिदिन सरकार समक्ष अनुरोधसमेत गरेका छन्। 

वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा काम गर्न ५ वर्षअघि पुगेका थिए। तर, कम्पनीले श्रम सम्झौंताअनुसारको सेवासुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्न थाले। बाहिर काम गर्ने सिलसिलामा सवारीसाधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट आफू पक्राउ परेको उनले टेलिफोनमार्फत् जानकारी दिए। ‘मसँग ड्राइभिङ अनुमतिपत्रलगायत सबै काजगात भए पनि अवैध रूपमा बसेको कारण कागजातले काम दिएन’ उनले भने ‘अहिले त्यहाँको प्रशासनले ५७ हजार रियाल क्षतिपूर्तिबापतको जरिवाना भरेको छ। त्यो तिर्न नसक्दा विगत १३ महिनादेखि जेलमै छु।’ 

पहिले ठूलो जेलमा र अहिले सानो जेलमा स्थानान्तरण गरेका कारण आफू परिवारसँग सम्पर्कमा रहेको उनले बताए। उनका अनुसार आफू कहिले छुट्ने भन्नेमा टुंगो छैन। प्रहरीले जरिवाना रकम नतिरेसम्म छुट्दैनस् भनेका छन्। आफूले जेल बस्दा खाना र बस्न पाइरहेको उनले बताए। जेल परेपछि नेपाली राजदूतावाससँग पनि कुरा गरेको उनले बताए। ‘दूतावासमा मैले पनि सम्पर्क गरे  र प्रहरी आफैंले पनि सम्पर्क राखेको थियो। सहयोगका लागि अपिल गर्दा दूतावासले सहयोग गर्न नसकिने बताएको छ,’ उनले भने, ‘सरकारले मात्रै सहयोग गर्न सक्दैन। त्यसैले सामाजिक संघ संस्था र परिवार गुहार्नू र जेलबाट आफैं निस्कनु भन्ने जवाफ पाएँ।’

उनका अनुसार दूतावासले ‘यस्तो घटनामा धेरैजसो फस्छन्। सबैलाई सहयोग गर्न साध्य छैन’ भनेर भनेको भन्दै दुखेसो पोखे। कार्कीको घर चौबीसे गाउँपालिका–४ स्थित फलामेटारको तमोर किनारमा छ। उनको घरमा अहिले बुवा गणेशबहादुर कार्की र आमा दुर्गाकुमारी कार्की मात्रै बस्छन्। बुवा शारीरिक रूपमा असक्त छन्। उनी सामान्य हिँड्डुल पनि गर्न सक्दैनन्। छोरा जेलमा परेको खबर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशका आमा दुर्गाकुमारीले बताइन्। ‘एक वर्षभन्दा बढी छोरासँग सम्पर्क थिएन। किन टाढियो भनेर मनमा सधै खुल्दुली भइरहन्थ्यो। पछि छिमेकी भाई महेन्द्र न्यौपानेले फोनमा कुरा गराइदिँदा सबै कुरा थाहा भयो,’ उनले भनिन्, ‘छोरा कतिबेला घर आइपुग्ला भन्ने प्रतीक्षामा छौं। हाम्रो आर्थिक अवस्था कमजोर छ। त्यत्रो क्षतिपूर्ति तिर्न सक्ने आर्थिक अवस्था छैन। उद्धारमा सरकारले सहयोग गर्छ कि भन्ने आसमा छौं।’

कार्कीका तीन दाजुभाइमध्ये दुई वर्षअघि जेठा दाइ र १ महिनाअघि माइला दाइ वैदेशिक रोजगारका लागि विदेश गएका छन्।  घरसहित १५ रोपनी जग्गा छ। उब्जाउ खेत तमोर नदीको बाढीले पुरिदिएको छ।  कार्की परिवारको तीन छोरामध्ये साउदी जेलमा रहेका दिनेश कान्छा छोरा हुन्। उनका परिवार आर्थिक रूपमा विपन्न रहेको छिमेकी महेन्द्र न्यौपानेले बताए। 

छुटाउन सरकारी पहल सुरु

क्षतिपूर्तिबापतको रकम तिर्न नसक्दा साउदीको जेलमा रहेका दिनेश कार्कीलाई छुटाउन सरकारी तवरबाट पहल सुरु भएको छ। नेकपा माओवादीका पोलिट ब्यूरो सदस्य तथा धनकुटाका नेता हेमराज भण्डारीको अगुवाइमा दिनेशका आमा दुर्गाकुमारीले धनकुटा नगरपालिकाअन्तर्गतको आप्रवासी स्रोत केन्द्रमा छोरा छुटाउन पहल गरिदिन भन्दै आइवार निवेदन दिएकी थिइन्। निवेदन दिए लगत्तै सरकारी तवरबाट पहल सुरु भइसकेको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। 

अन्नपूर्ण पोस्ट डकटममा क्षतिपूर्तिबापतको रकम तिर्न नसक्दा साउदीमा जेल जीवन बिताइरहेकोबारे शुक्रबार समाचार प्रकाशनसँगै सरोकारवाला पक्षको ध्यानाकर्षण भएको थियो। नेता भण्डारीको दुर्गाकुमारी आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेकी थिइन्। नेता भण्डारीले जतिसक्दो चाँडो दिनेशलाई जेलबाट छुटाएर नेपाल फर्काउन पहल गर्ने बताए। दिनेशकी आमा आइवार नै फलामेटारबाट धनकुटा सदरमुकाम आएकी थिइन्। यता, प्रमुख जिल्ला अधिकारी कटेलले आप्रवासी केन्द्रमार्फत साउदी दूतावाससँग समन्वय गर्ने बताए। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा उनी साउदीको अल हवाला फर ट्रेनिङ एन्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रूपमा पुगेका थिए।

कम्पनीले श्रम सम्झौताअनुसारको सेवासुविधा नदिएपछि उनी बाहिरै अवैध रूपमा काम गर्ने सिलसिलामा सवारीसाधन दुर्घटना भएपछि त्यहाँको सुरक्षाकर्मीबाट पक्राउ परेका थिए। साउदीको प्रशासनले तोकेको ५७ हजार रियाल क्षतिपूर्तिबापतको जरिवाना तिर्न नसक्दा १३ महिनादेखि जेल जीवन बिताइरहेका छन्। जेलबाट छुटाउन कार्कीका परिवारलाई आर्थिक सहयोग जुट्न थालेको छ। दुर्गाकुमारीको माछापुच्छ«े बैंक धनकुटामा रहेको खातामा स्वैछिक रूपमा रकम संकलन हुन थालेको हो। धनकुटावासी महेन्द्र न्यौपानेले १५ हजार, रुद्र पौडेलले १५ सय, मुना न्यौपानेले २५ सय गरी १९ हजार रुपैया सहयोग जम्मा भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.