बर्सेनि बग्छ सडक : खोजिँदैन निकास,
बाजुरा : सुदूरपश्चिमको दुर्गम जिल्लामा पर्छ बाजुरा। यसलाई भौगोलिक बनावटले मात्रै होइन विकासका आधारभूत कुराले पनि ठगेको छ। अन्य स्थानीय तहमा त परको कुरा, सदरमुकाम नै ५ वर्षदेखि सडक सञ्जालबाट विच्छेद छ। जसका कारण यहाँ पुग्न कठिन छ नै चाडपर्वका समयमा दैनिक उपभोग्य सामग्रीको अभाव छ, पाइए पनि महँगो पर्छ।
बाजुराको मुख्य लाइफलाइनका रूपमा चिनिएको साफेबगर–मार्तडी सडकमा पूरै सडक भाँसिएको छ। यसकै कारण बाजुरा सडक सम्बन्धबाट टाढिएको हो। सदरमुकाम जोड्ने साँफेबगर–मार्तडी सडकको इकडीदेखि मार्तडीसम्म दर्जनौं ठाउँ अबरुद्ध छन्। पाँच वर्ष अघिदेखि हरेक वर्षायाममा सडक बन्द हुँदै आएको छ। बाजुराको त्रिबेणी नगरपालिका–९ पैमामा पहिरोले तीन किलोमिटर सडकनै बगाएको छ। साँफेबगर–मार्तडी ५७ किलोमिटर छ। सडक निर्माण मै करिब पौनै २ अर्ब बजेट खर्च पनि भइसकेको छ।
बूढीगंगा नदी साँफेबगर–मार्तडी सडकतर्फ धकेलिएपछि बूढीगंगा नगरपालिकाको बल्देदेखि बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्मको सडक भत्किएको ५ वर्ष भयो। तर, मर्मत हुन सकेन। सदरमुकाम जोड्ने सडक भत्कँदा सदरमुकाम मार्तडी र बाजुराका अन्य स्थानीय तहहरूसँगको सम्बन्ध पनि छुटेको छ। ‘पाँचवर्षदेखि हरेक बर्खामा सडक अवरुद्ध हुन्छ। दसैंका बेलासम्म पनि सडक खुल्दैन। नदीको जलस्तर नघट्दासम्म सडक सञ्चालन हुँदैन। तराई र अन्य जिल्लाबाट आएका सवारी साधन बल्दे भन्ने स्थानमै रोकिएर तीन किलोमिटर पैदल हिँडेपछि मात्र सदरमुकामका लागि सवारी पाउँछ,’ बडिमालिका नगरपालिकाका स्थानीय लक्ष्मीराज पाध्यापले भने।
भत्किएको सडकको दिगो हुने गरी मर्मत गर्न र त्यसको विकल्पका रूपमा अर्को सडक बनाउन प्रदेश र संघ सरकार उदासीन रहेको आरोप लक्ष्मीराजको छ। ‘बर्सेनि भत्कँदै आएको सडक सञ्चालनका लागि ५ वर्षसम्म प्रदेश र संघले चासो दिएन। पर्याप्त बजेटका लागि पनि पहल भएको देखिँदैन’, उनले भने।

बाजुराको बूढीगंगा नगरपालिका–१ को द्वारीमा झरेको पहिरो। यो पहिरोले सडक पूरै बगाएको छ।
पानी पर्ने बित्तिकै सडक भासिएर बग्छ। माथिबाट लगातार पहिरो आइरहेको हुन्छ। तलबाट नदीले कटान गरिरहने भएका कारण बर्खाका बेला सडक अवरुद्ध हुँदै आएको छ। साँफेबगरमा २२ वर्षअघि सडकको शिलान्यास भएको थियो। कालोपत्रे भएर मार्तडीसम्म सरर गाडी गुडेको वर्ष दिन नपुग्दै बल्देको पहिरोले सडक भत्किएको हो। ‘राम्ररी यातायात नै चल्न पाएको थिएन। कालोपत्रे भएकै वर्ष तलबाट बूढीगंगाले कटान गर्यो। माथिबाट पैमाको पहिरोले सडक भासियो’ डिभिजन सडक कार्यालय साँफेबगरका प्रमुख बिबेक बस्नेतले भने। उनी थप्छन्, ‘दुई वर्षसम्म निर्माण व्यवसायीले मर्मत सम्भार गर्नुपर्ने हुन्छ। ३ किलोमिटर सडकपुरै भासिएर नयाँ बनाउने पनि उपाय नभएको हुँदा निर्माण व्यवसायीले दुई वर्षअघि मात्रै सडक हस्तान्तरण गरे,’ बस्नेतले भने।
