मिटरब्याजले पुर्यायो सडकमा
काठमाडौं : महोत्तरी भंगहा–५ सीतापुरका रामलोचन महरा (चमार)का नाति तीन वर्षअघि निमोनियाबाट बिरामी परे। उपचार गर्न पैसा भएन। गाउँकै अनिरुद साहबाट ५ हजार ऋण लिए। एक वर्षपछि ब्याजसहित १५ हजार फिर्ता गरे। महरा परिवारले साँवा र ब्याज दुवै तिरेपछि ऋणबाट मुक्ति पाएको ठानेको थियो। तर, त्यसो भएन। साह करिब एक वर्षपछि महराको घरमा पुगे। ५ हजार ऋणको अझै ६ लाख ३० हजार रकम तिर्नुपर्ने भन्दै धम्की दिए।
त्यसको केही दिनमै अदालतबाट कैदको सजाय तोकियो। र, रामलोचन जेल पुगे। पतिको रिहाइ र मिटरब्याजी साहलाई कारबाहीको माग गर्दै ६० वर्षीया चन्द्रकला महरा (चमार) काठमाडौं माइतीघरमा धर्नामा छिन्। ३३ दिन भयो। उनको मागको सुनुवाइ भएको छैन। चन्द्रकलाले गहभरि आँसु पार्दै अन्नपूर्ण पोस्टसत भनिन्, ‘५ हजार ऋणको ब्याजसहित १५ हजार तिर्दा पनि मेरो पति जेल परेका छन्। हामीलाई न्याय चाहियो।’ उनका पति सात महिनादेखि जेलमा छन्।
रामलोचन स्थानीय भंगहा बजारमा मजदुरी गर्थे। चन्द्रकला गृहिणी हुन्। नातिको स्याहार गर्थिन्। मिटरब्याजीले रामलोचनलाई ‘२० गुणा बढी ऋण लिएको फर्जी कपाली तमसुक’मा हस्ताक्षर गर्न लगाएका थिए। निरक्षर रामलोचन र चन्द्रकलालाई यो विषयमा त्यति बेला थाहै भएन। ‘मेरी बुहारीले ३ कट्ठा खेत बेचेर ३ लाख दिन्छौं। बरु मुद्दा नहाल्नुस् भनेर अनिरुदसँग बिन्ती गरेकी थिइन्’, चद्रकलाले भनिन्, ‘उनले मुद्दा हालेछन्। अदालतमा वकिल राख्ने पैसा पनि हामीसँग थिएन। एकैपटक प्रहरी आएर मेरो श्रीमान्लाई पक्रेर लग्यो।’ हप्तामा ५ सय सरसापटी गरेर पतिलाई जेलमा भेट्ने गरेको चन्द्रकलाले सुनाइन्।

पीडितहरूले दुई साताअघि मिटरब्याजी साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए। उनी पनि पक्राउ परे। तर, मिटरब्याजीका ‘गुण्डाहरू’ले पीडितलाई धम्क्याउने र तर्साउन थालेको पीडित बताउँछन्।
नवलपरासी प्रतापपुर–४ हरकपुरकी ५० वर्षीया खुश्बु नेसाको परिवारको उठीबास लागेको छ। मिटरब्याजीले सबै धनसम्पत्ति हडपेको छ। नेसाका पति सरफूल मियाँले आठ वर्षअघि बेलाटारीका जगदीश र सुनीलबाट ६ लाख ऋण लिएका थिए। छोरी मैमुल नेसाको विवाहका लागि मिटरब्याजीसँग कर्जा लिएका थिए। ६ लाख ऋणको २२ लाख तिर्दा पनि ऋणबाट मुक्ति मिलेन।
मागेजति रकम तिर्न नसकेपछि मिटरब्याजीले उनका पतिलाई धम्की दिए। पाँच कित्ताको घरघडेरीसहित १६ कट्ठा जग्गा आफ्नो नाममा गरे। र, नेसाको परिवारको गाउँबाटै उठीबास लगाइदियो। सरफुलको चार महिनाअघि हृदयघातबाट निधन भयो। ‘दुई बिघा जग्गामा लगाएको केरा खेतीको पाँच वर्षको आम्दानी र अन्य गरी साहुलाई २२ लाख दिएका थियौं’, नेसाले भनिन्, ‘उनीहरूले २९ लाख मागे। हामीले दिन सकेनौं। साहुले हाम्रो भएको घरघडेरी, खेती गर्ने जग्गा सबै छिनुवा (राजीनामा) गराएर आफ्नो र आफन्तको नाममा पास गरायो। हाम्रो त उठीबास नै लाग्यो।’
नेसाका अनुसार ६ लाख ऋण लिँदा मिटरब्याजीले ५ लाख र ८ लाख ऋण लिएको भन्दै ‘फर्जी कपाली कागज’ बनाएका रहेछन्। घरघडेरी सबै लिइसके पनि मिटरब्याजीले तमसुक च्यात्न भने अझै नमानेको उनले बताइन्। नेसा पनि माइतीघरको सडकमा महिना दिनदेखि न्याय मागिरहेकी छन्। श्रीमान् र छोरोछोरी सम्झेर छिनछिनमा भक्कानिँदै सडकमै ढल्ने गरेकी छन्।
पीडितको उजुरीपछि मिटरब्याजी जगदीश र सुनीललाई प्रहरीले पक्राउ गर्यो। तर, धरौटी बुझाएर उनीहरू छुटेपछि धम्क्याउन थालेको पीडितको दुखेसो छ। जोतिरहेको जग्गा आफ्नो नाममा रहेकाले छोडेर जान दिनहुँ धम्क्याइरहेको नेसाले बताइन्। ‘घर छोड, घर बेच्छौं, खेत छोड, खेत बिक्री गर्छौं भन्दै धम्की दिने गरेका छन्’, नेसाले भनिन्, ‘चार महिनाअघि श्रीमान्को मृत्यु भयो। त्यसपछि उनीहरूले धम्क्याउन थाले। घर छोडेर कहाँ जाऊँ ? ’

नेसाका दुई छोरा रिजवान र अब्दुलकलाम तीन महिनाअघि साउदी गए। तर, त्यता पनि उनीहरूले काम नपाएको जनाइएको छ। उनले ४ लाख ऋण गरेर छोरालाई विदेश पठाएकी थिइन्।
कान्छी छोरी सकिनले यसपटक एसईई पास गरिन्। पैसा नभएर उनले छोरीको भर्ना गर्न सकेकी छैनन्। कक्षा ११ मा पढ्ने छोरी तयबुललाई पनि पढाइ खर्च जुटाउन कठिन भएको उनले सुनाइन्। ‘बेटा कमाउन गयो। उसले पनि काम पाएको छैन’, उनले पीडा पोख्दै भनिन्, ‘छोरो र दुई छोरीलाई बिहे गर्नु छ। कसरी विवाह गर्ने ? जो कमाएर हामीलाई पाल्थे त्यो पनि बित्यो। कसरी छोराछोरी पाल्ने, पढाउने र विवाह गर्ने ? ’
उनी दिनभरि सडकमा धर्ना बस्छिन्। साँझ पीडितसँगै कीर्तिपुरमा टेन्टमा गएर रात बिताउँछिन्। ‘त्रिपाल तानेर बस्छौं। किरा, सर्पको डर हुन्छ’, उनले भनिन्, ‘महिना दिनदेखि काठमाडौंमा छु। उता छोरीको हात भाँचियो। एउटी छोरी पथरी भएर रोइरहेकी छन्। उपचार गर्ने पैसा छैन। एकैपटक सबै दुःख आइलागेको छ।’
‘हिरासतबाटै धम्क्याउँछन्’ मिटरब्याजी
सयौं परिवार अनिरुद साहजस्ता मिटरब्याजीबाट पीडित छन्। उनीहरू अहिले न्याय माग्दै महिना दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
झन्डै ७५ जना पीडितले जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीमा उजुरी दिएपछि १५ दिनअघि मिटरब्याजी साह पक्राउ परेका थिए। पीडितलाई हिरासतबाटै धम्क्याउन थालेपछि चन्द्रकलाले असुरक्षा महसुस गरेकी छन्। उनी न्याय माग्न काठमाडौं आएकी छन्। ‘तँ नाच गर्न जलेश्वर आउँछेस्।

मलाई बाहिर निस्किन दे। त्यसपछि तँलाई काट्छु भन्छ’, उनले भनिन्, ‘मुद्दा मिलाउन जनकपुरमा नेताहरूलाई ३५ लाख दियो। त्यसपछि उनी पीडितलाई प्रहरी हिरासतबाटै धम्क्याइरहेको छ। हामी असुरक्षित भयौं।’ उनलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने पीडितको माग छ।
फर्जी तमसुकमा सहीछाप गराएर श्रीमान्को नाममा रहेको तीन कट्ठा जग्गा पनि अदालतबाट मिटरब्याजी साहले रोक्का गराइदिएको उनले बताइन्। उनले जग्गा लिलामी गराउने दाउमा रहेको चन्द्रकलाले बताइन्। ‘हामी पीडित वर्षात्, घाममा धर्ना बसिरहेका छौं। तर, सरकार कानमा तेल हालेर बसेको छ। हाम्रो माग, मुद्दाबारे सुन्दैन’, उनले आक्रोशित हुँदै भनिन्, ‘मेरो श्रीमान्लाई सरकारले जेलबाट ननिकालेसम्म म घर फर्किन्नँ। जाली तमसुक च्यात्नुपर्यो। रोक्का गरिएको हाम्रो जग्गा फुकुवा पनि हुनुपर्यो। नत्र हामी घर फर्किन्नौं।’
वृदावन नगरपालिका–६ हर्साहा रौतहटका शिवशंकर महतो पनि मिटरब्याजले पीडित छन्। बुवा मोतीलाल महतोले शिवप्रसाद राय यादवबाट २०७२ सालतिर २७ लाख ऋण लिएका थिए। त्यसबापत साहुले एक बिघा जग्गा पास गरेर आफ्नो नाममा लिइसकेका थिए। तर, साहुले १० लाखको कपाली तमसुक बनाएका थिए। त्यसबापत उनले साहुलाई १३ लाख दिए। तर, नौ महिनाअघि साहुले उक्त जग्गा बिक्री गरिदियो। साढे १ करोडको जग्गा ८४ लाखमा बिक्री गरेको उनले सुनाए।
‘साँवा र ब्याज गरी साहुको ४८ लाख हुन्छ’, उनले भने, ‘सबै पैसा तिर्न हामी तयार छौं। तर, हाम्रो जग्गा चाहियो।’ धेरै पटक भेट्न प्रयास गर्दा पनि साहुले भेट्न अस्वीकार गरेको उनले बताए। ‘जहाँ जानु छ जाऊ, मेरो घरमा नआउनू’, साहुको भनाइ उद्धृत गर्दै उनले भने। साहुलाई नेताहरूले संरक्षण दिइरहेको उनले बताए। ‘साहुले धेरै मान्छेलाई रुवाएको छ’, उनले भने, ‘उनीविरुद्ध धेरै मान्छेले बोल्न सकेका छैनन्। दादागिरी गरेर गाउँमा धम्क्याउने गरेका छन्।’ साहुले मिटरब्याजमा पैसा लगाउने र फर्जी तमसुक बनाउँदै सर्वसाधारणलाई ठग्ने र जग्गा हड्प्ने गरिरहेको उनले बताए।
झुक्याएर जग्गा पास
नवलपरासीको कुरिया नगरपालिका –४ का ४२ वर्षीय अकबर मियाँलाई साहुले दिएको दुःखले रुनु न हाँस्नुको अवस्थामा पुर्याइदिएको छ। छोरो जफारु र हसरु मियाँलाई विदेश पठाउन तीन वर्षअघि परासीका साहु मनोजकुमार सोनारबाट ६ लाख ऋण लिएका थिए। त्यसको बदलामा साहुले २० लाख पर्ने १० कट्ठा जग्गा दृष्टिबन्धक गरायो। तमसुक पनि गरायो। तर, कतिको कपाली कागज गरायो भन्ने उनलाई थाहै भएन। उनले ६ लाखको १० लाख ५ हजार तिरिसके। तर, उनले जग्गा फुकुवा गर्न मानेका छैनन्। ‘अझै २० लाख मागिरहेको छ’, उनले भने, ‘मेरा विरुद्ध मुद्दा पनि गरेको छ। यो टेन्सनले श्रीमती जर्दा खातुन बितिन्। कहाँ जानु ? के गर्नु ? कोही छैन सहारा।’
