पैसाको प्रलोभनमा पार्लान नि !

पैसाको प्रलोभनमा पार्लान नि !

राजविराज : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मतदान गर्ने दिन आउन मात्रै ६ दिन बाँकी छ। उम्मेदवारहरू मतदाताको घरघरमा मत माग्न पुगेका छन्। निर्वाचन आयोगले प्रचार–प्रसार गर्न तोकेको समय सकिन ३ दिनमात्रै बाँकी छ। चुनावी गतिविधिलाई नजिकबाट नियालिरहेका विश्लेषक भन्छन्, ‘पछिल्लो समय निर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न ठूला आश्वासन मात्रै होइन, पैसाको प्रलोभनमा पार्नेक्रम बढेको छ।’

दलका घोषणापत्रमा लेखिएका प्रतिबद्धताले भन्दा पैसा र प्रलोभनले मतदाता आकर्षित गर्ने क्रम बढेको बताउँछन् राजनीतिज्ञ एवं विश्लेषक डम्बर खतिवडा। भन्छन्, ‘उम्मेदवारले विगतदेखि नै निर्णायक हुन पैसा र शक्तिको प्रयोग गर्छन्। मतदाता प्रभावित पार्छन्। यो क्रम नेपालमा अत्याधिक बढेको छ। चुनाव त्यसैले महँगो भएको छ।’

आयोगले प्रचारको समय कम दिएपछि उम्मेदवारहरू मतदातालाई प्रभाव पार्न जसरी पनि जित्ने रणनीति बनाउन लागेका छन्। अन्तिम अस्त्र प्रयोग गर्न उनीहरू गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरेर मतदातालाई प्रभाव पार्ने, सत्ता, शक्ति र पैसाको प्रलोभन देखाएर आफ्नो पक्षमा पर्ने क्रम पनि प्रत्येक जिल्लामा उच्च छ। मौन अवधिमा यो क्रम अझै उच्च हुने मतदाता नै बताउँछन्। राजविराजका एक मतदाता भन्छन्, ‘मौन अवधिमा रक्सी, मासु र पैसा बाँड्छन्। खाने कुरामा पनि यसअघि धेरै मतदाता विकेको देखेको छु।’

४८ घण्टा मौन अवधी हुने भएकाले यो समय दिनमा भन्दा रातमा पैसा र प्रलोभनको प्रभाव मतदातामा बढी पार्ने क्रम छ। अन्य दलभन्दा सक्तामा रहेका दल र उम्मेदवार सत्ता र शक्तिको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न लागेका हुन्छन्। प्रतिनिधि तथा प्रदेशसभाको मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरूको ध्यान नै अब पैसा बाँड्ने समय भयो भन्नेमा हुने एक उम्मेदवार नै ठट्यौली पारामा भन्छन्। ‘मौसम नै यस्तै छ। चुनाव जित्न सबै अस्त्र प्रयोग गर्नुपर्छ,’ ती उम्मेदवार भन्छन्, ‘चुनाव त्यसैले महँगो भएको छ।’

चुनावी सरगर्मी तातेको छ। उम्मेदवारको प्रतिस्पर्धाले तातेको वातावरणलाई शान्त पार्ने समयका रूपमा लिइन्छ मौन अवधि। तर, यही अवधिमा ‘कानेखुसी प्रचार–प्रसार’ हुन्छ। पैसाको चलखेलमा मतदातालाई प्रलोभनमा पारिन्छ। यो क्रम मौन अवधि अघि नै सुरु भएको भेटिएको छ। यसबाट मतदाता जोगिनुपर्छ।

मौसममा चिसोपना बढ्दै गएको छ। राजनीतिमा भने राप बढ्दै छ। मतलाई आफ्नो पक्षमा पार्न आचारसंहिताको उल्लंघन पनि उत्तिकै हुने गरेको छ। उम्मेदवारहरू हरतरहले मतदाता प्रभावित पार्न सक्रिय देखिएका छन्। भारतीय नम्बर प्लेटका गाडीको र माइकिङको प्रयोग पनि बढ्दै गएको छ। राजनीतिक दल र उम्मेदवारहरू आफूलाई बलियो रूपमा प्रस्तुत गर्न तडकभडकमा उत्रिएका छन्। 

