मकवानपुरमा ढल्यो विरासत
मकवानपुर : मकवानपुरले पञ्चायत कालदेखिका जनप्रतिनिधिको वर्चस्व खारेज गरेको छ। पञ्चायतदेखि नै राजनीति गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र एकिकृत समाजवादीका नेता विरोध खतिवडालाई प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा जनताले अनुमोदन गरेनन्।
यीनै नेताहरूले पञ्चायत कालदेखि मकवानपुरमा राज गरिरहेका थिए। यसपटक मकवानपुर १ मा थापा र मकवानपुर २ मा खतिवडा पराजित भएका छन््। पञ्चायत कालदेखिका राजनीतिक खेलाडी थापालाई नेकपा एमालको सूर्य चुनाव चिन्ह पनि फापेन। उनी आफ्नै पूर्व सहकर्मी राप्रपाका दिपकबहादुर सिंहसँग पराजित भए। सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा थापाले २५ हजार ४ सय २० मत मात्रै प्राप्त गरेका छन् । थापाले भन्दा बढी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४ सय ३४ मत ल्याएर दोस्रो भएकी छन् ।
२०७० मा समानुपातिकबाट संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशसभामा पठाएर कांग्रेसकै समर्थनमा चुनाव लडेका थिए। त्यहाँ पनि उनी पराजित भए । पटक–पटक निर्वाचन लड्दै आएका थापालाई २०४३ र २०५१ सालमा यहाँका जनताले अनुमोदन गरे। ४० वर्षको अन्तरालमा दुईपटक मात्रै थापा प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका छन्। उनको संसदमा पुग्ने यो पटकको असफल प्रयासअघि अन्नपूर्ण पोस्ट् दैनिकसँगको कुराकानीमा यस निर्वाचनपछि चुनाव नलड्ने घोषणा गरेका थिए।
हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गरेका थापा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सांसद चुनिएका थिए। दुवै परिवर्तनमा दबाउन उनको ठूलो भुमिका छ। २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना होस् वा २०६२÷६३ को जनआन्दोलनमा उनको भुमिका जनतालाई दमन गर्नु नै थियो। २०६२÷६३ को जनआन्दोलनताका उनी गृहमन्त्री नै थिए। यो बेला जनआन्दोलन दबाउन उनले सक्दो बल प्रयोग गरेका थिए।
राप्रपा अधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि टिक्न नसकेर थापाले राप्रपा नेपाल बिउँत्याएका हुन्। उनी आफ्नो पार्टीको चिन्ह छोडेर एमालेको चिन्हबाट लडेका हुन्।
ढल्यो खतिवडाको बिरासत
नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको ३६ वर्षे लामो बिरासत ढलेको छ। खतिवडा मकवानपुरमा पञ्चायत कालदेखिका सदावहार नेता हुन्। मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलासँग उनी ४ हजार ५ सय २० मतको अन्तरले पराजित भए। पहिलोपटक संसदीय निर्वाचन लडेका बर्तौलाले यस क्षेत्रका प्रभावशाली तथा सदावहार नेता खतिवडालाई हराएका हुन्।
बर्तौलाले ३४ हजार ९ सय १६ मत र खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस क्षेत्रमा ८६ हजार ३ सय १ मत खसेको थियो। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका छन्।
२०४३ सालदेखि चुनाव लड्दै आएका खतिवडा यो पटक भने आफ्नै कार्यकर्तासँग चुनावी प्रतिस्पर्धामा हार्न बाध्य भए। विद्यार्थी राजनीतिदेखि खतिवडाकै स्कुलिङमा राजनीतिमा प्रवेश गरेका ४० वर्षीय बर्तौला पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादीमा आबद्ध भएका खतिवडासँग चुनाव लडेका हुन्।
पहिलो पटक खतिवडा २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेर मकवानपुरको प्रतिनिधित्व गरेका थिए। मकवानपुर २ मा खतिवडा छैठौं पटक उम्मेदवार बनेका थिए। मकवानपुरबाट पटक–पटक चुनाव जितेपछि मन्त्री बन्ने अवसर भने उनले एमाले फुटाएर एकीकृत समाजवादी गएपछि मात्रै पाए। नेकपा एमालेबाट खतिवडाले २०४८ मा पहिलो पटक निर्वाचन जितेका थिए। उनीसँग हाल मकवानपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी महालक्ष्मी उपाध्याय डिना र जनमुखी सहकर्मी रुपचन्द्र विष्ट पराजित भएका थिए। २०५१ को निर्वाचनमा खतिवडा पुनः निर्वाचित भए। उनीसँग प्रतिस्पर्धामा रहेका डिनासँगै कांग्रेसका बागी उम्मेदवार विश्वराज उप्रेती, राप्रपा नेपालका अध्यक्ष थापा र विष्ट पराजित भएका थिए। २०५१ मा थापाले मकवानपुर १ मा जित हात पारेका थिए भने मकवापनुर २ मा खतिवडासँग हारेका थिए।
