कर्णालीमा गठबन्धनलाई चुनौती दिँदै बागी
सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनलाई बागी उम्मेदवारहरू नै चुनौती बन्ने देखिएको छ। गठबन्धनमा भागबण्डा मिलाउँदा टिकट नपाएकाहरूले बागी उम्मेदवारी दिएका छन्।
गठबन्धनभित्रकै दलका नेताहरूले धमाधम स्वतन्त्र उम्मेदवारी दिएका कारण आधिकारिक उम्मेदवारहरूलाई हम्मेहम्मे पर्ने देखिएको हो।
कालिकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता शाहीलाई आफ्नै पार्टीका नेता बरालले बागी उम्मेदवारी दिएर चुनौती दिएका छन्।
जिल्लाको रास्कोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका बरालको उम्मेदवारिका कारण नेता शाहीको मत काटिने त्रासमा सत्ता गठबन्धन रहेको छ।
बरालले आफूले जित्ने दाबी गरिरहँदा नेता शाहीले भने गठबन्धनको मतले आफूलाई राहत पुग्ने अपेक्षा गरिरहेका छन्।
यस्तै गठबन्धनको तर्फबाट जुम्लाको प्रदेशसभा (क) का उम्मेदवार ललितजंग शाहीविरुद्ध उनकै सहयात्रीबाट बागी उम्मेदवारी परेको छ।
कांग्रेसको कर्णाली प्रदेश समितिका सभापति रहेका ललितजंग सत्ता गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार बनेका छन्। तर उनीविरुद्ध कांग्रेसकै नेता देवेन्द्र शाहीले बागी उम्मेदवारी दिएका छन्।
देवेन्द्र यसअघि २०७४ मा प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार बने पनि तत्कालीन बाम गठबन्धनसँग पराजित भएका थिए।
जिल्लामा बलियो जनाधार रहेको र पार्टीका अधिकांश कार्यकर्ता पनि उनकै पक्षमा रहेकाले देवेन्द्र आधिकारिक उम्मेदवार ललितजंगका लागि चुनौती बन्ने गठबन्धनकै नेताहरू बताउँछन्।
यस्तै सल्यानबाट प्रतिनिधिसभाका लागि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाविरुद्ध कांग्रेसका राजेन्द्रबहादुर शाहले बागी उम्मेदवारी दिएका छन्।
पूर्व राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शाहले बागी उम्मेदवारी दिएपछि गठबन्धन त्रासमा छ। रुकुमपश्चिमबाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी उम्मेदवारी दिएका छन्।
शर्मा गठबन्धनको आधिकारिक उम्मेदवार भए पनि कांग्रेसलाई टिकट नदिइएको भन्दै केसीले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
हुम्लामा गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार रणसिंह परियारविरुद्ध काँग्रेसका मंगल शाही र एकीकृत समाजवादीका हस्त शाहीले उम्मेदवारी दिएका छन्।
यद्यपी यहाँ पाँच दलीय गठबन्धनले उम्मेदवारीबारे छलफल जारी रहेको जनाएको छ। जुम्लाको प्रदेशसभा (ख) मा गठबन्धनका पदम रोकायाविरुद्ध कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन्।
यसैबीच मुगुमा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध एमालेकै दुई जनाले बागी उम्मेदवारी दिएका छन्।
मुगुबाट प्रतिनिधिसभाका लागि एमालेका आधिकारिक उम्मेदवार राजु कार्की भए पनि एमालेकै नेताहरू कृष्ण सेजुवाल र भीमचन्द्र हमालले बागी उम्मेदवारी दिएका छन्।
गठबन्धन भित्रका दलबाटै बागी उम्मेदवार मैदानमा उत्रिएपछि आधिकारिक उम्मेदवारलाई चुनौती थपिएको हो।
प्रतिक्रिया दिनुहोस !