४७ जना उम्मेदवारको धरौटी जफत
नुवाकोट : यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका नुवाकोटका ४७ जनाको धरौटी जफत भएको छ। यस निर्वाचनमा ६३ जनाले उम्मेदवारी दिएका थिए।
सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारको जमानत जफत भएको हो।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका क्रममा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपैयाँ र प्रदेशसभा सदस्यको ५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको थियो।
नुवाकोटमा प्रतिनिधि सभातर्फ क्षेत्र नं. १ मा १४ जना, सोही क्षेत्रको प्रदेशसभा 'क' मा ५ र 'ख' मा ६ जना तथा प्रतिनिधिसभातर्फ क्षेत्र नं. २ मा ८ जना, सोही क्षेत्रको प्रदेशसभा 'क' मा १० र 'ख' मा चार जना उम्मेदवारको जमानत नै जफत भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ।
जमानत जफतबाट मात्र निर्वाचन आयोगले ३ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। नुवाकोटमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ६ तथा प्रदेशसभातर्फ उम्मेदवारी दिएका १० जना उम्मेदवारको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !