सहकारी कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा ४ जना पक्राउ

मलंगवा : सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुख साजन कार्कीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तीन जना भारतीय तथा एक जना नेपाली नागरिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा भारतका बिहार राज्य जिल्ला शिवहर थाना छप्रा ग्राम पंचायत तरयानी छप्रा-८ का भुषण सिंहको १९ वर्षीय छोरा रेहान भन्ने आलोक सिंह, जिल्ला बैशाली थाना उद्योगी क्षेत्र ग्राम पंचायत सुलतानपुर-१० का अरबिन्द कुमार यादवको १९ वर्षीय छोरा सौरभ कुमार यादव, जिल्ला मोतिहारी थाना सिगारगंज ग्राम पंचायत हराज-१२ का अरुण सिंहको १९ वर्षीय छोरा गुलसन कुमार सिंह रहेका छन्।
त्यस्तै सर्लाही धनकौल गापा-१ का सोनफी सहनीको ३२ वर्षीय छोरा डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन्।
तीन जना भारतीय नागरिकलाई बुधबार मध्यराति बलरा नगपालिका-३ लक्ष्मीपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन्। नेपाली नागरिक धिरेन्द्र सहनीलाई धनकौल गाउँपालिका-१ बाट पक्राउ गरेको छ।
प्रहरी देखेपछि सहनी नहरमा हाम फालेर भाग्न खोजेका थिए। उनलाई पक्राउ गर्नका लागि प्रहरीलाई गोली समेत चलाउनु परेको थियो।
प्रहरीको गोली सहनीको देब्रे खुट्टाको खुडाँभन्दा तल लागेको छ। गोली खुट्टा लागेर घाइते भएपनि उनी भाग्न अफल भएका थिए। घाइते सहनीको अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविन पोखरेलले लुटेराहरू एक दिन अगाडि पनि सहकारीमा आएर रेकि गरेको थियो।
मंगलबार कार्यालयमा पुगेर सबै वस्तुस्थिति थाहा पाएपछि भोलिपल्ट बुधबार आएर सहकारी लुट्ने प्रयास गरेका थिए। कर्मचारी कार्की मार्सल आटका खेलाडी भएका कारण लुटेराहरूसँग प्रतिकार गर्न सकेका थिए।
सामान्य व्यक्ति भएको भए तीन/तीन जनासँग प्रतिकार गर्न सक्दैन्थ्यो। सीसीटीभी फुटेज हेर्दा कार्की र लुटेराहरूसँग खुब घम्सा घम्सी भएको देखिन्छ।
प्रहरीले सहकारी कार्यालयबाट फायर भएको चार थान गोलीको खोकासमेत बरामद गरेको छ। गोली हेर्दा पेस्तोलमा प्रयोग हुने देखिन्छ।
लुटेराहरू गोली प्रहार गरी दक्षिणी क्षेत्र हुँदै भारत भाग्न सफल भएको थियो। सहकारीबाट केही लुट्न नपाएपछि उनीहरू फेरि हतियारहरू लुकाएर चोरी डकैती गर्न नेपाल पसेका थिए।
चाडपर्वको समयमा खर्च गर्न पैसा नभएपछि उनीहरू पैसाको जोहो गर्न लुटपाट गर्न नेपाल आएका थिए। तर, प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय मलंगवाको संयुक्त टोलीले निगरानी बढाएपछि उनीहरू पक्राउ परेका थिए।
उनीहरूलाई बाटोघाटो र अरू कुराको जानकारी सहनीले गराउँदै आएका थिए। पक्राउ परेकाहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिएका छन्।
बुधबार बिहान साँढे १० बजेतिर तीन जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए।
प्रतिकार गर्ने बितिकै लुटेरा समूहले कार्कीमाथि गोली प्रहार गरेको थियो। गोली कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको प्रहरीले जनाएको छ।
गोली प्रहार गरेपछि तीन जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका थिए। कार्कीको शरीरका विभिन्न तीन ठाउँमा गोली लागेको प्रहरीले जनाएको छ।
लालबन्दी नपा-२, जुटपानी का ३० वर्षीय कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
