सङ्लो सोच, सुन्दर भविष्य

सङ्लो सोच, सुन्दर भविष्य

भनिन्छ, नदीमा बग्ने पानी सङ्लो आओस् भन्ने अपेक्षा राख्ने हो भने बगिरहेका ठाउँहरू होइन, मुहान नै सफा गर्नुपर्छ। नेपाली समाजले निरन्तर परिवर्तन खोजेको छ। २००७ सालदेखि गरिएको विकासको अपेक्षाले सात दशक नाघिसकेको छ। २०४६ पछि त आमूल परिवर्तनकै लक्ष्य राखिएको हो। नेपाली नागरिकले अन्ततः समृद्धि चाहेका हुन्। २०७९ को आवधिक निर्वाचन सम्पन्न भएको छ। सकारात्मक परिवर्तनको पर्खाइमा रहेका नागरिकको मनमा अब केही हुन्छ कि भन्ने आशा पलाएको छ। जनताको आशा सुरक्षा, न्याय र विकासमा केन्द्रित छ। सबै कुरा सहज र सुलभ होउन् भन्ने चाहना छ। यसैलाई परिवर्तन वा समृद्धि भन्न सक्छौं। परिवर्तनका लागि मूलतः मानवीय र भौतिक विकास हुन जरुरी छ।

विश्व परिवेश विश्लेषण गर्ने हो भने भौतिक विकाससँगै सबै खालका विकास जोडिएर भएको पाइन्छ। सन् २००० मा सम्पन्न संयुक्त राष्ट्रसंघको पृथ्वी शिखर सम्मेलन (रियो÷अर्थ समिट)मा दिगो विकासका आधार तीनवटा मानिएको छ, आर्थिक विकास, सामाजिक विकास र वातावरणीय विकास। तीनवटै विकास जोडेपछि मानव विकास सम्भव छ। समग्र मानव विकास भनेकै ‘समृद्धि’को टेको हो। नेपाल समृद्ध नहुनुमा कोही बढी जिम्मेवार छन् भने ती ‘राजनेताहरू’ नै हुन्। राष्ट्रोन्नति हुनुमा कोही बाधक छन् भने ती सत्ता हाँक्ने राजनीतिक दलहरू नै हुन्। यो अकाट्य सत्य पचाउन कठिन हुन सक्ला। जसरी जरोबिना रूख न बढ्न सक्छ न फैलन्छ, त्यसरी नै राजनीति विकास र समृद्धिको जरो बनेको छ।

२०७९ मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले पुराना नेतासँग आफूहरू वाक्कदिक्क भएको परिणाममार्फत देखाइसकेका छन्। धेरैलाई लाग्ला, विकासका बाधक योजनाकार, थिंकट्यांक र कर्मचारीतन्त्र पनि हुन्। तर, होइन। यसको मुहान राजनीति नै हो, राजनेता नै हुन्। टाढा जानै पर्दैन, चीनको विकास र यसको नेतृत्वमात्र हेरे पुग्छ। जसले सपनाको देश अमेरिकालाई अनेक हिसाबले पछि पार्दैछ, पारिसक्यो। जसको नेतृत्व पटकपटक नागरिकको चाहना र आवश्यकता बन्छ। नेपालमा दुईतिहाइ पुर्‍याउने हैसियत दलहरूले राख्दैनन्। जमाना जफत हुने डरले गठबन्धनको विकल्प खोजी गर्छन्। नेपालमा त क्षमताभन्दा अन्य कारणले सत्तामा पुग्ने सिलसिला चलिआएको छ। 

विकास र समृद्धि एकल प्रयासले सम्भव छैन। न त यो एक वा दुईले मात्र उपभोग गर्ने विषय नै। सामूहिक सुख र खुसीका लागि सामूहिक प्रयास स्वाभाविक पनि हो। त्यसैले झन्डै तीन करोड नेपाली र यसैभित्रका नेता, बुद्धिजीवी र कर्मचारीको सोचको मुहान जबसम्म सङ्लो हुँदैन, तबसम्म समृद्धि सपना बनिरहन्छ। जसरी नदीको मुहान सङ्लो हुनुपर्छ, त्यसरी नै समृद्धिको मुहान ‘सोच’ सङ्लो हुनुपर्छ।

व्यक्तिको सङ्लो सोचको जग पारिवारिक पृष्ठभूमि नै हो। त्यसपछि समाज। तेस्रोमा शिक्षा र चौथो स्वास्थ्य हो। शारीरिक अस्वस्थ्य व्यक्ति (नागरिक) मानसिक रूपमा स्वस्थ्य नहुन सक्छ। यदि नागरिक शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ्य छ भने मात्र ऊबाट समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ। सकारात्मकसँगै रचनात्मक मानसिक दृष्टिकोणको विकास भएपछि मात्र सम्भव छ, समाजको परिवर्तन। सोच कमजोर भएरै हो, अधिकांश मानिसले दैनन्दिन जीवनमा आइपर्ने सामान्य बाधासमेत पन्छाउन सक्दैनन् र जीवन नै जञ्जालले बाँधिइरहेको महसुस गरिरहन्छन्। तिनबाट देश विकासका लागि के अपेक्षा गर्ने ? जो रोजीरोटीमै अल्झिरहेको हुन्छ, उसबाट अरूले के र कसरी अनि कति अपेक्षा राख्ने ? अनि सत्ता हाँक्ने राजनेतामा नेपाली नागरिकको यो ‘न्यूनतम’ अवस्थालाई माथि उठाउनेसम्म ‘सोच’ देखिन्न। न नागरिक स्वयं यो परिस्थितिभन्दा माथि उठ्ने ‘सोच’ले काम गर्न सक्छन्।

