बदलिएको तीजमा स्वास्थ्य
धार्मिक मान्यताअनुसार परापूर्वकालमा हिमालयपुत्री पार्वतीले शिवलाई पतिका रूपमा पाऊँ भनी निर्जल उपवास बसेको र त्यसपछि उनको शिवजीसँग विवाह भएको मान्यता छ। उनलाई साथीले पार्वतीको इच्छाविरुद्ध बिहे हुने भयो भनेर लुकाइएका वा साथीद्वारा हरण गरिएका कारण यसको नाम ‘हरितालिका’ बन्न पुगेको हो। पार्वती जंगलमा साथीसँग बसेर भाद्र शुक्ल तृतीया हस्ता नक्षत्रले युक्त भएकोमा व्रतीय बास गरी कामना पूर्ण गर्न सफल भइन्। यस पवित्र तिथिमा मनको अभिलाषा पूर्ण भएकै कारण भाद्र शुक्ल तृतीयामा व्रत, उपवास, भजन, कीर्तन र नाचगान आदि आर्य नारी संसारमा पौराणिक आदेश र ऐतिहासिक यथार्थ बनेको हो।
समयक्रमसँगै बाहुन, क्षेत्री जातका नारीले मात्र मनाउने तीज तामाङ, गुरुङ, राई, लिम्बूलगायत नेपाली नारीको पर्व बनेको छ। पतिको स्वास्थ्य र दीर्घायुका लागि भन्दै व्रत बस्ने महिला धान्नै नसक्ने गरी पतिको खर्च गराउन पनि अग्रसर छन्। तास खेलेर, रक्सी पिएर, तारे होटलमा पार्टी आदि गरेर तीज मनाउँछन्। श्रीमान् तथा सासूलाई समावेश गराउँदैनन्। उनीहरूलाई भान्सेका रूपमा काम लगाउँछन्। पैसा खर्च, गरगहना प्रदर्शन र पार्टीकै निहुँमा सम्बन्धमा कटुता आउँछ। चाडसँगै पैसा सिध्याउँछन्, ऋण बोकाउँछन्, तीज दसैंभन्दा महँगो हँुदै गएको छ। यसरी पनि पतिभक्ति हुन्छ र ?
केही वर्षयता व्रतको अघिल्लो दिन खाइने दरको स्वरूपमा परिवर्तन हुँदै आएको छ। विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन भए पनि गहना सबैलाई दिने चलन बढ्न थालेको छ। जसमा पुनः माइतीलाई आर्थिक भार पर्न जान्छ। कामकाजी र व्यस्त महिला भएर होला, घरमा आफैं बनाउने, पकाउने नगरी तयारी अवस्थाका मासुजन्य तथा मिठाइजन्य परिकार किनेर तीज मान्ने चलन फेसन भइसकेको छ। पहिले खीर, शाकाहारी खाद्य पदार्थलाई दरको रूपमा प्रयोग गरिन्थ्यो भने अहिले मासुजन्य परिकार, रक्सीजन्य पदार्थ र मिठाईमा बढोत्तरी भएको छ। खानाबाट विभिन्न रोग लागेर अस्पताल नै धाउने धेरै छन्। मासुका पनि विभिन्न काँचो तथा अर्धकाँचो परिकार अनि तारेभुटेको परिकारमा वृद्धि भएको छ। मिठाई पनि बजारमा पाइने रंगीन र बुट्टेदार मिठाईमा बढोत्तरी भएको देखिन्छ।
अशुद्ध मासु खाँदा सर्ने रोगहरूमा फित्ते कीराहरू– टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकीनेल्ला स्पाइरलिस र फ्यासकिओला हेपाटिका, ब्याक्टेरियल संक्रमणहरूमा एन्थ्राकस, एकटिनोमाइकोसिस, क्षयरोग (टीबी) र खाद्य विषाक्तता वा फुड प्वाइजनिङ पर्छन्। ससेज, सलामी, क्यान वा बट्टामा बन्द टुना फिसजस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानि गर्ने प्रिजरभेटिभ राखिने भएकाले ताजा मासु प्रयोग गर्नु नै राम्रो हुन्छ। कचिलाजस्तो काँचो मासुभन्दा ठिक्कको आगोमा पकाएको मासु राम्रो हुन्छ। कडा आगोमा पकाउँदा मासु खुम्ची ज्यादै कडा बन्छ। त्यसैले पचाउन कठिन हुन्छ। ज्यादै कडा तापमा तारेको, ओभनमा पकाएको, सेकेको र भुटेको मासु कडा हुने भएकाले पचाउन धेरै पर्छ। प्रेसर कुकरमा पकाएको अलि झोलिलो मासु स्वास्थ्यका लागि राम्रो हुन्छ।