मतदाता केही सचेत भएकाले यसपटक उम्मेदवार बनेका दलका मुख्य नेता र राष्ट्रिय अध्यक्षसमेत आफ्नो निर्वाचन क्षेत्रमा चुनाव जित्न सबै अस्त्र प्रयोग गरेर केन्द्रित बनेका छन्। तर, मतदाता रिझाउन सबैभन्दा अन्तिममा प्रयोग हुने पैसाको अस्त्रले मत परिणाममा प्रभाव पार्ने गरेको बुद्धिजीवीहरूको भनाइ छ। 

भोजभतेर र पैसाको चलखेल उच्च

बागमती प्रदेशको चितवनदेखि मधेस प्रदेश हुँदै प्रदेश–१ को झापासम्म अन्नपूर्णको टिम पुग्दा त्यस क्षेत्रका मतदाता चुनावका बेला भोजभतेर र पैसाको चलखेललाई सामान्य नै मान्छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा बनाउन रक्सी, मासु र पैसा निर्णायक हुने विकट र पिछडिएको बस्तीका मतदाताहरू नै बताउँछन्। विगतमा विशेषतः सुकुमबासी, दलित, पिछडिएको क्षेत्रमा सबैभन्दा बढी यस्ता क्रियाकलाप हुने गरेको थियो। पछिल्ला निर्वाचनमा सचेत मतदातालाई त्यस्तै तरिकाले प्रलोभनमा पारिन थालेको चर्चा गाउँघरमा सुनिन्छ। राजनीतिक दल, नेताहरूप्रति बढेको वितृष्णाले पनि कार्यकर्ताहरूसमेत भोजभतेर, पैसाबिना प्रचार–प्रसारमा समेत हिँड्न गह्रो मान्न थालेको गाउँका वृद्धवृद्धा बताउँछन्। 

चितवनको विकट माडी क्षेत्रमा निर्वाचनको अन्तिम घडीमा दलहरूले साम, दाम दण्डको प्रयोग गर्ने गरेको मतदाताहरू बताउँछन्। उम्मेदवारहरूले भोट तान्न जुनसुकै हतकण्डा अपनाउने यहाँका स्थानीयको तर्क छ। स्थानीय सुरज न्यौपाने चुनावको अघिल्लो रात बढी मात्रमा पैसाको चलखेल हुने बताउँछन्। भन्छन्, ‘मतदातालाई प्रभाव पार्ने उच्च समय नै निर्वाचनको अघिल्लो रात हो। यो समय पैसाको चलखेल उच्च हुन्छ।’ 
धनुषाको विकट नगराइन नगरपालिका मुसहर बस्तीका बासिन्दालाई उम्मेदवारले रक्सी, मासु र थोरै पैसामा किन्ने गरेको स्थानीय बताउँछन्। ‘नेताहरू भोट माग्न मात्रै आउँछन्, त्यसैले मतदाता पनि केही कुराको आशा गर्छन्,’ सप्तरीको राजगढ गाउँपालिका ५ का अशोक साह भन्छन्। धनाढ्य नभए उम्मेदवार बन्ने सम्भावना नै नहुने उनी बताउँछन्। धन खर्च गर्नेलाई मात्र दलहरूले उम्मेदवार बनाउनुको कारण पनि त्यही भएको उनको बुझाई छ। भन्छन्, ‘यो बुझाई भेरो मात्रै होइन आम बुझाई हो।’