नेपाल देश गरिब भयो तर नागरिक धनी पनि छन्। संघीयता कार्यान्वयन भए पनि, यसले गाउँघरमै सिंहदरबार दिए पनि, आँगनमै जनप्रतिनिधि पाए पनि नेपालीका दुःख, अविकास र विनाश ज्यूँका त्यूँ छन्। अविकासका दुष्चक्रका तीखा निबहरूले घोचिरहेका छन्, बारम्बार। नेताहरूको जीवनशैली बदलियो, जनताको जीवन जस्ताको तस्तै। जनता स्वयं आफ्नो परिस्थिति बदल्न सक्ने हैसियतमा अझै छैनन्। यसै पनि नेपाललाई रेल सपना भएको छ, हैसियत जे भए पनि त्यही रेलजस्तै लामा सपना छन्, नेपाली जनताका। त्यसैले दल र तिनका नेताले नै हो, विशेष कार्यक्रमहरू ल्याएर जनताको भाग्य र भविष्य बदल्ने। दुर्भाग्य, आजसम्म कुनै नेतामा यसप्रति सकारात्मक सोच आएन। स्वतन्त्र र नयाँ दलबाट जित्ने सांसदले चाहे भने जनता नागरिकको हैसियतमा पुग्नेछन्। बदलिन सक्छ तिनको जीवनशैली। त्यसैले अब नयाँ सांसदमा सोच सफा हुनुपर्छ।

करोडौं खर्चिएर जनप्रतिनिधि, सांसद, मन्त्री बन्नेहरूले भ्रष्टाचार गरेरै कमाउने हो। तिनको लगानी उठाउने अर्को शुद्ध बाटो छैन। त्यसरी संसद् वा सत्तामा पुगेकामा आउने ‘सोच’लाई सबैले मजैले विश्लेषण गर्न सक्छन्। त्यो सोचको मनोविज्ञान बुझ्न सक्छन्, भलै जनता मनोवैज्ञानिक किन नहोऊन्। निर्वाचनमा गडबडी गरेर आएको मान्छेले सत्तामा गडबड गर्दैन भन्ने आधार के ? पैसा खर्च गरेर आएपछि नीतिगत भ्रष्टाचारमा रुमलिन्छ। अनेक छिद्रहरू राख्छ। नत्र ऊ सकिन्छ। कसैले पनि आफू सकिने बाटो रोज्दैन। यसका लागि निर्वाचनमा होमिनुअघिको सोचलाई यहाँ ‘नदीको सङ्लो पानी खोज्न मुहान सफा गर्नुपर्ने’ प्रसंग सुरुमै जोडेको हुँ। सानो होस् वा ठूलो, आखिर भ्रष्टाचार भ्रष्टाचार नै हो। त्यस्ता जनप्रतिनिधिले दल र राज्यको नीतिलाई प्रभावित पार्छन् नै।

पश्चिमी मुलुकले गर्ने ठूलो लगानी भनेकै शिक्षा र स्वास्थ्यमा हुन्छ। तेस्रोमा गरिब जनताका सपना साकार पार्ने सामाजिक कल्याणमा हुन्छ। नत्र विकासको वातावरण बिग्रन्छ, सन्तुलन गुम्छ। पछाडि परेकालाई नै हो, राज्यले लगानी गर्ने। नेपालका नेताले यस्तो नीति कहिले लेलान् ? राष्ट्रसंघले मानव विकासमा समेट्नुपर्ने भनेका तीनवटै कुरा हेर्ने जिम्मेवार निकाय नै सत्ता हो। सत्ताको नेतृत्व राजनीतिले गर्छ। राजनीति गर्ने नेताले हो। राजनीतिले समाज डोहोर्‍याउने भएकाले कुनै हरहालतमा राजनीति प्रदूषित हुनु हुँदैन। गलत सोच वा अस्वस्थ्य मानसिकता भएकाबाटै हुने हो दुर्घटना, चाहे त्यो सडकको सवारीसाधन होस् चाहे सत्ताको सवारीसाधन। सोच भन्नु नै ‘भिजन’ हो। विकास भन्नु नै ‘सोच’ हो। ‘समृद्धि’ भन्नु नै सोच हो। ‘सुखी नेपाली : समृद्ध नेपाल’को केन्द्रबिन्दु सोचमै अडिएको छ। सोचबाटै सुरु हुने हो सुखी। सोच नबदलेसम्म कसैले पाउनेवाला छैन, शान्ति पनि। तर यी सबै यथार्थ गहिरिएर नबुझ्नेका लागि केवल खोक्रो आदर्श वा दर्शन मात्र हुन सक्छ।

