लागूऔषधको सञ्जाल भत्काउँदै सिरहा प्रहरी

लागूऔषधको सञ्जाल भत्काउँदै सिरहा प्रहरी

सिरहा : ठूलो परिमाणमा लागूऔषध गाँजा भारत तस्करी भइरहेको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय लहानका डीएसपी कुमारप्रसाद मैनालीको कमान्डमा चेकजाँच टोली लहान नगरपालिका–१ स्थित ट्राफिक प्रहरी कार्यालय अगाडि कुरेर बस्यो। साउन ३० गते राति पौने ९ बजे को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई चेकजाँच भयो। त्यसमा ९० किलो लागूऔषध गाँजा र १ किलो १२० ग्राम ब्राउन सुगर फेला पर्‍यो। प्रहरीले एम्बुलेन्स चालक धनगढीमाई नगरपालिका–९ का सरोज लामालाई गाँजासहित पक्राउ गरी कारबाही चलाएको छ।

बरामद गाँजा धनगढीमाई–१३ भालुटारबाट एम्बुलेन्समा लोड गरेर ल्याएको पाइएको थियो। उक्त गाँजा भगवानपुर ठाडिनाका हुँदै भारत पुर्‍याउने उद्देश्यसहित ल्याउँदै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। गाँजा तस्करीमा प्रयोग भएको एम्बुलेन्स सुनसरी वराहक्षेत्र गुठीको नाममा दर्ता रहेको छ। एम्बुलेन्स लामाले आफ्नो जिम्मा लिएर चलाउँदै आएको प्रहरीको भनाइ छ। साउन २२ गते बेलुका प्रहरीले लहान–३ अस्पताल चौकमा होटेलबाटै लागूऔषधको कारोबार भइरहेको सूचना पाए। लगतै जिल्ला प्रहरी र इलाका प्रहरी लहानको संयुक्त टोली पुगे। त्यहाँका सगरमाथा होटेलबाट लागूऔषधसहित लहान–१ का ३० वर्षीय दिलीप साह र लहान–७ का २८ वर्षीय गोपाल दासलाई पक्राउ गर्‍यो।

प्रहरीले उनीहरूको साथबाट फेनरागन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल बरामद गरेको छ। साह र दासले प्रयोग गर्दै आएको स.६ प. ६३३ नम्बरको मोटरसाइकल, सानो सादा मोबाइल २ थान र ओपो कम्पनीको मोबाइल एक थानसमेत बरामद गरेको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अर्जुन तिमिल्सिनाले बताए। त्यसैगरी, प्रहरीले भदौं १८ गते सिरहा–१७ बाट ब्राउन सुगरसहित मिर्चैया ५ का २५ वर्षीय मोहम्मद नियाज सेखलाई पक्राउ गर्‍यो। साउन २१ गते गोलबजार नगरपालिका–६ बाट सिरहा–१७ का ३४ वर्षीय महाजन पासमान, सोही ठाउँका ३३ वर्षीय अनिल पासमान र भारत जिल्ला मधुवनी ग्रामपञ्चायत बैतौनाहाका ३० वर्षीय अनिलकुमार सिंहलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ९२० मिलिग्राम फेला परेको थियो।

प्रहरीले चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै लागूऔषधको ३६ वटा मुद्दामा ४३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ठूलो परिमाणको लागूऔषध बरामद गरिएको छ। नाइट्रोभेट ७४७ ट््याब्लेट, डाइलेक्स २५३ बोतल, फेनरागन २३०६ एम्पुल, डाईजिपाम १७४५ एम्पुल, ब्युप्रिनोर्फिन २१५० एम्पुल र स्पामोप्रोसिभिन १८९ पिस बरामद गरेको छ। आर्थिक वर्ष २०७८÷७९ मा १९८ मुद्दामा २७७ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट फेनरागन ५०७६ एम्पुल, डाइजेल्याब २४७२ एम्पुल, नाइट्राभेट ८४१८ ट््याब्लेट, ब्युरोनोफिन २८८५, गाँजा २५६ केजी, डाईजिपाम १९२७ एम्पुललगायत दर्जनौं लागूऔषध बरामद गरिएको सिरहा प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए।

लागूऔषधको ठूलो कारोबारीलाई विशेष निगरानी राखी पक्राउ गरिरहेको उनले सुनाए। लागूऔषधको सञ्जाल भत्काउन स्थानीयवासीले प्रहरीलाई समयमै खबर गरिदिएर सहयोग गर्नुपर्ने उनको भनाइ छ। यस क्षेत्रमा लागूऔषध तस्करमा लागेका व्यक्तिहरूले नेपालबाट गाँजा भारततिर र भारतबाट अरू लागूऔषध नेपाल ल्याउने गरेको घटनाहरूबाट देखिन्छ। प्रहरीले ठाउँ–ठाउँमा चेकजाँच गरेर लागूऔषधसहित व्यक्तिहरूलाई पक्राउ गरिरहेको एसपी तिमिल्सिनाले बताए। आर्थिक वर्ष २०७८÷७९ र चालू आवको साउन र भदौ गरी १४ महिनामा ६९४ स्थानमा जनचेतनामूलक कार्यक्रम गरिएको उनले बताए। आर्थिक वर्ष २०७७÷७८ मा पनि २८५ स्थानमा सचेतनामूलक कार्यक्रम गरिएको थियो। सिरहा प्रहरीले भन्सार छली गरी नेपाल ल्याएका करोडौं रुपैयाँका समानसहित दर्जनौं मानिसहरूलाई पक्राउ गरी भन्सारमा 
बुझाएको छ। 

चालू आर्थिक वर्षको साउन र भदौमा ४३ लाख २५ हजार ८२९ रुपैयाँको समानसहित ३ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ७ वटा सवारी बरामद गरेको छ। आर्थिक वर्ष २०७८÷७९ मा ३ करोड १० लाख १८ हजार ७६९ रुपैयाँको समानसहित ३४ जनालाई पक्राउ गरेर भन्सारमा बुझाएको छ। प्रहरीले उनीहरूको साथबाट २१ वटा सवारीसधान पनि बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.