हिजोआज त टिकट लिन नै पैसा खर्च गर्ने चलन बढेको सिरहाको लहानका दिनेश देवको भनाइ छ। ‘निर्वाचनको मिति नजिकिए पछि जनताले मुखै खोल्नुपर्दैन उम्मेदवार आफैं भोज गर्न तँछाडमछाड गर्दै हिँड्न थाल्छन्,’ उनले भने। सर्लाहीका बुधन साहका अनुसार निर्वाचनका बेला सबैभन्दा धेरै चल्ने भनेकै मासु र मदिराको हो। रातिको भोजमा मात्र नभई दिउँसोको भण्डारामा समेत पछिल्लो समय मदिरा अनिवार्य हुन थालेको छ। 

  •     पछिल्लो समय पैसाको प्रलोभनमा मत तान्ने प्रयासमा उम्मेदवार लागेका छन् 
  •     विकास निर्माण र राम्रा प्रतिबद्घतामा भन्दा पैसाको चलखेलमा नेता
  •     अन्य समय भोजभतेरमा खर्च, मौन अवधिमा पैसाको चलखेल

राजनीतिक दलका नेता, कार्यकर्ताहरू पनि भोजभतेर र रकम वितरण हुने गरेको गुनासो गर्छन्। तर, उम्मेदवारहरू एकले अर्कोलाई आरोप मात्रै लाउँछन्। सुगम र विकसित मानिएको सुनसरी १ अन्तर्गत धरानमा समेत मौन अवधीमा रक्सी, मासु र पैसाको चलखेल हुने गरेको स्थानीयले बताए। औपचारिक प्रचार सकिन लागेकापछि यस्ता क्रियाकलापमा रातारात हुने गरेका छन्। मौन अवधीमा सबैभन्दा बढी रक्सी, मासु र पैसा प्रलोभन दिएर भोट किन्ने गरेको भेटिन्छ।

सुनसरी १ धरानमा भेटिएका मतदाता सुरेन्द्र लिम्बू पैसा नहुनेले त अब निर्वाचनमा लड्ने नसक्ने अवस्था आएको बताउँछन्। सुनसरी ३ अन्तर्गतको बर्जु गाउँपालिका ६ खोरियामा त्यहाँका मतदाताहरू रक्सी र पैसाको प्रलोभनमा मतदान गर्ने गरेकोे चर्चा गरिरहेको भेटिन्थे। गत स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार नै २४ वटा त खसी नै काटेको स्थानीय बताउँछन्।

एक स्थानीय नाम नबताउने सर्तमा भन्छन्, ‘निर्वाचनमा एउटा नेताले १६ करोड खर्च गर्छु भने गाउँमा चर्चा छ। त्यस मौन अवधिमा कालो प्लास्टिकमा एक किलो मासु, एक बोटल रक्सी र १ हजार रुपैयाँ मतदातालाई विगतका निर्वाचनदेखि नै बाडिने गरेको थियो।’ कतिपयले त १ हजार नक्कली नोटसमेत दिएर जनतालाई झुक्याउने गरेको पनि पाइएको छ।  

विकासमा भन्दा पैसा बाँड्न ध्यान

सुनसरी जस्तो सुगम जिल्लामा रहेको बर्जु गाउँपालिकाका सडक अहिलेसम्म कच्ची नै छन्। जनतालाई रक्सी, पैसा र मासु बाँडेपछि भोट पाइने भएकाले नेताहरूले गाउँको विकासमा ध्यान नदिएको स्थानीय केदार चौधरी बताउँछन्। उनले गरिब बस्तीमा पार्टीको घोषणापत्र र एजेन्डाका बारेमा कसैको चासो नहुने गरेको बताउँछन्।

‘उम्मेदवारले मतदातालाई पैसा, मासु र रक्सीमा किन्छन्। जनतालाई घोषणापत्र र एजेन्डाको विषयमा केही मतलब हुँदैन,’ उनले भने, ‘अनि कहाँ गाउँको विकास होस्। वर्षौंदेखि आफ्नो गाउँ जस्ताको तस्तैे छ।’ उनले जनताको आर्थिक अवस्था कमजोर भएकाले नेताहरू पैसा दिएर भोट किन्ने गरेको बताए। ‘जनता गरिब छन्। खान लगाउनको समस्या छ। त्यसैले उनीहरू पैसामा किनिन्छन्,’ उनले भने, नेताहरूले उनीहरूको बानी पनि पारिसकेका छन्। जसले रक्सी र मासु खान दिन्छ, उसैलाई भोट दिन्छन्।’

विगतमा मधेस प्रदेश, लुम्बिनी र प्रदेश १ का तराईमा भोट पैसामा किनबेच हुने गरेको थियो। पछिल्लो समय देशभर नै यो विकृत बढेको छ। स्वयम् उम्मेदवारहरू पनि निर्वाचनमा रक्सी, मासु र पैसाको खोलो बग्ने गरेको स्वीकार्छन्। तर, जोसँग कुरा गर्दा पनि आफूले भने यसो नगर्ने गरेको भन्दै पन्छिन्। सुनसरी ३ का प्रतिनिधिसभातर्फका उम्मेदवार भगवती चौधरीले यो निर्वाचन क्षेत्रमा आफ्नो प्रतिपक्षी उम्मेदवारले रक्सी, मासु र पैसा बाँड्ने गरेको बताइन्। ‘हाम्रो क्षेत्रमा प्रतिपक्षका उम्मेदवारले ३१ वर्षदेखि गरिबी, निमुखा जनतालाई पैसा, मासु र रक्सीमा किन्दै आएका छन्। यसले गर्दा आफ्नो क्षेत्र ३१ वर्षले पछि परेको छ,’ उनले भनिन्। 

सप्तरी २ का उम्मेदवार सिके राउत पनि पैसा र सत्ताको शक्तिको प्रयोग गरेर मतदाता प्रभावित पर्ने गरेको आरोप लगाउँछन्। जनमत पार्टीका अध्यक्ष सिके राउतले अन्य उम्मेदवारहरूले दैनिक ४/५ वटा खसी काटेर भोजभतेर गर्ने गरेको आरोप लगाए। मतको खरिदबिक्रीले जनलहर मतपत्रमा परिणत गर्न समस्या हुने गरेको भन्दै राउतले यसपटक कडा निगरानी गरिरहेको र जनतालाई सचेत पार्ने काम भइरहेको बताए।
जसपाका प्रवक्ता मनिष सुमनले सहरी क्षेत्रमा खरिदबिक्री असम्भव भए पनि ग्रामीण भेगमा रकमको चलखेल हुने गरेको बताए। सत्ता गठबन्धनबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले आर्थिक चलखेल हुने गरेको र त्यसले असर गर्ने गरेको बताए। लोकतान्त्रिक अभ्याससँगै अधिकांश मतदाता सचेत बन्दै गएकाले उम्मेदवारबाट रकम लिए पनि मत इच्छाअनुसार खसाउने गरेको पनि उनले बताए।तस्बिर : दीपेन श्रेष्ठ

प्रचार–प्रसार, सभा, भेला, घरदैलो जति गरे पनि अन्तिम समयमा चुनाव प्रभावित पार्न आर्थिक चलखेल हुने गरेको सिरहा गोलबजार बस्ने रुपेश सदायले बताए। यसै कारण चुनावी नतिजा आकलन गर्न मतदातालाई असजिलो हुने गरेको उनको भनाइ छ। चुनावी नतिजालाई आर्थिकलगायत धेरै तवरले प्रभाव पार्ने भएकाले रातारात परिणाम फरक पर्ने गरेको राजविराजकी पुष्पा कर्णले बताइन्। ‘यहाँ भेटी दिएर भोट सुरक्षित गर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘उम्मेदवारहरूले जातीय समुदायका अगुवा, गाउँका मुखियामार्फत उनीहरूको पकड क्षेत्रको मत आफ्नो पक्षमा खसाल्न ‘भेटी’ चढाउने गरेका छन्।’

चुनाव जित्न ‘बेहिसाब’ पैसा खर्च गर्ने प्रवृत्तिले इमान्दार मानिसहरू निर्वाचित हुन सक्ने परिस्थिति नरहेको धनुषा जनकपुरधामका दीपक केसीले बताए। अधिवक्तासमेत रहेका केसीका अनुसार निर्वाचन प्रणाली परिवर्तन नभए यो प्रवृत्ति बढ्दै जाने चिन्ता व्यक्त गरे। राजनीतिक विश्लेषकहरू जनताले स्वविवेकले मतदाता गर्न नपाउने गरेको बताउँछन्। 

नेपालमा निर्वाचनको विकृत पक्ष बढेको राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन्। भन्छन्, ‘भोजभतेर, खानपिन, रक्सी, मासुजस्ता कुराले निर्वाचन विकृत बन्दै गयो। तराई मधेसमा मात्रै नभएर यो विकृत देशभर नै रहेको छ।’ उनी अघि थप्छन्, ‘अन्तिम घडीमा मतदातालाई पैसा बाँड्ने, रक्सी, मासुले प्रभावित पार्ने काम निर्वाचनमा ठूलो चुनौती बनेको छ। यो बढी मतदाता भएको स्थानमा बढी हुन्छ। तर, कम मतदाता भएका ठाउँ पनि यसबाट अछुतो छैनन्।’

उनले विगतका निर्वाचनमा समेत यस्ता विकृतहरू रहेको स्मरण गरे। ‘गत निर्वाचनमा म दोखला पुगेको थिएँ, त्यहाँका सबै होटल राजनीतिक दलले लिएका रहेछन्,’ उनले भने। अर्का राजनीतिक विश्लेषक डा. सुरेन्द्र लाभ निर्वाचनमा पैसा र शक्तिको प्रयोग हुने कुरा नेपालमा नौलो नभएको बताउँछन्। ‘नेपालमा हँुदै आएका निर्वाचनमा पैसा, बाहुबलको प्रयोग विषय नयाँ होइन। यो हरेक निर्वाचनमा भइरहेको छ,’ उनले भने। उनले निर्वाचनमा हुने यस्ता विषय तोड्न आवश्यक रहेको बताए। निर्वाचन आयोग र दलहरूले जिम्मेवार ढंगबाट लाग्नुपर्ने उनको भनाइ छ। 

निर्वाचनमा पैसा र बाहुबलको प्रयोग देशभर हुने गरेको उनको भनाइ छ। पश्चिम नेपाल गएर भर्खरै र्फिर्कए डा. लाभले भने, ‘यो काम भोट दिनको आसपास धेरै हुन्छ। यो तराई पहाड जताजतै छ, पैसा र बाहुबलको प्रयोग देशभर छ।’  

राजनीतिज्ञ एवं विश्लेषक डम्बर खतिवडा विगतदेखि नै पैसा र शक्तिको प्रयोग गरेर मतदाता प्रभावित गर्ने काम भएको बताउँछन्। उनले भने, ‘पहिला कांग्रेस र एमालेका नेता केही इमान्दार थिए। पैसा पनि थिएन। २०/३० वर्षमा उनीहरू धनी भए।’ उनले यो विकृति बढाउने जिम्मेवार दलहरू नै भएको बताए। ‘दलहरूले लोभ देखाएर भोट किन्न नखोजे यो विकृति हुने थिएन,’ उनले भने। उनले निर्वाचन आयोगले पनि कडा अनुगमन गरेमा केही हदसम्म यस्ता विकृतिमा कमी आउने बताए। 

निर्वाचन आयोग रक्सी र पैसाको प्रलोभनमा भोट तलमाथि गर्नेको मनोनयनसमेत खारेज हुने बताउँछ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचनमा मदिराजन्य पदार्थको निषेध गरिसकेको बताए। उनले कतै यस्तो पाइएमा नियन्त्रण गर्ने बताए। ‘आयोगले मदिराजन्य पदार्थ निषेध गरिसकेको छ। कतै यस्तो भेटिएमा जफत हुनेछ,’ उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.