भुटानले विकासको चुली नै ‘खुसी’लाई बनायो। शान्तिका दूत भनेर चिनिएका गौतम बुद्धले पनि ‘सुख’ नै भने। पञ्चशील अपनाए सुख हुन्छ भने। भौतिक पूर्वाधारले सम्पन्न मुलुकहरूमा सुख त होला तर खुसी छैन। अनुसन्धान गर्ने र गहिरिएर अध्ययन एवं विश्लेषण गर्ने पश्चिमाहरूले पूर्वीय दर्शन र संस्कार अपनाउन थालेका छन्। खुसीको खोजमा पश्चिमा देशका नागरिक नेपाल आउँछन्। उता व्यक्तिकेन्द्रित संस्कृति छ, नेपालमा सामूहिकता छ। सद्भाव अनि माया हुन्छ यहाँ। विकासका नाममा पश्चिमा केही बाछिटा नेपालसम्म आइपुग्दा नेपाली संस्कृति र सभ्यतामा दक्खल पुग्दैछ। यद्यपि नेपाल यस्ता धेरै अर्थमा सम्पन्न छ। हुनत सुख र खुसी मापन गर्न नसकिएला, तर मुहारमा देख्न र अनुभूत गर्न सकिन्छ।

मानौं कि, नेपालका राजनेताहरूको सोचको मुहान सङ्लियो। सत्ता हाँक्ने र दलहरूका शीर्ष नेताहरूको सोच सकारात्मक बन्यो। नेपाललाई भौतिक विकाससँगै मानव विकास गरे विश्वका विकसित देशको तुलना पुर्‍याउने सोच पलायो। मानौं कि, नेताले समृद्ध नेपाल बनाउने सोच अघि सारे। के यो नै काफी छ त ? होइन, सोचलाई समयमै (टाइमली), सही तरिकाले (करेक्टली) र सम्पूर्णतामा (कम्प्लिटली) साकार पार्न सकेनन् भने त्यसको पनि अर्थ हुँदैन। सही सोचलाई जबसम्म मन, वचन र कर्मले पूर्णता दिइन्न, तबसम्म समृद्धि सम्भव छैन। आवधिक निर्वाचन २०७९ ले शीर्षनेताहरूदेखि युवा पुस्तासम्मलाई संसद्मा स्वागत गर्ने अवसर दिएको छ। विगतमा कमीकमजोरी रहे पनि यसपटक मतदाता विवेकी देखिएका छन्। ‘फिल्टर’ गरेर अर्थात् सही सोच उमारेर त्यही वृक्षमा फूल फुलाउने कार्य गरेर देखाएका छन्।

के अब देश बनाउँछु भनेर प्रतिनिधि र प्रदेश सभामा पुग्ने अनुमति पाएका नेताको सोच कम्तीमा मतदाताजस्तै सङ्लो हुनु पर्दैन ? मतदाता जसरी सोचेअनुसार निर्णय गरेर कार्यमा देखिनु पर्दैन ?

यदि अबका दिनमा पनि सत्ता र संसद्मा पुग्ने नेतामा ‘भिजन’, ‘डिसिजन’ र ‘एक्सन’ को ‘रिदम’ मिलेन भने नेपाल र नेपालीको अवस्था अझै पाँच वर्ष जहाँको तहीँ हुनेछ। विगतमा सयौं÷हजारौं योजना÷आयोजना बनाइए, बजेट छुट्ट्याइए तर पनि त्यो ‘एक्सन’मा जान नसक्दा अवस्था ज्यूँका त्यूँ छ। बर्सेनि करोडौं बजेट खर्च हुन सक्दैन। यसरी हरेक वर्ष नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सरकार मातहतका कार्यालयमा यो ‘अविकास’को पुनरावृत्ति भइरहन्छ। जसका कारण समय र स्रोत बर्बाद भइरहेछ। त्यसैले सत्ता हाँक्ने नेताले लिने सोच र निर्णय सही, सकारात्मक, सङ्लो र समयसापेक्ष भए तल कार्यान्वयन तहमा रहेका कर्मचारी वा मातहतका सबैले सोहीअनुसार गर्ने हुन्। त्यसपछि ‘एक्सन’हरूले पुनः माथिका नेतृत्व पंक्तिहरूलाई ‘डिसिजन’ गर्न र ‘भिजन’ बनाउन थप बल पुग्नेछ। त्यसपछि विकास र समृद्धि सम्भव हुनेछ।

झन्डै तीन करोड नेपाली र यसैभित्रका नेता, बुद्धिजीवी र कर्मचारीको सोचको मुहान जबसम्म सङ्लो हुँदैन, तबसम्म समृद्ध सपना बनिरहन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.