२०५६ को निर्वाचनमा भने उनका सबै प्रतिस्पर्धी नयाँ आए। तर, उनलाई हराउन सकेनन्। खतिवडासँग नेपाली कांग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, राप्रपा नेता एवं हाल मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार दिपक सिंह र नेकपा मालेबाट उम्मेदवार भएका हिरण्यलाल श्रेष्ठ पराजित भएका थिए। संसदीय राजनीतिका चतुर खेलाडी खतिवडा नेकपा माओवादी केन्द्रको दवाब रहेको समय २०६४ मा भने उम्मेदवार भएनन्। उनी २०७० मा पनि उम्मेदवार बनेनन्।
२०७४ मा भने फेरि उनको तेस्रोपटक भेट कांग्रेस सहमहामन्त्री डिनासँग भयो। एमालेबाट निर्वाचन लडेका खतिवडालाई नेकपा माओवादी केन्द्रको पनि साथ थियो। खतिवडा ४६ हजार चारसय ८१ मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी डिनाले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्। संसदीय निर्वाचनमा हालसम्म जितको रेकर्ड कायम गरेका ६२ वर्षीय खतिवडाको अबिराम जितको यात्रामा ठेस लागेसँगै मकवानपुरका कम्युनिष्ट राजनीतिमा नयाँ पुस्ताको प्रभाव बढेको छ।
लगातार हारको यात्रामा डिना
मकवानपुर प्रतिनिधिसभा १ मा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायको पनि जादु चलेन। उनी चौथोपटक हार ब्यहोर्न बाध्य भइन्। उपाध्याय २०४८ सालदेखि उम्मेदवार बनिरहेकी छन्। पहिलोपटक २०४८ सालमा उम्मेदवार बनेकी उपाध्ययले अहिलेसम्म जित भने निकाल्न सकेकी छैनन्। २०४८ सालको चुनाव डीनाको पहिलो चुनावी अनुभव थियो। तत्कालीन समयमा मकवानपुरमा ३ क्षेत्र थियो। उनी २ नम्बर क्षेत्रमा एमालेका विरोध खतिवडासँग पराजित भएकी थिइन्। उनीसँग रुपचन्द्र विष्टसहित ८ जना चुनावी प्रतिस्पर्धामा थिए। २०५१ को चुनावमा डीनाले पुनः पराजय व्यहोरिन्। त्यतिबेला कांग्रेसकै नेता विश्वराज उप्रेती बागी उम्मेदवारका रुपमा उठेका थिए।
२०५६ मा चुनाव नलडेकी डीना २०६४ र २०७० मा समानुपतिक सांसद् भइन्। समानुपातिक सांसद् भएसँगै जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उनी राज्यमन्त्री भइन्। त्यस्तै, २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रसमेतको सहयोगमा चुनाव लडेका खतिवडाले डीनालाई १२ हजारभन्दा बढी भोटले सोही क्षेत्रबाट पराजित गरे। तीनै पटकको प्रतिस्पर्धामा पराजय मात्रै व्यहोरेकी डीनाले यसपटक भने निर्वाचन क्षेत्र परिवर्तन गरेकी थिइन्।
पाँचौं पटकमा सिंहको उदय
राप्रपाबाट क्षेत्र नम्बर १ का उम्मेदवार दिपक सिंहको पनि हारको सृङ्खला लामो छ। ६१ वर्षीय सिंह २०५४ सालमा हेटौंडा नगरपालिकाको मयेरमा नेकपा एमालेका डोरमणि पौडेलसँग १२ सय मत अन्तरले पराजित भएका थिए। २०५६ मा मकवानपुर प्रतिनिधिसभा २ मा उनी एमालेका खतिवडासँग १२ सय मत अन्तरले हारेका थिए।
सिंह शाही शासनकाल २०६१ मा जिल्ला विकास समितिको सभापति भएका थिए। तर उनलाई त्यसपछिको निर्वाचन पनि फापेन। संविधानसभा सदस्यको लागि २०७० मा भएको निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग सिंह २२ सय मतले पराजित भए।
लामो समय राप्रपा नेपालका अध्यक्ष थापा निकट रहेर राजनीति गरेका सिंहको साथ राप्रपाबाट थापा अलग्यिएपछि छुट्यो। उनी थापाको साथ नलिई २०७९ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी भए। सिंह नेकपा एकीकृत समाजवादीका मिना लामासँग २५ सय ४४ मत अन्तरले पाराजित भए। उनले २० हजार पाँचसय ३१ मत ल्याएका थिए।
पञ्चायतदेखि नै सिंहले थापाको सहयोगीका रुपमा काम गर्दै आएका थिए। तर उनले हाल सम्म विजयको स्वाद चाख्न पाएका थिएनन्। यो पटक भने आफ्नै राजनीतिक गुरु थापा र डिनालाई हराएर सिंहले विजयको रेकर्ड कायम गरेका छन्।
प्रतिक्रिया दिनुहोस !