सत्ता गठबन्धनले किन भन्यो मित्रवत् प्रतिस्पर्धा ?

सत्ता गठबन्धनले किन भन्यो मित्रवत् प्रतिस्पर्धा ?

काठमाडौं : सत्तारुढ दलहरू गठबन्धनबाटै चुनावी मैदानमा उत्रिए पनि कतिपय ठाउँमा उनीहरूले एकले अर्काविरुद्ध उम्मेदवार खडा गरेका छन्। गठबन्धनले सहमतिका उम्मेदवार भनेर तय गरेको सूचीमा जसलाई ‘मित्रवत्’ भनिएको छ। 

प्रतिनिधिसभातर्फ धनुषा २ मा गठबन्धन दलकै दुई उम्मेदवार छन्। कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा चुनावी मैदानमा छन्। सर्लाही २ मा माओवादीबाट महिन्द्र राय यादव र लोसपाबाट राजेन्द्र महतो मित्रवत् प्रतिस्पर्धा हुने भनिएको छ। काठमाडौं १० मा कांग्रेसबाट राजेन्द्रकुमार केसी र माओवादीबाट अञ्जना विशंखे प्रतिस्पर्धामा छन्। जबकि उक्त क्षेत्रका प्रदेशसभामा पनि गठबन्धन कायम भएको देखिँदैन। 

प्रदेशसभातर्फ ११ क्षेत्रमा ‘मित्रवत्’ भन्दै गठबन्धन दलकै उम्मेदवार एकार्काविरुद्ध प्रतिस्पर्धामा देखिएका छन्। आठ ठाउँमा छुट्टाछुट्टै उम्मेदवारी दिएकामा उम्मेदवार सूचीमा ‘छलफल जारी’ भनिएको छ। 

राजनीतिशास्त्री प्रा.डा. जनार्दन आचार्य जनतालाई गुमराह गर्न यस्ता शब्दावली आउने गरेको टिप्पणी गर्छन्। ‘विकसित देशको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा हुन्छ। तर, हाम्रो देशमा यस्ता कुरा जनतालाई गुमराह पार्न मात्रै गरिन्छ’, प्रा.डा. आचार्य भन्छन्, ‘यहाँ त उठबस गर्न, लेनदेनमा खाइपिई मित्रवत् हुन्छ। अरू बेला गालीको वर्षा नै गरिन्छ।’ 

राजनीतिमा शिष्टाचार आवश्यक रहेको उनको ठम्याइ छ। ‘अभिव्यक्ति मित्रवत् देखिनुपर्छ भनेर मात्रै हुँदैन। सामाजिक सञ्जालमा गालीगलौज हुन्छ तर मित्रवत् भनेर हुन्छ ? उनी भन्छन्, ‘राजनीतिमा शिष्टाचार, सदाचार आवश्यक छ।’ 

नेपाली बृहत् शब्दकोषमा ‘मित्रवत्’को परिभाषामा लेखिएको छ, ‘मित्र जस्तो, साथी समान’। त्रिभुवन विश्वविद्यालय नेपाली विषयका प्राध्यापक लालनाथ सुवेदी मित्रजस्तै सद्भाव राखेर, परस्पर व्यक्तिगत गाली, टिकाटिप्पणी नगरी नीतिगत र सैद्धान्तिक विषय उठाएर गरिने प्रतिस्पर्धा नै मित्रवत् भएको बताउँछन्। 

गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबै क्षेत्रमा भागबन्डा गरेर साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो। केही ‘रणनीतिक’ क्षेत्रमा भने एकले अर्को दललाई स्वीकार गर्न नसक्ने अडान लिए। त्यस्ता क्षेत्रमा आआफ्ना पार्टीका उम्मेदवार कायमै राखेका देखिएको छ। साझा उम्मेदवार बनाउन नसकेपछि नयाँ शब्दको चयन गरे, मित्रवत् प्रतिस्पर्धा। अर्थात्, जहाँ–जहाँ कुरा मिलेन, त्यहाँ–त्यहाँ आआफ्ना पार्टीका उम्मेदवार कायम राखेर प्रतिस्पर्धा गर्ने। सहमति जुट्न नसकेका क्षेत्रमा गठबन्धन दलले उम्मेदवारलाई ‘दबाब र प्रलोभन’मा उम्मेदवारी फिर्ता लगाउन सक्थे। तर, त्यसरी जाँदा पार्टीभित्र ‘ठूलै समस्या’ हुने सम्भावनाका कारण मित्रवत् प्रतिस्पर्धाको नीति लिइएको गठबन्धनका नेता बताउँछन्। 

काठमाडौं १० मा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पराजित गरेका थिए। २०७४ मा पनि केसीले उही क्षेत्रबाट चुनाव जिते। माओवादी अध्यक्ष प्रचण्डले केसीसँगको पुरानो ‘रिसईवी’का कारण आफ्नो पार्टीको उम्मेदवार कायमै राखेको त्यस क्षेत्रका कांग्रेस नेता बताउँछन्। उक्त क्षेत्रमा एमालेबाट हिमेशकुमार केसी प्रतिस्पर्धामा छन्। 

जबकि काठमाडौं १० मा प्रतिनिधिसभा मात्रै होइन, प्रदेशसभातर्फ पनि गठबन्धन कायम भएको देखिँदैन। काठमाडौं १० (क) मा कांग्रेसले पुकार महर्जनलाई उठाएको छ। माओवादीबाट दिलिप महर्जन उम्मेदवार छन्। यसलाई मित्रवत् भनिएको छ। गठबन्धनले काठमाडौं १० खमा एकीकृत समाजवादीकी रमा आले मगरलाई उम्मेदवार भनेको छ। तर, माओवादीबाट गणेशबहादुर कुँवर उठेका छन्। गठबन्धनको सूचीमा कुँवरको नाम छैन।

धनुषा २ मा  उठेका यादव र झा दुवै जना पुराना नेता हुन्। यादवले २०६४ र  २०७० मा जितेका थिए। झाले २०६४ सालमा धनुषा १ बाट जितेका थिए।  उनीहरूसँग यसपटक एमालेबाट उमाशंकर अरगरिया चुनावी मैदानमा छन्। अरगरियाले २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट जितेका थिए। 

सर्लाही २ मा लोसपा वरिष्ठ नेता महतो र नेपाल समाजवादी पार्टी (नेसपा)का नेता यादवबीच रोचक प्रतिस्पर्धा हुँदै छ। लोसपा र नेसपा दुवै दल गठबन्धनकै भागबाट चुनावमा छन्। नेसपाका उम्मेदवार माओवादीको चुनाव चिन्हबाट उठेका छन्। दुवै जना विगतमा एकै दलमा आबद्ध थिए। राष्ट्रिय जनता पार्टी बनाउने बेला महतो र यादव पार्टीका संयोजक भए। जनता समाजवादी पार्टी बनाउन उनीहरूको भूमिका छ। जसपा विभाजन भएर बनेको लोसपा बन्दा यादव गएनन्। पछि उनी डा. बाबुराम भट्टराईतिर लागे। 

गठबन्धनले यादव नै आधिकारिक उम्मेदवार भनेर विज्ञप्ति जारी गरेको थियो। त्यसमा महतोले असहमति जनाए। उम्मेदवारको सूचीमा भने उक्त क्षेत्रमा यादव र महतोलाई उम्मेदवार कायम गर्दै ‘मित्रवत्’ भनिएको छ। यसमा यादव असन्तुष्ट देखिएका छन्। 

सत्तारुढ दलहरू गठबन्धनबाटै चुनावी मैदानमा उत्रिए पनि कतिपय ठाउँमा एकले अर्काविरुद्ध उम्मेदवार खडा गरेका छन्। गठबन्धनले सहमतिका उम्मेदवार भनेर तय गरेको सूचीमा जसलाई ‘मित्रवत्’ भनिएको छ। यस हिसावले प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ११ निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने देखिन्छ। राजनीतिशास्त्री भने जनतालाई गुमराह गर्न यस्ता शब्दावली आउने गरेको टिप्पणी गर्छन्।

सर्लाही २ यी दुवै नेताको गृह क्षेत्र हो। तर, अघिल्लो निर्वाचनमा धनुषा ३ मा गएर महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए। गृह क्षेत्रमा भने यादव विजयी भएका थिए। जहाँ एमाले–जसपा तालमेलबाट राजनारायण साह  उम्मेदवार बनेका छन्। 

काठमाडौं ३ मा गठबन्धनबाट प्रतिनिधिसभातर्फ कांग्रेसका सन्तोष चालिसे उम्मेदवार छन्। जहाँ माओवादीका बद्रीप्रसाद बजगार्इंले उम्मेदवारी दिएका छन्। तर, उम्मेदवारको सूचीमा बजगाईंको नाम छैन। निर्वाचन आयोगको विवरणमा बजगाईंको नाम माओवादीकै उम्मेदवार भनेर राखिएको छ। उक्त क्षेत्रमा एमालेबाट कृष्ण राई चुनावी प्रतिस्पर्धामा छन्। 

काठमाडौंमा प्रदेशसभातर्फ चार क्षेत्रमा गठबन्धन दलबीच नै मित्रवत् प्रतिस्पर्धा हुने भनिएको छ। काठमाडौं ३ (ख) मा गठबन्धनबाटै कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल उम्मेदवार छन्। काठमाडौं ५ (ख) मा कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठको दुई जनाको उम्मेदवारी छ। काठमाडौं ६(ख) मा पनि गठबन्धन कायम भएको छैन। त्यहाँ कांग्रेसबाट  विष्णुभक्त तिमिल्सिना र माओवादीबाट प्रकाश फुँयाल प्रतिस्पर्धामा छन्। 

  •     संघका ३ र प्रदेशसभाका ११ निर्वाचन क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा 
  •     गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवारी परेका प्रदेशसभाका ८ क्षेत्रमा ‘छलफल जारी’ 

मधेस प्रदेशअन्र्तगत बारा १ (ख)मा कांग्रेसबाट नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीबाट बतहु यादव, पर्सा ३(ख)मा कांग्रेसबाट जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीबाट प्रल्हाद गिरीको उम्मेदवारी परेको छ। लोसपा नेता गिरी टिकट लोभमा एमाले प्रवेश गरेका थिए। तर, जसपासँग गठबन्धन गर्दा एमालेको भागमा नपरेपछि गिरी एकीकृत समाजवादीमा गएर उम्मेदवार बनेका हुन््। सर्लाही १(क) मा माओवादी र लोसपा दुवै दलबाट उम्मेदवारी कायम छ। माओवादीले रामचन्द्रसिंह कुसवाहा र लोसपाले उपेन्द्र महतोलाई उठाएका छन्। 

लुम्बिनी प्रदेशमा बाँके २ का दुवै प्रदेशसभा क्षेत्रमा गठबन्धनको मित्रवत् प्रतिस्पर्धा हुने भनिएको छ। बाँके २(क) मा कांग्रेसबाट राजकुमार वर्मा र एकीकृत समाजवादीबाट समसद्दिन सिद्दिकी उम्मेदवार छन्। बाँके २(ख)मा कांग्रेसबाट सुरेन्द्र हमालको उम्मेदवारी परेको छ। त्यहाँ पनि गठबन्धनकै माओवादीले आफ्नै उम्मेदवार उठाएको छ। माओवादीबाट अक्कलबहादुर बम उम्मेदवार छन्। उक्त क्षेत्रमा एमाले निरकबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ।

