फाइनलमा इनारपाटीले जित्यो खसी
नुवाकोट : नुवाकोटको पिपलटारमा सञ्चालित दोस्रो बडादसैं कप जिल्लास्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ।
खेलाडीहरूको पहिचान तथा खेलको प्रवर्द्धन गर्नका लागि लामिबगैंचा सामाजिक युवा क्लबको आयोजनामा सम्पन्न सो प्रतियोगितामा इनार पाटी युवा क्लव विजेता भएको छ।
उपविजेता कोलोनी युथ सर्कलले २५ किलोग्रामको खसी पाएको छ। प्रतियोगिताका विजेता र उपविजेताले खसीका साथमा मेडल र प्रमाणपत्र पाएका छन्।
प्रतियोगिताको विजेता तथा उपविजेताहरूलाई पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा तामाङले सम्मान गरेका थिए।
उनले खेलले मानव जीवनलाई सत्मार्गका साथै अनुशासित बनाउने भएका कारण यसको विकास तथा संवर्द्धनको जरुरी रहेको बताए।
विदुर नपाका मेयर राजन श्रेष्ठले मानव जीवनमा खेलले परिवर्तन सिकाउने र खेल जगतको विकास र विस्तारका लागि आवश्यक कदम चाल्ने बताए।
प्रतियोगितामा उत्साहजन रूपमा खेलाडी तथा क्लबहरूको सहभागिता रहेको आयोजक पिपलटार सामाजिक युवा क्लबले जनाएको छ। नेपाल सितोरियो कराते संघका अध्यक्ष तथा कांग्रेस नुवाकोटका उपसभापति राजु थापाले खेलबाट मानवलाई अनुशासित, सभ्य तथा स्वास्थ रहन सिकाउने भएकाले विद्यार्थी जीवनदेखि नै यसको विस्तार गरिनुपर्ने बताए।
आयोजक क्लबका अध्यक्ष सुजन गजुरेलका अनुसार क्लबले विभिन्न समयमा खेल प्रतियोगिता, सामाजिक कार्यका साथै रक्तदान समेत गर्दै आएको छ। प्रतियोगिता अवधिभर जय महांकाल युवा समूहले खेलमैदान सरसफाई गरेको थियो।
प्रतिक्रिया दिनुहोस !