सडक कालोपत्रेको काम सकिएको पाँच वर्ष पनि पुगेको छैन। सडक निमार्ण कम्पनीले दुई वर्षअघि मात्र सडक डिभिजन कार्यालयलाई बुझाएको छ। अघिल्ला वर्षहरूमा सडक निर्माण कम्पनी मातहत भएकाले सडक डिभिजनभन्दा पनि निर्माण कम्पनीको बढी जिम्मेवारी थियो। दुई वर्षदेखि सडक डिभिजन कार्यालयले समाधान खोजी रहेको डिभिजन कार्यालय साँफेबगरका प्रमुख बस्नेतले बताए। ‘कालोपत्रे गरिएको पहिलो वर्ष वर्षामा एक डेढ हप्ता अबरुद्ध भएको थियो। दोस्रो वर्ष साउनको एक महिना अबरुद्ध भयो। तेस्रो र चौथो वर्ष असारदेखि असोजसम्म बन्द भयो। पाँचौं वर्ष पनि असार पहिलो सातादेखि अबरुद्ध भएको सडक दसैंमा पनि खोल्न सकिएको छैन’ प्रमुख बस्नेतले भने।
पहिरो निरन्तर बगिरहने भएकाले समस्या भएको उनको भनाइ छ। ‘पहिरो निरन्तर बगिरहेको छ। लगातारको पानीले जमिन पूरै दलदल भएको छ। पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन सकिएको छैन’, उनले भने। हुन त बूढीगंगा नगरपालिकाले कन्सन बाजुरा नामक अनाथालय नजिकबाट वैकल्पिक सडक बनाउने भन्दै केही दिन डोजर पनि लगायो। तर, त्यहाँका स्थानीयले जग्गाको मुआब्जा माग गरेपछि त्यो पनि बन्न सकेन। ‘सरकारले मुआब्जाका लागि बजेट पनि छट्ट्याएको छैन। स्थानीयको घरजग्गा पर्ने भएकाले त्यो कार्य गर्न सकिएन। त्यसैमा बीच सडकमा कडा खालको चट्टान भेटिएकाले पनि त्यो कार्य हुन सकेन’, प्रमुख बस्नेतले भने।
अहिले वैकल्पिक मार्गको काम पनि अलपत्र छ। स्थानीय प्रसासनले पुरानै स्थानबाट सडक खोल्ने प्रयास गरेको छ। तर, त्यो सफल भने हुन सकेको छैन। ‘पुरानै ठाउँबाट सडक खोल्न १५ दिन अगाडिबाट प्रयासमा छौं। लगातारको झरीले काम गर्न सकिएको छैन। पहिरो बगिरहेका कारण समस्या भएको छ। सडकको माथितिर बस्ती छ। तलबाट सडक खन्दा बस्ती जोखिममा पर्ने चिन्ता पनि छ,’ प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने, ‘यसरी सडक खन्दा बस्ती झन् बढी जोखिममा पर्छ।’

पहिरोले सडक पुरेपछि बिच बाटोमा नै रोकिएका दैनिक उपभोग्य समान बोकेका सवारीबाट सामान निकालेर गन्तव्यमा लैजाँदै स्थानीय ।
२०७९ साल असार पहिलो साताबाटै सडक पूर्णरूपमा बन्द भएको छ। द्वारीमा पूरै सडक भासिएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। पहिरोको वैकल्पिक उपायका लागि जेठ महिनायता सडक डिभिजन कार्यालय, स्थानीय तहहरूसँग धेरै पटक बैठक गरी संघ सरकारलाई दिगो समाधानका लागि पत्राचार गरेको पनि प्रमुख जिल्ला अधिकारीले बताए। उनका अनुसार अहिले अबरोध हटाउन बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँसँग समन्वय गरेर समाधान निकालिने काम भइरहेको बताए।
सडक सञ्चालन नहुँदा मार्तडीका स्थानीय सबैभन्दा बढी समस्यामा छन्। आवतजावत गर्न समस्या त छँदैछ। दसंैंको मुखमा सामानको भाउ पनि अकासिएको छ। ‘माथिबाट पहिरो र तलबाट बूढीगंगा नदीको कटान जारी छ। यो समस्या चार वर्षदेखि भए पनि सरोकारवाला निकाय जिम्मेवार देखिएका छैनन्। दुर्गमको समस्यालाई सबैले हेला गरे’ मार्तडी हाटबजार ब्यबस्थापन समितिका अध्यक्ष चक्र मल्लले भने।
दसैंमा अकासियो सामानको मूल्य
चार महिनादेखि सडक बन्द भएपछि सदरमुकाम मार्तडीमा उपभोग्य सामानको मौज्दात सकिएको छ। जसका कारण दसैंको मुखमै दैनिक उपभोग्य सामानको मूल्य अकासिएको छ। बल्देबाट भरिया वा खच्चडका माध्यमबाट सामान ढुवानी गर्नुपर्ने भएकले पनि सामानको भाउ अकासिएको हो। भरिया र खच्चडबाट सामान ढुवानी गर्दा सर्बसाधारण महँगोमा पर्ने गरेको व्यापारी हंसबहादुर सिंहले बताए। ‘चामल त नेपाल खाद्य संस्थानले साहुलियत पसल खोलेर सहुलियत दरमा बिक्री गरिरहेको छ। तर, अरू दैनिक उपभोग्य सामान अकासिएको छ’, सिहले भने।
बाटो बन्द नहुँदा १ सय रुपैयाँमा पाउने तेल १ सय ६० रुपैयाँमा खरिद गर्नुपर्छ। १ हजार ७ सयमा पाउने ग्यास सिलेन्डरको मूल्य बढेर २ हजार २ सय पुगेको छ। ५० रुपैयाँ किलो पर्ने काउलीको मूल्य ७०÷८० रुपैयाँ भएको बाजुरा सदरमुकाम मार्तडीमा होटल व्याबसायी गर्दै आएका मदन बोहोरा बताउँछन्। सडक खुलाउन चाडो पहल नगरे सर्वसाधारण ठूलो मर्कामा पर्ने उनले बताए।
बिरामीलाई समस्या
बाजुरा जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सको अभाव छ। सामान्य प्रसूतिका लागि पनि बाजुराबाट अछामको बयलपाटा लैजानुपर्ने अवस्था छ। अझ ठूलो रोग लागेका बिरामीलाई राम्रो अस्पताल लैजान हेलिकप्टर नै खोज्नुपर्ने बाध्यता छ। बाजुराका सबै जनाको आर्थिक अवस्था त्यत्ति धेरै रकम खोज्न सक्ने छैन।
‘बिरामीहरूलाई अछामको बयालपाटा अस्पताल, कैलाली, नेपालगन्ज, काठमाडांै रिफर गर्नुपर्छ। तर, चार महिनादेखि सडक बन्द छ। बिरामीहरूलाई धेरै समस्या छ’ जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले भने, ‘रिफर गरेका बिरामी जटिल खालका हुन्छन्। एम्बुलेन्स सडक नभएका कारण चल्दैन। स्टेचरमा बोकेर लग्नुपर्ने हुन्छ। सडक नबनेका कारणसाथै बिरामीहरूले समयमा उपचार पाइरहेका छैनन्।’ जिल्ला अस्पतालले जिल्लामा भएका उपकरणहरू बिगँ्रदा पनि मर्मतका लागि लैजान पाएको छैन। ‘औषधिहरू ढुवानी गर्दा भरियामार्फत गर्नुपरेको छ। वर्षात्को समय भएकाले औषधि भिज्ने बिग्रने समस्या झेल्नु परेको छ’ जिल्ला अस्पताल बाजुराका प्रमुख, डाक्टर मिलन जैशीले भने।
अन्योलमा वैकल्पिक मार्ग
पाँच वर्षदेखि लगातार वर्षात्को समयमा साँफेबगर–मार्तडी राजमार्ग अबरुद्ध छ। तर, त्यसको वैकल्पिक राजमार्गको पनि उपाय खोजिएको छैन। ‘वैकल्पिक उपाय कतैबाट खोजिएको छैन। नागरिकका दुःख के सरकारले बुझ्नुपदैन’, नागरिक समाज बाजुराका अध्यक्ष मदनराज जैशी प्रश्न गर्छन्।
नागरिक समाजको पहलमा गतवर्ष संघीय संसद् लालबहादुर थापा, तत्कालीन प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, अर्थसचिव, जिल्लाबाट नेतृत्व गर्ने केन्द्रीय र जिल्लास्तरका नेता, बाजुरा जिल्लाका नौवटै पालिकाका प्रमुख, जिल्लास्थित अन्य सरोकारावालहरूसँग वैकल्पिक सडकका बारेका छलफल चलाइएको थियो। तर, कसैले पनि बाजुरावासीको दुःख नदेखेको जैशीले बताए।
डिमालिका नगरपालिकाका निर्वतमान नगरप्रमुख पदम बडुवालले बन्द सडकका कारण बाजुराली नागरिकले धेरै दुःख पाइरहेको बताए। ‘स्थानीय निकायसँग वैकल्पिक मार्गका लागि मुआब्जा दिन, घरखेतको क्षतिपूर्ति दिन र सडक नै बनाउन बजेट हँुदैन। यो कुरा प्रदेश र संघ सरकारले हेर्नुपर्ने हो तर कसैले हेरेनन्,’ उनले भने।
बूढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बल्देदेखि द्वारीसम्मको सडकको वैकल्पिक मार्गका रूपमा वडा नम्बर २ को कन्सन बाजुरा अनाथालयको नजिकैबाट ट्रयाक ओपन गर्ने गरी सडकको शिलान्यास गराएका थिए। जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले उक्त वैकल्पिक मार्गको शिलान्यास पनि गरे। बिगतका वर्षहरूमा मुआब्जा माग्दै आएका अमकोट भन्ने गाउँका बासिन्दाले जग्गाको मुआब्जा नलिने पनि भने। ३ किलोमिटरको सडकको ट्र्याक खोल्न साउनदेखि काम पनि सुरु भयो। २ किलोमिटर ट्र्याकमा काम पनि भयो। तर, अरू स्थानीय तहहरूले त्यसमा बजेट नहाल्दा त्यो काम अहिले अलपत्र परेको छ।
सडक बनाउन अझै पहल
पुरानै भत्किएको स्थानमा सडक बनाउन सकिन्छ वा सकिँदैन भन्ने विषयमा विज्ञको टोलीले पनि बाजुरा पुगेर अनुगमन गरेको छ। त्यस समितिको अन्तिम रिपोर्ट भने नआएको सडक डिभिजन कार्यालय साफेबगरका प्रमुख बिबेक बस्नेतले बताए। ‘नयाँ ठाउँमा सडक बनाउन र घरजग्गा सम्पत्तिको मुआब्जा दिनुपर्छ। अरू पनि समस्या आउन सक्छन्, त्यसैले विज्ञहरू बोलाएर पुरानै स्थानको सडकको अध्ययन गराईएको हो। दसैं र तिहारको बीचमा त्यो समितिको प्रतिवेदन आउनुपर्छ। त्यो प्रतिवेदनका आधारमा मात्रै वैकल्पिक माग खोज्ने वा पुरानै स्थानमा लगानी गर्ने भन्ने कुराको टुंगो हुन्छ’ सडक डिभिजन प्रमख बस्नेतले भने।
बिक्री केन्द्रमा चामल अभाव
बाजुराको हिमाली गाउँपालिका–५ कवाडीमा रहेको अस्थायी बिक्री केन्द्रमा असारदेखि चामल छैन। दसैंको मुखमा चामल नपाएपछि स्थानीय समस्यामा छन्। त्यहाँ चामल ढुवानीका लागि सरकारले अनुदान दिन्छ। तर, ढुवानीको ठेक्का पाएका ठेकेदारले सडक अवरुद्ध हुनु अगाडि त्यो ढुवानी नगरेपछि चामलको अभाव भएको हो।
‘कवाडी अस्थायी बिक्री केन्द्रमा असार चामल छैन, दसैंको मुखमा चरम खाद्य संकट भएको छ’ हिमाली गाउँपालिका–३ का धनलाल रोकायाले भने। अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाउँपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ। बिक्री केन्द्रमा चामल नपाउँदा बजारको महँगो चामल खरिद गर्नुपरेको स्थानीयले बताए।
गत जेठमा त्यहाँ चामल सकिएको थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धनगढीस्थित प्रदेश गोदामबाट एलबी कन्ट्रक्सनका सञ्चालक लोकेन्द्र भण्डारीले १ हजार क्विन्टल चामल कबाडी डिपोका लागि ढुवानीको ठेक्का पाएको थियो। तर, उसले साँफे–मार्तडी सडक अबरुद्ध भएकोे कारण देखाउँदै ढुवानी नगरेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए।
यो आर्थिक वर्षमा २ हजार ५ सय कुन्टल चामल बिक्री केन्द्रका लागि ढुवानी गर्नुपर्ने भए पनि अहिलेसम्म ठेक्का हुन नसकेको मार्तडी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए। डिपोमा चामल जाने कुनै ठेगाना नभएपछि दशै तिहारलगायतका चाडपर्व महँगोमा मनाउने भएका छन्।
साँफे–मार्तडी सडक र मार्तडी–कोल्टी सडकको बिभिन्न ठाउँमा सडक अबरोध हुँदा व्यापारीले पनि महँगो भाडा तिरेर बिक्रीका लागि चामल ढुवानी गरिरहेका छन्। बिक्री केन्द्रमा तीन महिनादेखि चामल अभाव हुँदा पनि बिक्री केन्द्रमा चामल व्यवस्थापन गर्न कतैबाट पहल नभएको पाइएको स्थानीय देवीलाल बुढ्थापाले बताए।
प्रतिक्रिया दिनुहोस !