मकवानपुरमा स्वच्छ र भयरहित तवरले निर्वाचन गर्छौँ : मुख्य निर्वाचन अधिकृत निरौला
हेटौंडा : मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जिल्लामा स्वच्छ, निस्पक्ष र भयरहित, तवरबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको बताएका छन्।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाअन्तर्गत फ्रि मिडिया नेटवर्कको आइबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चार क्षेत्रलगायतसँग समन्वय गरी तयारी पूरा गरिएको बताए।
सबैले आ-आफ्नो क्षेत्रबाट निर्वाचन आचारसंहिता पालना गर्न र निर्वाचन प्रभाभित हुने गतिविधि नगर्न निरौलाले आग्रह गरे। आचारसंहिता विपरीतका गतिविधि गरेको पाइएमा कानून बमोजिम कारबाहीका लागि सिफारिस गरिने उनले बताए।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारहरूले आचारसंहिता पालना गरिरहेको र पालना गराउनका लागि महासंघ प्रतिवद्ध रहेको बताए।
निर्वाचन आयोगले क्षेत्राधिकारभन्दा बाहिर गएर मिडियालाई लिखित स्पष्टिकरण सोध्ने, समाचार हटाउन निर्देशन दिने जस्ता गतिविधि गरेको भन्दै उनले आपत्ती जनाए।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निर्वाचन र मतगणनाको समाचार संकलनका लागि पत्रकारहरूलाई सहज वातावरण बनाइने बताए।
पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बामदेव गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य सुनील खड्कालगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूले निर्वाचनलाई कसरी निस्पक्ष बनाउने भन्ने विषयमा आ-आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !