धनकुटामा शान्तिपूर्ण तरिकाले मतदान हुँदै
धनकुटा : धनकुटामा पनि मतदान सुरु भएको छ।
जिल्लाका १ सय १९ मतदान स्थलका १ सय ६२ केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए। शान्तिपुर्ण तरिकाले मतदान कार्य भइरहेको उनको भनाइ छ।
मतदान स्थलहरूमा बिहानैदेखि मतदाताको भीड लागेको छ। मतदाताहरू मतदान गर्न उत्साहित देखिएका छन्। प्रतिनिधिसभामा एक र प्रदेश सभाका दुई क्षेत्रका लागि मतदान हुँदैछ।
जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना कुल मतदाता रहेका छन्। जसमध्ये महिला ५८ हजार ४ सय ४५ र पुरुष ५८ हजार ५ सय ४६ जना रहेका छन्। मतदान प्रक्रिया साँझ पाँच बजेसम्म हुनेछ।
निर्वाचनका लागि १३ सय २ जना कर्मचारी खटिएका छन्। मतपत्रहरू गणनाका लागि जिल्ला सदरमुकामस्थित सामुदायिक भवनमा ल्याइनेछ। सामुदायिक भवन र मतगणनाको दूरी ६ घण्टाको रहेको उनले बताए। उनका अनुसार सबैभन्दा टाढा रहेको स्थल ६ नं. बुधवारेको हो।
बेलुका १२ बजेभित्र सबै स्थानबाट मतपेटिका आइपुग्ने र त्यसपछि सर्वदलीय बैठक हुने छ। कम्तीमा पनि सोमबार बिहान ३ बजेदेखि मतगणना कार्य सुरु हुने उनको भनाइ छ।
प्रतिनिधिसभाका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट सुनीलबहादुर थापा, नेकपा एमालेबाट राजेन्द्रकुमार राई, स्वतन्त्र हेमराज भण्डारी, राप्रपाबाट कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु, एकीकृत शक्ति नेपालका रमेश राई उम्मेदवार छन्।
त्यस्तै प्रदेशसभातर्फ 'क' क्षेत्रमा नेकपा एमालेबाट निरन राई, लोकतान्त्रिक वाम गठवन्धनबाट अर्जुन राई, जसपाबाट रकम चेम्जोङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मनकुमार राई उम्मेदवार छन्।
यसै गरी प्रदेशसभा तर्फ 'ख' मा नेकपा एमालेबाट इन्द्रमणी पराजुली, लोकतान्त्रिक बाम गठबन्धनबाट कुसुमकुमारी श्रेष्ठ, जसपाबाट डम्बर कटुवाल, स्वतन्त्रबाट बालानन्द दाहाल, स्वतन्त्रबाट जितेन्द्र राई, राप्रपा नेपालबाट सोमबहादुर घिसिङ, राप्रपाबाट श्यामबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।
प्रतिक्रिया दिनुहोस !