उद्धार केन्द्रमा पाटेबाघ
![उद्धार केन्द्रमा पाटेबाघ](https://annapurnapost.prixacdn.net/media/albums/pate-bhagha_20220908092246_WKDKAjMP3x.jpg)
गुलरिया : बर्दिया राष्ट्रिय निकुञ्जको चेपाङ मध्यवर्ती क्षेत्रअन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवनीस्थित शक्ति मध्यवर्ती सामुदायिक वनमा साउन २९ गते घाँस काट्न पुगेका ४६ वर्र्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि वलीले पाटेबाघको आक्रमणमा परी ज्यान गुमाए। निकुञ्जले तत्काल वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरी बाघ अनुगमन सुरु गर्यो।
निकुञ्ज कर्मचारी, सुरक्षार्थ तैनाथ नेपाली सेना, स्थानीय मध्यवर्ती उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको टोलीले शक्ति मध्यवर्ती सामुदायिक वनको आक्रामक बाघ पहिचान गरे। यसको ४ दिनपछि सल्यानको कालिमाटी गाउँपालिकारू७ स्थित स्वामीवास वनक्षेत्रबाट भाद्र १ गते नियन्त्रणमा लिन सफल भयो। सूईद्वारा लठ्याइने प्रविधि (डार्ट) मार्फत बेहोस बनाएर समातिएको बाघलाई बाँके राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।
समस्याग्रस्त बाघहरूले मानिसलाई आक्रमण गर्छ। सल्यानमा समातिएको बाघ १२ वर्षको पोथी बाघ हो। बाघ बूढो भइसकेको छ। बाघको दाँत, नङग्रा भाँचिएको, स्वास्थ्य बिग्रिएको र अस्वस्थ अवस्थामा छ। आहराको लागि जनावर सिकार गर्न नसक्ने भएकाले नै बाघले सिकारको लागि मानवीय आक्रमण गर्ने गरेको उनले सुनाए। निकुञ्जले समस्याग्रस्त बाघहरूलाई बेला–बेला नियन्त्रणमा लिने गरेको छ। नियन्त्रणमा लिइएका बाघहरू उद्धार केन्द्रहरूमा राख्ने गरिन्छ। हालसम्म नियन्त्रणमा लिइएका ७ वटा बाघहरू चिडियाखानालगायत बाँके, बर्दियाका उद्धार गृहमा राखिएको छ। समस्याग्रस्त बाघहरूलाई समाउँदै उद्धार गृहमा राख्नु द्वन्द्व समाधानको एउटा उपाय हो। अर्को जंगलमा उनीहरूको बासस्थान सुधार, आहारा र पानीको पर्याप्त व्यवस्था हुनुपर्छ। जंगल क्षेत्रमा मानवीय आवागमन रोक्न सक्नुपर्छ।
बर्दिया, बाँके क्षेत्रमा बनाइएका उद्धार गृहहरू कंक्रिटका छन्। समस्याग्रस्त बाघलाई अनुसन्धान, उपचार एवं सुधारका लागि उद्धार गृहमा राखिन्छ। उद्धारका लागि बनेका संरचना बाघका लागि उपयुक्त र मापदण्डअनुसार छैनन्। बाघको बानी सुधार्न राखिएका गृहहरू उल्टै बाघलाई रिसाहा बनाउने प्रकृतिका छन्। गृहमा राखिएका बाघहरू दिनभरी क्रंकिटको भूइँमै हिँड्डुल गर्ने, सुत्ने अनि फलामका तारजाली तानतुन गर्ने दैनिकी चलिरहेको छ। बाघ संरक्षणका हेतुले निर्माण गरिएका उद्धार गृहहरू बाघका लागि जेल तथा हिरासतको रूपमा देखापरेका छन्। यस्ता गृहहरूमा लामो समयसम्म बाघलाई राख्दा उनीहरूको दाँत, नङग्रा एवं शरीरमा थप स्वास्थ्य समस्या निम्त्याउँदै मानसिकतामा नकारात्मक प्रभाव पर्न सक्ने सम्भावना निकै चुनौतीपूर्ण छ।
निकुञ्जभित्र खुला चिडियाखाना
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा १ तथा रम्भापुर खोरमा २ गरी ३ वटा बाघ बर्दियामा राखिएको बताए। बाँके निकुञ्जमा २, काठमाडांैस्थित सदर चिडियाखानामा एउटा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिई पठाइएको छ। जसमध्ये बाँके राष्ट्रिय निकुञ्जमा राखिएको एउटा बाघ खोर फोरेर भागेको छ। बर्दियामा राखेको एउटा बूढो बाघ कालगतिले मरेको छ।
‘नियन्त्रणमा लिइएका बाघलाई राख्ने खोर प्राकृतिक हुनुपर्छ भन्ने हाम्रो चाहाना हो। नियन्त्रित बाघलाई राख्ने होल्डिङ सेन्टरहरू जंगलभित्र प्राकृतिक स्थानमा बनाउनु जरुरी छ। छोपेका बाघलाई प्राकृतिक वातावरणमा बस्ने खालको फलामको तारजाली लगाएर होल्डिङ सेन्टरका लागि हामीले विभागमा प्रस्ताव गरेका छौं’, उनले भने। करिब १÷२ हेक्टर क्षेत्रफलमा प्राकृतिक होल्डिङ सेन्टर निर्माण गर्न ६ करोड रुपैयाँ अनुमानित लागत छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)