३३ लाख बढीको चिनी बरामद
परासी : भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो। ट्रकमा चिनी बोकेर लैजादै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो। एक ट्रकमा ४ सय २० बोराका दरले रहेको चिनी कूल ८ सय ४० बोरा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डीएसपी केशवराज थापाले जानकारी दिए।
कूल ४२ हजार केजी चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ। अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कूल मूल्य ९० लाख कायम गरिएको डीएसपी थापाले बताए। बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
पछिल्लो पटक जिल्लाका सीमा नाकाबाट अवैधरुपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ।