दाङमा गठबन्धनकोे क्लिन स्वीप

दाङमा गठबन्धनकोे क्लिन स्वीप

दाङ : दाङमा गठबन्धनले क्लिन स्विप गरेको छ। जिल्लाका तीन प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार सबै क्षेत्रमा पराजित भएका छन। एमालेले यसपटक २०७४ सालको विरासद जोगाउन सकेन। वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूको जित भएको छ। 

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा दाङमा गठबन्धन आंशिक रूपमा मात्र सफल भएको थियो। यो निर्वाचनमा भने गठबन्धनका दलको शतप्रतिशत सफलता पाएका छन्। दाङ क्षेत्र नं. १ प्रनिनिधि सभामा नेकपा (एकीकृत समाजवादी)का मेटमणी चौधरीले एमालेका शान्ता चौधरीलाई पराजित गरेका छन्। दुवै जना २०७४ सालको निर्वाचनमा सहकर्मी (एउटै पार्टी) एमालेमा आबद्ध थिए। पार्टी विभाजन भएपछि पूर्व सहकर्मीबीचमै प्रतिस्पर्धा भएको हो। गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनलाई हेर्दा एकीकृत समाजवादीको मत कमजोर हो। गठबन्धनको साथले मेटमणिलाई विजयी बनायो।

त्यस्तै, प्रतिनिधिसभा दाङ क्षेत्र नम्बर २ मा पनि गठबन्धनको पक्षमा नतिजा आयो। नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर जित हासिल गरेकी हुन्। शर्माले एमाले महासचिव शंकर पोखरेलाई पराजित गरेर चर्चामा आइन्। शर्मा र पोखरेलबीचको मतान्तर १ सय ९६ मात्रै छ। पराजित पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन्। निर्वाचित शर्मालाई गठबन्धन दल नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादीको साथ थियो भने पोखरेल एक्लै प्रतिष्पर्धामा थिए। १ लाख ३३ हजार ७ सय ४८ मतदाता रहेको दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ४ सय ४६ मत खसेको थियो।

शर्माको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो। उनी २०७० र २०७४ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन्। २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा रहेर काम गरेकी शर्माले कानुन निर्माणलगायत संसदीय गतिविधिमा सक्षम, सक्रिय र सफल सांसदको रुपमा पहिचान बनेको छ।

प्रतिनिधिसभा दाङ– ३ मा नेपाली कांग्रेसको तर्फटबाट गठबन्धनका साझा उम्मेदवार दीपक गिरीले जित हासिल गरेका छन्। गिरीले एमालेका कोमल वलीलाई भारी मतान्तरले पछि पारेर जित निकालेका हुन। उनले एमाले उम्मेदवार कोमल वलीलाई ७ हजार ८ सय मतान्तरले पराजित गरेका हुन्।

सबै प्रदेशमा गठबन्धन

प्रदेशसभाको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका ४ र माओवादी केन्द्रका २ जनाले जित हासिल गरेका हुन्। दाङ क्षेत्र नम्बर १ को प्रदेश सभा २, क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ , क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छ भने क्षेत्र नम्बर १ को १ र ३ को २ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु निर्वाचित भएका छन्। उनले नेकपा एमालेका गंगाराम भट्टराईलाई पछि पारेर जित हासिल गरेका छन्।

यस्तै क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित भएका छन्। २८ वर्षिय खड्काले नेकपा एमालेका कुलबहादुर केसीलाई ३ हजार ७२ मतले पछिपार्दै पहिलोपटक संसद्को बाटो तय गरेका हुन्। प्रदेश सांसदमा निर्वाचित खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका सुपुत्र हुन्। यस्तै दाङ क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन्। यस्तै क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन्। उनले नेकपा एमालेका गिरीराज केसीलाई ७७० मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्। 

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट दोस्रो पटक डिल्लीबहादुर चौधरी निर्वाचित भएका हुन्। भावी मुख्यमन्त्रीका रूपमा हेरिएका चौधरीले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेलाई ५ हजार ४ सय मतको भारी मतान्तरले पछि पार्दै प्रदेश सांसदमा दोस्रो इनिङ गरेका हुन। उनको यो तेस्रो संसदीय यात्रा हो। दाङ ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की निर्वाचित भएका छन्।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले नेकपा एमालेका हुकुम बस्नेतलाई पछि पारेका हुन। मास्की र बस्नेतबीचको मतान्तर २ हजार १६१ रहेको छ। एमाले महासचिव शंकर पोखरेलको गृह जिल्लामा सत्ता गठबन्धनले क्लिन स्वीप गर्नुलाई पार्टी विभाजन, पटक–पटक संसद विघटन र पार्टीभित्रैको आन्तरिक समस्यालाई कारकका रूपमा टिप्पणी हुन थालेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.