मोटो शरीर, रगतमा कोलेस्ट्रोल बढी, उच्च रक्तचाप तथा मुटुका रोगीका लागि मासु अनुकूल हुँदैन। यस्ता मानिसले मासु खानै नहुने होइन तर बढी बोसोयुक्त रातो मासु खानु हुँदैन। स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ। किनभने कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ। माछाका परिकार खानाले शरीरको तौल घट्नुका साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ। कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ। बजारमा उपलब्ध मिठाईसँगै रोगहरू पनि किनिरहेका छौं। मिठाईमा विभिन्न प्रकारका रंग, सिम्रिक, सिन्दूर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रिन, मालाचिट ग्रिन, मेटालिन एल्लो, ओरेन्ज,
जी नेप्थोल, एल्लो एस, अउरामिन, केशरी तथा चम्पारंग र बढी मात्रामा खाद्य रंगहरू क्यारोटिन, एनाटो, विकजिन, कार्नेन, खैरो चिनी इत्यादि तथा एडेटियो प्रिजर्भेटिभहरू प्रयोग गरिएका खानेकुरा खाँदा स्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने त केहीमा दीर्घकालीन असर पर्छन्।
अविवाहित नारी योग्य वर पाउन र विवाहित नारी पतिको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्न व्रत बस्ने चलन छ। व्रत बस्नु स्वास्थ्यका दृष्टिले नराम्रो होइन तर स्वास्थ्य अवस्थाको ख्याल नगरी व्रत बस्नु राम्रो होइन। बिरामी, साना नानी भएका, स्वास्थ्य अवस्था कमजोर भएका, गर्भवती र वृद्धाहरू व्रत बस्नु नराम्रो हुन्छ। तीजमा पानीसमेत नपिई व्रत बस्ने चलन कुनै दृष्टिबाट पनि उपयुक्त हुँदैन। धर्मले पनि पानी पिउँदा पाप नहुने मान्छ। स्वास्थ्यले पनि पानी नपिई गरिने व्रतले ग्यास्ट्रिक बनाउने, मिर्गौला बिगार्ने र बेहोस बनाउने गर्छ। व्रत बसेका व्रतालुहरूले नाचगान गर्दा धेरै नगर्ने, पानी पिएर मात्र गर्ने तथा थकाइ र कमजोरी अनुभव भए आराम गर्नुपर्छ।
पानी नखाएर, थुकै ननिली व्रत बस्दा टाउको दुख्ने, अम्लपित्त हुने, शरीर दुख्धने, कमजोर हुने, नसा झम्झमाउने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस हुने सम्भावना रहन्छ। पानीसमेत नपिउँदा भएको पानी पसिनाबाट निस्कन्छ र हिटस्ट्रोक, निर्जलीकरण हुन्छ। ग्यास्ट्रिक, अल्सर, मुटुरोगका बिरामी व्रत बस्न हँुदैन। निको भइसकेका यस्ता रोगी पनि व्रत बस्दा समस्या बल्झिन्छ। पहिले देखिनै दीर्घरोग भएका कमजोरी महिला त झन् व्रत नबस्नु नै राम्रो हुन्छ।
अन्तमा, तीजको नाममा बढेको विकृतिले सामान्य परिवारमा हुर्केका वा सामान्य आयस्तर भएका जोसुकैका लागि चाडपर्व दशा बन्न थालेको छ। नशालु पदार्थको नशामा बेहोस भएर पनि तीज मनाउन थालेका छन्। दरका साटो रकम, बियर, ह्विस्की, माछामासु र मिठाईले ठाउँ पाएका छन्। अर्कोतर्फ, तीज आउन महिना दिनअघिदेखि नै दर खान थालिएको छ। तसर्थ, हैसियत हेरेर स्वास्थ्यमा ध्यान दिँदै तीज तथा पञ्चमी मनाऔं।