जो पहुँचवाला, उही उम्मेदवार

जो पहुँचवाला, उही उम्मेदवार

काठमाडौं : निष्ठाको राजनीतिमा ‘खडेरी’ लागेको छ। दलहरूले राजनीतिक योगदानको अवमूल्यन गर्दै पहुँचवालालाई टिकट बाँड्न थालेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा नातागोता, पैसावाल, ‘अति’ समर्थक, ‘अति’ निकटस्थहरू हाबी देखिएका छन्। दलीय पहुँच भएका उद्योगी÷व्यापारी, ठेकेदार, नेताका आफन्त, माफिया, बिचौलियाको बोलवाला बढेको छ। 

सत्तामा पुग्न विचार, सिद्धान्त बिर्सिन्छन्। जस्तोसुकै सम्झौता गर्छन्। शक्तिको आडमा विधि प्रक्रिया मिच्ने प्रवृत्ति हावी छ। राजनीतिमा योगदान गरेका नेता, कार्यकर्ता छाडी दलीय नेतृत्वले व्यापारी, उद्योगी, ठेकेदारलाई च्याप्ने गरेका छन्। उनीहरूले नै पार्टी चलाइरहेको अवस्था छ। निष्ठावान इमान्दार नेता, कार्यकर्ता पाखा लगाइएका छन्। मुलुक दूषित राजनीतिक घनचक्करमा जकडिएको छ।

पैसा, पहुँच हुनेहरूले पार्टी फेरि–फेरि टिकट लिएका छन्। इमानदार नेता तथा कार्यकर्ता टिकटबाट बञ्चित भएका छन्। जेलनेल भोगेका, जनयुद्ध लडेका, संघर्षमा परिवार गुमाएकाहरूभन्दा शक्ति र पैसावालाको बोलवाला राजनीतिमा चल्न थालेको छ। जसकारण पार्टीका इमानदार, निष्ठावान नेताले बागी उम्मेदवारीसमेत दिएका छन्। कतिपय भने ‘तमासा’ हेरेर मौन बसेका छन्। पैसा र पहुँच नभएका नेता, कार्यकर्ता उपेक्षित भएका छन्। 

राजनीतिक विश्लेषक डा. लोकराज बराल सिद्धान्त र निष्ठाको राजनीति हराउँदै गएको बताउँछन्। राजनीतिमा स्वेच्छाचारिता बढेका कारण पार्टीहरूमा भाँडभैलो भइरहेको उनको तर्क छ। ‘यहाँ कुर्सीका लागि जे पनि सम्झौता गर्न नेताहरू लागेका छन्। यहाँ समानुपातिक समावेशी नारा मात्रै छ। पार्टीको सिद्धान्त निष्ठा सबै हराउँदै गएको छ’, उनी भन्छन्, ‘यो सबै नेतृत्वको कमजोरीले नै भएको हो।’ 

पार्टीहरूमा केही नेताको दबदबा भएकै राजनीति बिग्रिएको उनी बताउँछन्। राजनीतिमा व्यापारीलाई प्रोत्साहन दिनु राम्रो नभएको उनको तर्क छ। पुराना राजनीतिज्ञ नीलाम्बर आचार्य सिद्धान्त र निष्ठाको राजनीति ओझेलमा परेको बताउँछन्। गठबन्धनका नाममा निष्ठा, सिद्धान्तको अबमूल्यन भएको उनको तर्क छ। 

‘बिना निष्ठा, सिद्धान्तका गठबन्धन भएका छन्। हिजो जसलाई ठूलाठूला आरोप लगाइयो उसैसँग हात मिलाउँछन्। तर, सिद्धान्त र निष्ठा ?’ आचार्य भन्छन्। 

उम्मेदवारी जनताको भावनाअनुसार नभएको उनी बताउँछन्। ‘जस्तो हुनुपर्ने हो, त्यस्तो भएको छैन। उम्मेदवार वितरणमा दुरुपयोग भएको छ। अझ समानुपातिकमा विकृति छ’, उनी भन्छन्, ‘मतदाताको अपेक्षाअनुसारको उमेदवारी नै छैन।’

काम गर्न सक्ने वा हिजो राम्रो काम गरेको त्यागीलाई टिकट दिएको भएको राम्रो हुने उनको भनाइ छ। उनका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी वितरणमा महिलाको प्रतिनिधित्व न्यून छ। चन्दा दिएको आधारमा उम्मेदवार बनाउने प्रवृत्ति गलत रहेको उनी बताउँछन्। 

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपाने यो व्यवस्थाकै खराबी भएको टिप्पणी गर्छन्। अहिलेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणालीबाट धेरै अपेक्षा गर्ने ठाउँ नरहेको उनको ठम्याइ छ। 
‘हामीले जुन व्यवस्था अगिंकार गरिरहेका छौं। जुन निर्वाचन प्रणालीलाई मापक बनाएका छौं। यो व्यवस्थाले तल्लो वर्गलाई समेट्छ भन्नु नै गलत हो। यो व्यवस्थाको चरित्र नै यस्तै हो। यसले यस्तै पात्र र चरित्रलाई खोज्छ’, न्यौपाने भन्छन्, ‘दुःख पाएका कार्यकर्ता, क्षमता भएका मानिस त यो व्यवस्थामा खोज्दै खोज्दैन। यसबाट धेरै अपेक्षा नगरौं। यो व्यवस्थामा अहिले जे भइरहेको त्यो पनि स्वाभाविक नै हो।’ यो व्यवस्था आदर्श मान्नेहरू नै मूल पार्टी भएकाले उनीहरूबाट ठूलो अपेक्षा राख्नु गलत भएको उनको तर्क छ।

अन्ततः पाखा 

देश र जनताका लागि जीवन समपर्ण गर्ने नेताहरू विभिन्न दलमा छन्। तर, उनीहरूको योगदानको कुनै मूल्यांकन हुँदैन। उनीहरू नेतृत्वको चाकडी, चाप्लुसी गर्दैनन्। जसकारण पनि पाखा लगाइन्छन्। 

सशस्त्र द्वन्द्व लडेका नेता, कार्यकर्ता माओवादीमा पाखा लगाइएका छन्। उनीहरूको नामोनिसान छैन। उनीहरू हरेक अवसरबाट बञ्चित छन्। धेरै अवसर नवप्रवेशीले लिइरहेका छन्। युद्ध लडेकाहरू कोही वैदेशिक रोजगारीमा गएका छन्। कोही यही दुःखका साथ जीविका चलाइरहेका छन्। तर, नेतृत्वले उनीहरूको वास्ता नै गरेका छैनन्। माओवादी उपमहासचिव हरिबोल गजुरेलदेखि युवा नेता लेखनाथ न्यौपानेसम्मले टिकट पाएनन्। 

पुराना कम्युनिष्ट नेता रामचन्द्र झाले गठबन्धनविरुद्ध वागी उम्मेदवारी दिएका छन्। बाँकेमा पुराना नेता दलबहादुर सुनारले टिकट पाएनन्। उनले वागी उम्मेदवारी दिएका छन्। उनीहरू दुवै जना एकीकृत समाजवादीमा थिए। 

जता अवसर त्यतै

आफू रहेको पार्टीले टिकट नदिएपछि रातारात पार्टी परिवर्तन गर्नेहरू धेरै देखिएका छन्। जसले टिकट दिन्छ उतै जाने प्रवृत्ति बढेको छ। लालबाबु सिंह भुइँहारले कांग्रेस छोडेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट टिकट लिएका छन्। लोसपा प्रवेशलगत्तै सिंह बारा ३ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्न पाएका हुन्। नेतृ चन्दा चौधरी लोसपा छोडेर कांग्रेसको समानुपातिकमा परेकी छन्। 

लोसपा छोडेर एमाले प्रवेश गरेका उमशंकर अगरिया धनुषा २ बाट उठेका छन्। अमृता अग्रहरी, रुही नाज जसपा छोडेर एमालेको समानुपातिकमा परेका छन्। मधेस प्रदेशमा चुनावको मुखमा पार्टी छोडेर टिकट लिने प्रवृत्ति बढी देखिएको छ। अन्य प्रदेशमा पनि टिकट नपाएका नयाँ पार्टी गएर टिकट लिनेहरू छन्।

इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकालाल चौधरी पार्टी फेरेर उम्मेदवार बनेका छन्। एमालेबाट माओवादीमा गएर उनले सुनसरी २(क)को टिकट लिएका हुन्। एमाले छोडेर माओवादी प्रवेश गरेका हरिबहादुर राना झापा २ मा उठेका छन्। उक्त क्षेत्रमा धर्मशिला चापागाईंको दाबी रहँदै आएको थियो। चापागाईंलाई पन्छाएर पार्टी प्रवेश गर्दा नगर्दै रानालाई टिकट दिइएको हो। राना एमालेबाट दुईपटक शनिश्चरे गाविस अध्यक्ष बनेका थिए। उनी एक पटक अर्जुनधारा नगरपालिका प्रमुख पनि भइसकेका हुन्।

बाँकेबाट प्रदेशसभामा माओवादी छोडेर आदेश अग्रवाल र अम्मर खड्काले जसपाको टिकट लिएका छन्। देशभर टिकटकै लागि पार्टी परिवर्तन गर्नेहरू धेरै छन्। कतिपय अवसरका पार्टी बदलिरहन्छ। जता अवसर पाइन्छ उतै जान्छ। नपाएमा फेरि त्यो पार्टी पनि छोड्छन् तर राजनीतिक दलको नेतृत्वहरूलाई बोकेर हिँडिरहेको हुन्छ। 

राजनीतिमा हरायो निष्ठाको नाता 

राजनीतिमा निष्ठाको नाता हराएको छ। निष्ठावान नेता, कार्यकर्ता राजनीतिबाटै पलायन हुँदै गएका छन्। पैसा, पहुँच, शक्तिवालले राजनीति गाँजेपछि राजनीतिबाटै देशको आमूल परिवर्तन गर्ने सपना देखेकाहरू निराश छन्। उनीहरूलाई हिजो सँगै लड्ेका नेताले वास्तै गर्दैनन्। चिन्दैनन्। देश बनाउन हिँडेका टाठाबाठाले अकुत सम्पत्ति आर्जन गरेका छन्। शक्ति, पैसा, पहुँचका भरमा मनपरी गरेका छन्। जनयुद्ध लडेका लोकेन्द्र विष्ट मगरलगायत नेता व्यवसायमा लागेका छन्। 

राजनीति नीतिगत भ्रष्टाचारको मूल जड

नीतिगत भ्रष्टाचारको मूल जडले राजनीति बनेको छ। चुनावमा भएका विकृतिले नीतिगत भ्रष्टाचार बढाएको जानकार बताउँछन्। सरोकारवाला नै आफू अनुकूलको नियम कानुन बनाउन हाबी देखिन थालेका छन्। व्यवसायी, उद्योगी, ठेकेरदार, बिचौलिया कानुन बनाउने ठाउँमा पुग्नु भनेको देशका लागि विडम्बना भएको विज्ञ बताउँछन्। जसले राज्यमा घाटा भएको छ। 

सुशासनविद् खेमराज रेग्मी राजनीतिलाई सजिलो माध्यमबाट कम लगानीमा अर्थोपार्जन गर्ने व्यवसायका रूपमा लिइएको टिप्पणी गर्छन्। ‘सबै तहतप्काको प्रतिनिधित्वक हुनु राम्रो हो। उनीहरूलाई विषय विज्ञका रूपमा समेट्न सकिन्छ। तर, यहाँ उद्योगी, व्यवसायी, ठेकेदार राजनीतिमा किन आउँछन् ? विषय विज्ञ हुन होइन ? विडम्बना, राजनीतिलाई कम लगानीमा सजिलो माध्यमबाट धेरै आम्दानी गर्ने व्यवसायका रूपमा लिएर नै उनीहरू राजनीतिमा आएका छन्’, रेग्मी भन्छन्, ‘देशका लागि यो दुर्भाग्य हो। दलाल, बिचौलियालाई ल्याएर जनताको अपमान गरिरहेका छन् दलहरूले।’ 

पार्टी र देशका लागि जीवन नै समपर्ण गरेकालाई पाखा लगाएर धन माध्यमबाट पहुँच बनाएर टिकट हत्याउने प्रवृत्ति यहाँ धेरै भएको उनको टिप्पणी छ। रेग्मी यो प्रवृत्ति राजनीतिलाई विकृत बनाएको भनाइ छ। टिकटको आशामा पार्टी प्रवेश गरेका कतिपयले टिकट नपाउँदा निरासा व्यक्त गरेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईं, कलाकार अभिनेत्री करिस्मा मानन्धरलगायतले टिकट पाएनन्। उनीहरूमा टिकट पाउने ठूलो आकांक्षा थियो।  

गठबन्धनका नाममा निष्ठा, सिद्धान्तको अवमूल्यन भएको छ। बिनानिष्ठा, सिद्धान्तका गठबन्धन भएका छन्। हिजो जसलाई ठूलाठूला आरोप लगाइयो उसैसँग हात मिलाउँछन्। तर, सिद्धान्त र निष्ठा ? यस्तै छ। टिकट वितरणमा दुरुपयोग भएको छ। 
नीलाम्बर आचार्य, राजनीतिज्ञ 

सिद्धान्त र निष्ठाको राजनीति हराउँदै गएको छ। राजनीतिमा स्वेच्छाचारिता बढेका कारण पार्टीहरूमा भाँडभैलो भइरहेको छ। नेताहरू कुर्सीका लागि जे पनि सम्झौता गर्न लागेका छन्। समानुपातिक समावेशी नारा मात्रै छ। यो सबै नेतृत्वको कमजोरीले भएको हो।
डा. लोकराज बराल, राजनीतिक विश्लेषक 

‘पाहुना’ नै शक्तिशाली 

पार्टीका इमानदार नेता कार्यकर्ताभन्दा ‘पाहुना’हरू शक्तिशाली देखिन थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रियपात्र बनेका छन् व्यवसायी उमेश श्रेष्ठ। पार्टीमा सल्लाह नै नगरी देउवाले श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाए। त्यसको  व्यापक आलोचना भयो। स्वास्थ्य मन्त्रालय अरूलाई दिएपछि श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री छन्। कांग्रेसबाट उनी चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। 

नेपालका एक मात्र अर्बपति हुन् विनोद चौधरी। उनी २०६४ मा एमालेबाट संविधानसभा सदस्य बने। पछि एमाले छाडेर कांग्रेसबाट २०७४ मा समानुपातिक सांसद बने। उनी नवलपरासी पश्चिम १ मा उम्मेदवार बनेका छन्।

श्रेष्ठ र चौधरीले टिकट पाउँदा कांग्रेसका बौद्धिक नेता डा. मीनेन्द्र रिजालजस्ता नेता चुनावी मैदानबाहिर छन्। अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, कांग्रेस केन्द्रीय सदस्य एवं अथशास्त्री गोविन्दराज पोखरेल, महेश आचार्य, दीपकुमार उपाध्यायलगायतले टिकट पाएका छैनन्। अर्का केन्द्रीय सदस्य दिनेश कोइराला बागी उम्मेदवार बनेका छन्। कांग्रेस नेतृ सुजाता परियार तीनपटक केन्द्रीय सदस्य हुँदा पनि आफूले टिकट नपाएको गुनासो गर्छिन्। 

एमालेमा आएका उद्योगी मोतीलाल दुगड र मेडिकल व्यवसायी दुर्गा प्रसाईं, कलाकार कोमल वली प्रिय भए। दुगड त मन्त्री हँुदै केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रमुख आर्थिक सल्लाहकार नै भए। दुगड र प्रसाईंले टिकट पाएनन्। तर, कलाकार वली दाङ ३ मा उम्मेदवार बनेकी छन्। राप्रपा नेपाला अध्यक्ष कमल थापा एमालेकै सूर्य चिह्न लिएर चुनाव लड्दै छन्। एमाले कार्यकर्तालाई पञ्छाएर थापालाई टिकट दिइएको छ।
पार्टी प्रवेश गरेलगत्तै पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले काठमाडौं ६ बाट टिकट पाएका छन्। एमालेले पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवाललाई ललितपुर १ मा पुनःउठाएको छ। 

भीम रावल, घनश्याम भुसालदेखि ओलीनिकट भनेर चिनिएका खिमलाल भट्टराई, पार्वत गुरुङ, आनन्द पोखरेल, नविना लामालगायत नेताले टिकट पाएनन्। दोलखाबाट गुरुङ र पोखरेलले नपाउँदा व्यवसायी बालकृष्ण सिवाकोटी उम्मेदवार बनेका छन्। 

समानुपातिक सूचीमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई एमालेले उम्मेदवार बनाएको छ। उनी जनजाति समूहको पहिलो नम्बरमा सिफारिसमा परेका छन्। कांग्रेस संगठन विभाग उपप्रमुखको जिम्मेवारी सम्हालिसकेका भट्टचन पार्टी फेरेर एमालेको सूचीबाट सिफारिस भएका छन्।

