ल्यान्डफिल नहटाउँदा जोखिममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

ल्यान्डफिल नहटाउँदा जोखिममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा : ल्यान्डफिल साइटबाट हुने सम्भावित जोखिमकै बीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरिएको छ।

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनदेखि विमानस्थल सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तर, तीन किलोमिटरभित्र रहेको ल्यान्डफिल साइट अझै पनि सञ्चालनकै अवस्थामा रहेकाले यहाँ आउने विभिन्न प्रजातिका चराले रनवे क्षेत्रमा जोखिम बढाउने विज्ञ बताउँछन्। 

पोखरा १४ सेती किनार बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइटको वरपर मांसाहारी चरा चिल र विभिन्न प्रजातिका गिद्धका गतिविधि अहिले पनि देख्न सकिन्छ। विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइटका कारण विमानस्थलको रनवेमा समेत सेतो गिद्ध, चिल बस्ने र उड्ने गरिरहेका छन्। 

चरालाई अन्यत्र जान बानी पार्न पनि कम्तीमा ६ महिना लाग्ने भएकाले विमानस्थल सञ्चालनमा आउनुभन्दा कम्तीमा ६ महिनाअघि नै ल्यान्डफिल साइटमा फोहोर फ्याँक्न छाडेर सफा गर्नुपर्ने चराविद्ले सुझाव दिँदै आएका छन्। क्यालिब्रेसन फ्लाइट अघि नै ल्यान्डफिल साइटमा फोहोर फाल्न छाड्ने र पुरिने महानगरपालिकाका मेयर धनराज आचार्यले बताउँदै आए पनि त्यो हुन सकेको छैन। अझै पनि वैकल्पिक ल्यान्डफिल साइट एकिन भएर काम अघि बढ्न नसक्दा यो अवस्था आएको हो।

ल्यान्डफिल साइटका लागि उपयुक्त जमिन पहिचान भए पनि स्थानीयको विरोधका कारण एकिन गर्न कठिन हुँदै आएको छ। 

यसैकारण यसअघिका मेयर मानबहादुर जिसीले पनि टुंगो लगाउन सकेका थिएनन्। त्यही समस्या अहिलेका मेयर आचार्यलाई पनि परेको छ। यसै समस्याका कारण पुरानै ल्यान्डफिल साइट प्रयोगमा छ। साइट पारी भरतपोखरी र निर्मल पोखरीमा विश्वकै दुर्लभ सानो खैरो गिद्ध, डंगर गिद्धले बर्सेनि गुड लगाएर बचेरा हुँकाउँदै आएका छन्। विश्वकै दुर्लभ गिद्धका बासस्थान संरक्षणमा पनि ध्यान दिनुपर्ने संरक्षणकर्मी हेमन्त ढकाल बताउँछन्। 

ल्यान्डफिल साइटको खोजी भइरहेको र छिट्टै नै टुंगो लाग्ने महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए। विमानस्थल सञ्चालन अघि नै ल्यान्डफिल साइट अन्यत्र सारेर अहिले चालू ल्यान्डफिल साइट 
पुरिने तिम्सिनाले सुनाए। चराको गतिविधि नियन्त्रण गर्न बेलैमा साइट अन्यत्र सार्नुपर्ने चरामा विद्यावारिधी गरेको डा. हेमसागर बराल बताउँछन्।

क्यालिब्रेसन उडान अघि नै चराका गतिविधि हुन नदिन मंसिर ५ देखि ल्यान्डफिल साइटमा फोहोर फाल्ने काम रोक्न महानगरपालिकालाई अनुरोध गरे पनि त्यसो हुन नसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। 

आयोजनाले विमानस्थलमा जडित उपकरणको परीक्षण (क्यालिब्रेसन फ्लाइट) पनि गरिसकेको छ र परीक्षणको प्रतिवेदन आउने क्रममा छ। एरो थाई कम्पनीले मंसिर ५ गतेदेखि १२ गतेसम्म क्यालिब्रेसन फ्लाइट गरेको थियो। अन्तर्राष्ट्रिय विमानस्थल चालू विमानस्थलभन्दा बढी चराको गतिविधि हुने क्षेत्रमा पर्छ। विमानस्थलनजिकै विजयपुर खोला, खुला सेती नहर र ल्यान्डफिल साइटसमेत छ।

चराबाट हुन सक्ने जोखिम नियन्त्रणका लागि अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वतर्फ रनवेनजिकै रहेको विजयपुर खोलाले बगाएर ल्याउने मरेका गाई, कुकुरलगायतको सिनो उचित समयमा व्यवस्थापन गर्नुपर्ने अर्को चुनौतीका रूपमा रहेको छ। सिनो खान ठूलो शरीर भएका गिद्ध विजयपुर खोलामा अवतरण र उडान गर्दा  विमानसँग ठोकिने अवस्था रहन सक्ने भएकाले यस विषयमा विशेष ध्यान दिनुपर्ने छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.