सत्तारुढ गठबन्धनभित्रका कांग्रेस  र एकीकृत समाजवादीले नै कञ्चनपुर २(ख)मा प्रतिस्पर्धा गर्दै छन्। कांग्रेसका बहादुरसिंह थापा र एकीकृत समाजवादीका लालबहादुर खड्का प्रतिस्पर्धा उत्रिएका छन्। कञ्चनपुर ३ (क)मा एकीकृत समाजवादीका प्रकाश रावल र माओवादीका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत् प्रतिस्पर्धा हुने गठबन्धनको सूचीमा उल्लेख छ। केही क्षेत्रमा भने टुंग्याउन बाँकी देखिएको छ। जसमा गठबन्धनले ‘छलफल जारी’ भनेको छ। गठबन्धन भए पनि छुट्टाछुट्टै उम्मेदवारी परेपछि समझदारी कायम गर्ने काम भइरहेको नेताहरू बताउँछन्। सिरहा ३ (ख)मा गठबन्धनका बीचमा समस्या देखिएको छ। कांग्रेसबाट सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीबाट प्रमोद यादवको उम्मेदवारी परेको छ। 

महोत्तरी २(क)मा एकीकृत समाजवादीकी मञ्जु यादव र लोसपाका जयनुल राइन दुवैले उम्मेदवारी दिएपछि समस्या भएको हो। स्याङजा २(क)मा कांग्रेसका भोजराज अर्याल र एकीकृत समाजवादीका रामचन्द्र भट्टराईबीच कसलाई गठबन्धनको उम्मेदवार मान्ने भन्ने विषयमा टुंगो लागेको छैन। कपिलवस्तु १(ख)मा कांग्रेसका सहसराम यादव र एकीकृत समाजवादीका फजलुर खान कसलाई आधिकारिक बनाउने भन्नेमा गठबन्धनबीच सहमति हुन सकेको छैन। यो समस्या हुम्ला (क)मा देखिएको छ। माओवादीले रनसिंह परियार र एकीकृत समाजवादीले हस्तबहादुर शाही कसलाई निष्क्रिय बनाउनेबारे छलफल जारी छ। 

सुर्खेत २ का दुवै प्रदेशसभा क्षेत्रमा विवाद देखिएको छ। सुर्खेत कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो। सुर्खेत २(क) मा कांग्रेसका कालीप्रसाद शाक्य र एकीकृत समाजवादीका शिवप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ।  सुर्खेत २(ख) माओवादीका विन्दमान विष्ट, एकीकृत समाजवादीका मोहन बडुवालको उम्मेदवारी छ। उनीहरू आआफू नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको प्रचार गरिरहेका छन्। 

बाजुरा ‘क’  मा एकीकृत समाजवादीका नरेश शाही र माओवादीका कर्णबहादुर विश्वकर्मा उम्मेदवार छन्। त्यहाँको विवादले निकास पाउन सकेको छैन। बाँके क्षेत्र ३(क)मा पनि समस्या देखिएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार बनेका दलबहादुर सुनारलाई माओवादीको एउटा पक्षले पार्टी भित्राएर आधिकारिक उम्मेदवार भएको भन्दै प्रचार गरेको छ।

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी सहइन्चार्ज रहेका सुनार आफूलाई गठबन्धनको उम्मेदवार बनाउने भनेपछि माओवादीमा प्रवेश गरेका छन्। तर, त्यहाँ गठबन्धनले माओवादीका इन्द्रप्रसाद खरेललाई गठबन्धनले आफ्नो उम्मेदवार भनेको छ। 

विकसित देशको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा हुन्छ । तर, हाम्रो देशमा यस्ता कुरा जनतालाई गुमराह पार्न मात्रै गरिन्छ । यहाँ त उठबस, लेनदेनमा खाइपिइ मित्रवत् हुन्छ । अरू बेला गालीको वर्षा नै गरिन्छ । 
प्रा.डा. जनार्दन आचार्य, राजनीतिशास्त्री


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.