डलर कार्ड भुक्तानीमा कडाइ

डलर कार्ड भुक्तानीमा कडाइ

काठमाडौं : सरकारले प्रतिबन्धित चार वस्तुको आयातमा कडाइ गरेको छ। जसमा १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, जिप, कार तथा भ्यानलगायत सवारीसाधन, तयारी मदिरा र तीन सय अमेरिकी डलरभन्दा बढीका स्मार्टफोन छन्। 

असोज मसान्तसम्म यी वस्तु आयातमा कडाइ गर्न नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकलाई निर्देशन दिएको छ। बिहीबार एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो। ४ वटालाई भने प्रतिबन्ध असोजसम्म कायमै राखिएको छ। 

सोहीअनुसार केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र संशोधन गरेको बताएको छ। ‘प्रतिबन्ध कायम रहेका वस्तुलाई बैंकिङ प्रक्रियाबाट आयात गर्दा एलसी खोल्ने, ड्राफ्ट तथा चिठी पठाउने, भुक्तानीजस्ता कुनै पनि सटही सुविधा नदिन भनेका हौं,’ विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले भने, ‘विदेशी विनिमय सञ्चितिको अवस्थालाई दृष्टिगत गरेर चार प्रकारका वस्तुको आयात प्रतिबन्ध कायम राखिएको छ।’ मुलुकको सञ्चितिमा सुधार हुनेबित्तिकै बाँकी आयात बन्देज वस्तु पनि सरकारले खुलाउने उनले बताए। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। आयातबाहेक पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकबाट जारी गरिने पाँच सयसम्मको डलर कार्डको भुक्तानीमा समेत कडाइ गरेको छ। 

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले भदौ १४ गते एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै विभिन्न १८ प्रकारका वस्तुको भुक्तानी गर्न नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाअनुसार डलर कार्डबाट हुने भुक्तानीमा पनि कडाइ भएको छ। जसअन्तर्गत क्यासिनो, अनलाइन जुवा, बिमा, डेटिङ सेवाको भुक्तानीलगायतमा डलर कार्ड प्रयोग नगर्न निर्देशन दिएको छ। 

डलर कार्डबाट विदेशमा रकम स्थानान्तरण गर्न नपाइने, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान वा सेवाको भुक्तानी, विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी, विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न पनि डलर कार्डको प्रयोग गर्न पाइँदैन। 

यस्तै कोषबापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिनलगायतका विविध भुक्तानीमा डलर कार्डको प्रयोग गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.