माओवादी केन्द्रमा व्यापारी, उद्योगी, ठेकदार, बिचौलियालाई च्याप्ने प्रवृत्ति हाबी छ। टिकट नपाएपछि काठमाडौं १० मा माओवादी नेतृ अन्जना बिसुंखेले बागी उम्मेदवारी दिएकी छन्। 

माओवादीले विवादित व्यक्तिलाई टिकट दिएको छ। हुम्लाका छिरिङ डम्डोल लामा(कार्चेन) प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। उनी माओवादीको कोटाबाट कर्णाली प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका थिए। लामाले मूर्ति चोरेको अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवानासमेत तिरेका थिए। २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट १२ सय वर्ष पुरानो मूर्ति चोरी ल्याएको अभियोगमा दोषी ठहर भई लामाले कैद र जरिवाना भुक्तान गरेका थिए। तर, उनै लामा पहुँचका भरमा चुनावी मैदानमा उत्रिएका हुन्।

हामीले जुन व्यवस्था अंगीकार गरिरहेका छौं। जुन निर्वाचन प्रणालीलाई मापक बनाएका छौं। यो व्यवस्थाले तल्लो वर्गलाई समेट्छ भन्नु नै गलत हो। यो व्यवस्थाको चरित्र नै यस्तै हो। यसले यस्तै पात्र र चरित्रलाई खोज्छ। 
लेखनाथ न्यौपाने, नेता, माओवादी केन्द्र

सबै तहतप्काको प्रतिनिधित्व हुनु राम्रो हो। उनीहरूलाई विषय विज्ञका रूपमा समेट्न सकिन्छ। तर, यहाँ उद्योगी, व्यवसायी, ठेकेदार राजनीतिमा किन आउँछन् ? विडम्बना, कम लगानीमा सजिलो माध्यमबाट धेरै आम्दानी गर्ने व्यवसायका रूपमा लिएर नै उनीहरू राजनीतिमा आएका छन्। देशका लागि यो दुर्भाग्य हो ।
खेमराज रेग्मी, सुशासनविद्

नातावाद, परिवारवाद, सम्बन्धवाद हाबी 

निर्वाचनमा नातावाद, परिवारवाद, सम्बन्धवाद हाबी भएको छ। परिवारभित्रकै धेरैले टिकट पाएका छन्। धेरै पतिपत्नी उम्मेदवार बनेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का परिवारका तीन जनाले टिकट लिएका छन्। प्रचण्ड गोरखा २ बाट लड्दैछन्। बुहारी बिना मगर कञ्चनपुर १ र ज्वाइँ जीवन आचार्य मोरङ ६(क)मा उम्मेदवार भएका छन्।

गृहमन्त्री बालकृष्ण खाँण पतिपत्नी नै उम्मेदवार छन्। खाँण रूपन्देही ३ बाट उम्मेदवार छन्। उनकी श्रीमती केन्द्रीय सदस्य मञ्जु खाँणको नाम समानुपातिकमा छ। माओवादी स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बागलुङ २ मा उठेका छन्। उनकी श्रीमती बलावती शर्मा समानुपातिक सूचीमा छिन्। एमाले सचिव रघुवीर महासेठ दम्पती पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। महासेठ धनुषा ४ बाट र उनकी श्रीमती जुली महतो धनुषा ३ बाट उम्मेदवार बनेकी छन्।

माओवादी केन्द्रकै नेता महेश्वर गहतराज ‘अथक’ बाँके १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन्। उनकी पत्नी पार्वती पुन गहतराजको नाम लुम्बिनी प्रदेशसभाको समानुपातिक सूचीमा छ। माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन्। उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन्। 

जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन्। उनकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभाकै समानुपातिकको बन्दसूचीमा नाम छ। जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया २ बाट उम्मेदवारी दिएका छन् भने पत्नी रञ्जिता श्रेष्ठ कैलाली १ बाट चुनावी मैदानमा उत्रिएकी छिन्। श्रेष्ठ पार्टीको अध्यक्षसमेत हुन्। 

एमालेका महासचिव शंकर पोखरेल दाङ २ बाट प्रत्यक्षतर्फ चुनाव लडेका छन्। उनकी बहिनी मेनका पोखरेल प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन्। उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.