अनन्ते मेला सुरु
बाजुरा : बाजुरामा शनिबारदेखि अनन्ते मेला सुरु भएको छ। भाद्र पञ्चमीको दिनबाट सुरु हुने अनन्ते मेलालाई बाजुरामा विशेष पर्वका रूपमा लिने गरिएको छ।
यो मेला तीन दिन देखि पाँच दिनसम्म लाग्दछ। बाजुरालीले दशैंपछिको महत्वपूर्ण पर्वका अनन्तेलाई लिने गरेका छन्।
महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजयी हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्षधरहरूले विजयोत्सवका रूपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरू बताउँछन्।
पर्वलाई सत्यको विजय भएको सम्झनामा बनाउने गरिएको अनन्ते मेलाका जानकार कुम्भराज पण्डितले बताए। मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्दको कौशल लडाइँको युद्द नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ।
मेला हिन्दुहरूले मान्ने १६ श्राद्धदेखि सुरु हुन्छ। अन्यायको अन्त्य भन्ने शब्द अपभ्रंश भएर उत्पति भएको किंवदन्ती रहेको छ।
व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवनको भजनकृतन र महापुरुषले गरेका कल्याकारी कार्यलाई समुदाय बीच गीत मागलसँगै विजुराका गाथाको माध्यमद्वारा पर्व मनाउने गरेको स्थानीय बुद्धिसिंह थापाले बताए।
मेला अवधिभर विजुरा बजाउँदै गीत मागल गाएर महाभारतको युद्दमा कौरव र पाण्डव बीचको युद्द संवाद योद्दाले देखाएको युद्द कुशलता जस्ता कार्यको वर्णन गर्दै मेला बनाउने चलन छ।
यो पर्व सांस्कृतिक रूपमा धनी पर्वका रूपमा बाजुरालीहरूले लिने गर्छन।
स्थानीय लोक सांस्कृतिक र जिल्लाको पहिचानका रूपमा मनाइने पर्व बाजुरा जिल्लाको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगायतका क्षेत्रमा मनाउने गरिन्छ।
संस्कृतिको जगेर्ना आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको संकेतका रूपमा पनि अनन्ते पर्वलाई मनाउने गरिएको स्थानीय शेरबहादुर रावलले बताए।
पर्वलाई सबै जातिको उपस्थितिमा सामूहिक रूपमा मनाउने भएकाले सामाजिक शान्ति स्थापना गर्न पनि पर्वको महत्त्व रहेको मार्तडीका स्थानीय धनबहादुर रावलले बताए।
मेलाको अवसरमा छिमेकी जिल्लाका लेक, खर्क, बेशीबाट आफन्त गोठालाहरू विद्यार्थीहरू र कर्मचारी एकै ठाउँमा जम्मा भएर आफ्नो क्षेत्रको सुखदुःखदेखि भाइचाराको सम्बन्ध कायम हुने गरेको स्थानीय बताउँछन्।
मेला अवधिभर केटा केटीहरू दोहोरी देउडामार्फत महाभारतको कथावस्तुलाई कलात्मक तरिकाले व्यक्त गर्छन। मेलामा गोलो घेरा बनाएर दुई पट्टीबाट मिजुरा बजाउँदै पालैपालो गीतगाथा गाएर रमाइलो गर्ने गर्दछन।
प्रतिक्रिया दिनुहोस !