गुगलडाँडामा झुल्केघाम
रोङ गाउँपालिकाले निर्माण गरेको करसोङ पदमार्गले गुगल प्वाइन्टलाई छोएपछि पर्यटकको आकर्षण बढेको छ। मेची राजमार्गको काखमा रहेको गुगल डाँडा पर्यटकको रोजाइमा पर्न थालेको हो।
झुल्केघाम भनेपछि धेरैको मनमा इलामको अन्तु डाँडाको सम्झना आउँछ। अहिले सबैभन्दा राम्रो सूर्योदयको दृश्य देखिने समय पनि हो।
अन्तुजस्तै सूर्योदयको दृश्यावलोकनको मज्जा लिन इलाम आउने पर्यटकको रोजाइमा पर्न थालेको छ रोङ गाउँपालिका— ३ को गुगलडाँडा। सूर्योदयको दृश्यसँगै कञ्चनजंघा हिमालसहित हिमाली शृंखला र तराईको फाँटसमेत एक ठाउँबाट हेर्न सकिन्छ। त्यसैले पर्यटकको रोजाइमा गुगल चुचुरो पर्न थालेको हो।_20221105112339.jpg)
रोङ गाउँपालिकाले गुगल डाँडा, रोङ— ६ को झण्डीडाँडासहितका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धनका लागि चासो दिएसँगै पर्यटकको चाप बढेको रोङ— ३ का वडाध्यक्ष मातृका बराल बताउँछन्। उनका अनुसार गुगल डाँडाबाट इलामका अधिकांश गाउँपालिकासहित आकर्षक पर्यटकीय छटाको अवलोकन गर्न पाइन्छ। झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाले सूर्योदय दृश्यावलोकनका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान बनायो। त्यसपछि स्थानीय बासिन्दासमेत त्यसको व्यवस्थापनमा छन्।
रोङ गाउँपालिकाले निर्माण गरेको करसोङ पदमार्गले गुगल प्वाइन्टलाई छोएपछि पर्यटकको आकर्षण बढेको अध्यक्ष बराल बताउँछन्। उनका अनुसार डोको आकारको डाँडाबाट प्रदेश–१ का सबै हिमशृंखला देखिन्छन्। नजिकै रहेका कन्याम चियाबारीका साथै हाँसपोखरी, पाथीभरा देवीको मन्दिर क्षेत्र समेटेर नयाँ गन्तव्यको रूपमा गुगल डाँडालाई विकास गर्न सकिने सम्भावना देखिएको छ।
पहिलोपटक गुगलडाँडा पुगेका इलाम नगरपालिका— १० का वडाध्यक्ष दिलीप प्रधानले पनि कतिपय दृश्य अन्तुबाट भन्दा राम्रो देखिएको बताए। नेपाल सरकारको नापी विभागले यही ठाउँलाई आधार बनाएर नक्सांकनको कार्य गरेकाले पनि यसलाई गुगल प्वाइन्ट भनिएको हो। १ हजार ८ सय २५ मिटर उचाइमा रहेको गाउँपलिकाको वडा नम्बर ३ मा पर्ने भूमापन केन्द्र रहेको गुगल डाँडामा पर्यटकको अकर्षण बढेसँगै गाउँपालिकाले समेत त्यस क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो बताउँछन्।-2_20221105112339.jpg)
इलामको कन्याम चिया बगान र सानो पाथीभरा मन्दिरको बीच भागमा रहेको गुगल डाँडामा पुग्न इलामका अन्य भित्री पर्यटकीय गन्तव्यभन्दा मेची राजमार्गको काखमा रहेको गुगल डाँडा पर्यटकको रोजाइमा पर्न थालेको हो।
प्रतिक्रिया दिनुहोस !