अन्तर्राष्ट्रिय आइटीएफ ५ टेनिसमा १० देशका खेलाडी सहभागी
पोखरा: पोखरामा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता सोमबारदेखि हुँदैछ । पोखरामा पाँचौ पटक हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगितामा १० राष्ट्रका १ सय ४० भन्दा बढी खेलाडी सहभागी हुने आयोजक कास्की जिल्ला टेनिस संघले जनाएको छ ।
दुई साता चल्ने प्रतियोगितामा सर्किट १ र २ हुनेछ । प्रतियोगितामा १३ वर्षदेखि १८ वर्ष सम्मका ब्वाइज र गल्स तर्फ सिंगल्स र डबल्स प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले बताए ।
पोखरा रंगशालाको टेनिस कोर्टमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण कोरियाबाट १० जना, ताईपेईबाट ५ जना, रसियाबाट १ जना, भारतबाट ३१ जना, स्पेनबाट १ जना, जर्मनबाट १ को सहभागी हुनेछन् । यसैगरि जापानबाट ३, श्रीलंकाबाट २ जना, अष्ट्रेलियाबाट २ जना र नेपालबाट ८ सहित ६४ जना खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले जानकारी दिए ।
यसैगरि गल्र्सतर्फ नेपालबाट ९ जना, भारतबाट ३७ जना, रसियाबाट १ जना, श्रीलंकाबाट १ जना, अमेरिकाबाट २ जना, दक्षिण कोरियाबाट ६ जना, ताइपेइबाट ३ जना, हङकङबाट १, अष्टेलियाबाट ३ जना, फिलिपिन्सबाट १ जना गरी जम्मा ६४ जना खेलाडी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगिताले पोखरा र नेपालकै पर्यटन प्रवद्धनकालागि महत्वपूर्ण रहने कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताए । प्रतियोगिता संचालनकालागि अनुमानित आम्दानी २० लाख र खर्च १५ लाख लाग्ने कोषाध्यक्ष बास्तोलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !