जाजरकोट जीप दुर्घटनामा परेका १२ जनाकै मृत्यु

जाजरकोट जीप दुर्घटनामा परेका १२ जनाकै मृत्यु

जाजरकोट : जाजरकोटमा सोमबार भएको जीप दुघर्टनामा गम्भीर घाइते भएका थप एक जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ। 

जाजरकोट छेडागाड-५ का जैवान अधिकारीको मंगलबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

योसँगै दुघर्टनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। जीपमा १२ जना सवार थिए। घटनास्थलमा नौ जना र उपचारका लागि सुर्खेत लैजाने क्रममा दुई जना र उपचारकोा क्रममा अस्पतालमा एक जनाको मृत्यु भएको हो। 

पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को सिमानामा पर्ने भीरबाटी भन्ने ठाँउमा सोमबार दिउसो साढे चार बजेतिर जीप दुर्घटना  भएको हो। 

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गको थलह–सुयाडा सडक खण्डको भीरबाटी भन्ने ठाँउबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। घटना लगत्तै दशेराबाट गएको प्रहरी टोली र स्थानियले उद्धार गरेका थिए।  

क्षमताभन्दा बढी यात्रु र  तीव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ। पाँच जनाको क्षमता रहेको गाडीमा १२ जना चढेका कारण पनि जीप अनिन्त्रित भएको हुन सक्ने स्थानीय हर्कबहादुर बुढाले बताए।

प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका-६ थाना जाजरकोटका ४२ वर्षीय वीरबहादुर खत्री, छेडागाड ५ लेवाकी २५ वर्षीय जैकुवँरा बुढा, ४० वर्षीया नैनसरा अधिकारी,  ४५ वर्षीय रामबहादुर बुढा, ३५ वर्षीया देवीसरा बुढा, ४० वर्षीय अम्बर अधिकारी, पाँच वर्षीया निशा अधिकारी र २८ वर्षीय दीपक अधिकारी रहेका छन्। 

त्यस्तै गाडी चालक भगवतिमाइ गाउँपालिका-२ रुम दैलेख निवासी ३० वर्षीय मानबहादुर रावत, भगवतिमाई गाउँपालिका ३ दैलेखका ३७ वर्षीय विरेन्द्र केसी र ३६ वर्षीय अम्बर बहादुर खड्काको मृत्यु भएको हो। 

मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए।

दैलेख भगवतिमाई गाउँपालिका-३ का विरेन्द्र खड्का र छेडागाड-५ लेवाकी सम्झना विसीको बिहेका लागि दुलही लिन आएको जीप दुर्घटनामा परेको हो। 

विवाह भोज खाएपछि दुलहीका भिनाजु दीपक अधिकारी बिरामी परेपछि उपचारका लागि थलह बजारस्थित मेडिकल लिने क्रममा जीप दुर्घटनामा परेको स्थानीय प्रेम रावतले बताए। 

‘बेहुलीका भिनाजु एक्कासी बिरामी हुनुभयो। उहाँलाई उपचार गराउन लिने क्रममा अरू केही मानिस पनि घर फर्कर्ने भन्दै गाडीमा चढे। गाडी चढेको १० मिनेटमै दुर्घटना भयो ,’ रावतले भने, ‘पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन।’ 

यसअघि २०७१ सालमा जिल्लाको भेरी नगरपालिका भुर रावतगाउँमा बस भेरीमा खस्दा ५४ जनाको ज्यान गएको थियो। 

२०७३ सालमा भेरी नगरपालिका-४ बोहरा पासागाड खोलामा बस खस्दा २७ जनाको ज्यान गएको थियो। जाजरकोटमा साँघुरो बाटो, पुराना गाडी, क्षमताभन्दा बढी यात्रु, चालकको लापरबाही लगायतका कारणले ठुला दुघर्टना हुने गरेका छन्। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.