छोरो विदेश गए पनि सोचेजस्तो कमाइ छैन। उनले ऋण तिर नत्र जग्गा लिलामी गराइदिने धम्की दिएका थिए। जग्गा बचाउन अर्को साहु सुरेश बानियाँबाट ४ लाख २५ हजार लिएर बुझाएका थिए। नयाँ ऋण लिँदा बानियाँले पनि तीन कट्ठा जग्गा दृष्टिबन्धक गर्नुपर्ने भने। तर, झुक्याएर जग्गा नै पास गराएको उनले सुनाए। ‘ऋण लिएको २५ महिनामा ४ लाख २५ हजारको मैले ९ लाख ४० हजार दिएँ। अझै जग्गा फिर्ता गर्न मानिरहेको छैन’, उनले भने।
सर्लाहीका मिटरब्याजी रामबाबु रायको जालमा परेर हैरान छन् बरहथवाका ७५ वर्षीय सहदेव राय । साहु रायबाट २०५५ सालतिर पटक–पटक गरेर ३ लाख ५८ हजार ४ सय ऋण लिएका थिए। फर्काउने सर्तमा १६ कट्ठा खेत र घडेरी पास गरिदिए। उनले मागेको सबै पैसा साहुलाई तिरे तर पास गराएको खेत फिर्ता गर्न नमानेको उनले सुनाए।
पीडितले अदालतमा मुद्दा हालेका थिए। जिल्ला अदालत सर्लाहीमा १५ लाख धरौटी बुझाएर छुटे। उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ। तर, उनी फरार छन् । सम्पत्ति शुद्धीकरणमा पनि उनीविरुद्ध मुद्दा छ। १ करोड ५८ लाख धरौटीमा उनी केही समयअघि छुटेका थिए। मिटरब्याजीको चंगुलमा परेका गरिब र निरक्षरलाई त्यहाँबाट निस्किन सहज देखिँदैन। उनीहरूले झुक्याएर जालमा पार्ने गर्छन्। यस्तै जालमा परेका छन्, नवलपरासीका ६३ वर्षीय रामसुभग मुसहर। सन्दीपकुमार जोशीबाट उनले ४ लाख ५० हजार ऋण लिए। ३० लाख पर्ने १० कट्ठा जग्गा पास गराए।
पैसा नदिए खेत बिक्री गर्ने धम्की दिन थाले। त्यसपछि अर्को साहुबाट ऋण लिएर उनलाई तिर्ने र जग्गा जोगाउनेतिर लागे। उनको भेट राजेश कुशवाहा (मुरारी पहलमान)सँग भयो। उनले लगेर भैरवहाकी मनीषा पोखरेलसँग भेटाए। ३ कट्ठा घडेरी पास गराएर ८ लाख ५० हजार दिने भने। उनले जग्गा मनीषाको नाममा पास गरिदिए। ‘तर, त्यहाँ मनीषाले डेढ लाख मात्रै दिए। ७५ हजार तुरुन्तै राजेशले लिए। अनि म घर फर्किएँ’, उनले रुँदै भने, ‘पछि ६ लाख ८३ हजारको चेक दियो। तर, चेकमा केरमेट गरिदिएकाले बैंकले भुक्तानी दिन मानेन।’ चेक लिएर भौतारिरहे तर मनीषा र राजेशले उनलाई भेट दिँदैनन्।

साहु सन्दीपले पैसा नतिरे जग्गा बिक्री गर्ने दबाब दिइरहे। उनले फेरि ३२ लाखको जेसीबी १६ लाखमा बिक्री गरे। ९ लाख ४० हजार रुपैयाँ बुझाए। तर, उनले पनि जग्गा पास नगरी अरूलाई नै बिक्री गरिसकेका छन्। उनले भने, ‘अब जग्गा पनि छैन। जेसीबी पनि बिक्यो। मेरा छोराहरू घरबाट लखेटेर भगाउँछन्। यो बुढोले गर्दा हाम्रो उठीबास लाग्यो भन्छन्। अब म कहाँ जाऊँ ? ’
सरकारले पीडितको मागमा गम्भीरता नदेखाएको मिटरब्याजी किसान, मजदुर संघर्ष समितिका पदाधिकारीको भनाइ छ। सरकारले गठन गरेको कार्यदललाई नमान्ने समिति अध्यक्ष रामसुरत गुप्ताले बताए। ‘कार्यदललाई हामी मान्दैनौं। त्यसमा सबै कर्मचारी छन्। उनीहरू मिटरब्याजीसँग मिल्न पनि सक्छन्।
