देहिजात मेला सम्पन्न
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा ‘देहिजात’ मेला सम्पन्न भएको छ । मंगलबार रातिदेखि रतेडी मेलाबाट सुरू भएको देहिजात मेला आज सम्पन्न भयो ।
बिहान ५ बजे ‘देउरो’ उग्रतारा मन्दिरमा पुगेर दिउसेडी मेला सुरु भएको हो । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार खनमडा, छचोडा, दुमडा र जिलोडावाट देउरो मन्दिरमा भित्रिएसगैं मेला सुरू हुन्छ । बुधबार भगवतीको पूजा बिहान चार बजेदेखि भएको थियो । दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु भई मेला लागेको अध्यक्ष साँकीले बताए ।
मनोकामना पूरा गर्न र पुत्रलाभ, धनलाभ, सुख शान्ति तथा अनिष्ट नाश गर्न र गृहशान्तिका लागि उग्रतारा मन्दिरमा पूजा गर्ने गरिन्छ ।
किम्बदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस !