बाँकेमा ३ मन्त्रीसहित ९९ जनाद्वारा उम्मेदवारी दर्ता
नेपालगन्ज : बाँकेमा नेपाल सरकारका दुई र लुम्बिनी प्रदेश सरकारका एक मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गरेका छन् ।
बाँके क्षेत्र नं. १ मा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सत्तागठबन्धन प्रतिनिधिको रुपमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत यमप्रसाद बास्कोटाले जानकारी दिए । बाँके क्षेत्र नं. १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकालसहित ११ जनाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । बाँके १ ‘क’ प्रदेश सभा सदस्यमा सांसद कृष्णा केसी नमूनाले माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गरेकी छन्् । त्यहाँ १० जनाले उम्मेदवारी दर्ता गरेका छन् । बाँके १ ‘ख’ प्रदेश सभा सदस्यमा भने ७ जनाको उम्मेदवारी परेको छ ।
बाँके क्षेत्र नं. २ मा नेपाल सरकारका यातायात तथा पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राईले जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । सत्तागठबन्धनको प्रतिनिधिको रुपमा नेकाका सुदीपनरसिंह राणा र एमालेको समर्थनमा राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाले उम्मेदवारी दर्ता गरेका छन् । बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नुमानन्द खनालले जानकारी दिए ।
बाँके २ ‘क’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवसहित १२ जना र बाँके २ ‘ख’ प्रदेश सभा सदस्यमा लुम्बिनी प्रदेश सरकारका वनमन्त्री सुरेन्द्र हमालले नेकाबाट उम्मेदवारी दर्र्ता गरेका छन् । यो क्षेत्रमा पनि १२ जनाको उम्मेदवारी परेको छ ।
बाँके क्षेत्र नं. ३ मा नेका सह-महामन्त्री किशोरसिंह राठौरसहित १० जनाकोे प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी परेको निर्वाचन सहायक निर्वाचन अधिकृत लोकबहादुर रावलले बताए । बाँके क्षेत्र नं. ३ ‘क’ प्रदेश सभा सदस्यमा नेपाल सरकारका पूर्वमन्त्री दलबहादुर सुनार स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी परेको छ । बाँके क्षेत्र नं. ३ ‘ख’ प्रदेश सभा सदस्यमा संविधानसभा सदस्य वादशाह कुर्मी (नेका)सहित १२ जनाको उम्मेदवारी परेको छ ।