कार्यदलमा हाम्रो समितिको प्रतिनिधित्व भएन। यसले हामीलाई न्याय दिलाउँछ भन्नेर ढुक्क हुने ठाउँ छैन’, उनले भने, ‘त्यसैले कार्यदललाई हामीले नवलपरासीबाट कालो झन्डा देखाएर धपाएर पठायौं।’ साहुले दिएको पीडामा मलमपट्टी गर्न सरकार गम्भीर नभएपछि २०७८ असोज १४ गते पीडितले मिटरब्याजीविरुद्ध संघर्ष समिति गठन गरेका थिए।
मिटरब्याजीले दृष्टिबन्धक गरेको सबै जग्गा फुकुवा हुनुपर्ने, झुक्याएर पास गराएको जग्गा पीडितको नाममा फर्काउनुपर्ने, जाली तमसुक सबै च्यात्नुपर्ने, हिसाबभन्दा बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र मिटरब्याजी र दलाललाई कारबाही गरी पीडितलाई न्याय दिनुपर्ने माग संघर्ष समितिको छ।

‘हाम्रो दोस्रो पटकको आन्दोलन महिना दिनभन्दा बढी भयो। सरकारले हाम्रो माग पूरा गर्न ध्यान दिएको छैन’, अध्यक्ष गुप्ताले भने, ‘गृह मन्त्रालयले एउटा सूचना निकालेर यसअघि हामीलाई जिल्ला पठायो। हामी जिल्ला गयौं। त्यो पत्रले हाम्रो न्यायका लागि होइन सुदखोर छोडायो। हामी फेरि आन्दोलनमै फर्किनुपर्यो।’ पीडितलाई न्याय दिलाएर सरकाले सुख देओस्, सबैलाई मुक्ति देओस् नभए आन्दोलन जारी रहने उनले बताए।
मेरो श्रीमान्लाई सरकारले जेलबाट ननिकालेसम्म म घर फर्किन्नँ। जाली तमसुक च्यात्नुपर्यो। रोक्का गरिएको हाम्रो जग्गा फुकुवा पनि हुनुपर्यो। नत्र हामी घर फर्किन्नौं।
– चन्द्रकला महरा (चमार) महोत्तरीसाहुलाई २२ लाख दिएका थियौं। उनीहरूले २९ लाख मागे। हामीले दिन सकेनौं। साहुले हाम्रो भएको घरघडेरी, खेती गर्ने जग्गा सबै छिनुवा (राजीनामा) गराएर आफ्नो नाममा पास गरायो। हाम्रो त उठीबास नै लाग्यो।
– खुश्बु नेसानवलपरासीअब जग्गा पनि छैन। जेसीबी पनि बिक्यो। मेरा छोराहरू घरबाट लखेटेर भगाउँछन्। यो बुढोले गर्दा हाम्रो उठीबास लाग्यो भन्छन्। अब म
कहाँ जाऊँ ?
– रामसुभग मुसहर, नवलपरासीसाहुले धेरै मान्छेलाई रुवाएको छ। उनीविरुद्ध धेरै मान्छेले बोल्न सकेका छैनन्। दादागिरी गरेर गाउँमा धम्क्याउने गरेका छन्। साहुले मिटरब्याजमा पैसा लगाएर फर्जी तमसुक
बनाउँदै सर्वसाधारणलाई ठग्छ। जग्गा हड्प्छ।
– शिवशंकर महतो, रौतहटहाम्रो दोस्रो पटकको आन्दोलन महिना दिनभन्दा बढी भयो । सरकारले हाम्रो माग पूरा गर्न ध्यान दिएको छैन । गृह मन्त्रालयले एउटा सूचना निकालेर यसअघि हामीलाई जिल्ला पठायो । त्यो पत्रले हाम्रो न्यायका लागि होइन सुदखोर छोडायो । हामी फेरि आन्दोलनमै फर्किनुपर्यो ।
– रामसुरत गुप्ता,
अध्यक्ष, मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति
प्रतिक्रिया दिनुहोस !