दाङमा साताको पाँच दिन उडान
दाङ : दाङको टरिगाउँ विमानस्थलमा हवाई इन्धन डिपो सञ्चालनमा आएपछि नेपाल वायुसेवा निगमले सातामा पाँच दिन उडान भर्ने नयाँ तालिका सार्वजनिक गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ विमानस्थलमा मुस्किलले महिनामा ५÷७ उडान गर्दै आएको निगमले अब सातामा ५ दिन काठमाडौं—दाङ हवाई सेवा दिने भएको हो। गत आइतबारदेखि दाङको टरिगाउँ विमानस्थलबाट जहाजले इन्धन भर्न सुरु गरेको थियो। तालिका नतोकेर उडान भर्ने र इन्धन दाङकै प्रयोग गरेको निगमले सातामा ५ दिनको उडान तालिका अहिले सार्वजनिक गरेको छ। अब सोमबार र बुधबारबाहेक अन्य दिन दाङमा हवाइ सेवा नियमित हुने विमानस्थल प्रमुख गणेश अर्यालले बताए। तुलसीपुरबाट हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म विमान उड्ने गरी नयाँ तालिका केन्द्रबाट आएको उनले बताए।७ दशकपछि टरिगाउँ विमानस्थलमा इन्धन डिपो मंसिर २५ देखि सञ्चालनमा आएको थियो। रिफ्युलिङको सुविधापछि उडान संख्या थप्न सहज भएको हो।
कोरोना महामारी पहिले टरिगाउँ विमानस्थलबाट सातामा कहिले दुई र कहिले तीन दिनमात्रै उडान हुने गरेको थियो। यहाँ १९ सिटे ट्विनअटर विमानले सेवा दिँदै आएको छ।इन्धन डिपो सञ्चालनमा आएपछि विमानको उडान संख्या बढाउन थप सहज भएको नेपाल वायु सेवा निगमका दाङ प्रमुख महेन्द्रकुमार शर्माले बताए। रिफ्युलिङको सुविधा थपिएपछि पहिले दाङ–काठमाडौं उडानमा कम्तीमा १३ जना यात्रु बोक्न मिल्ने अवस्था थियो भने अब १७ जनासम्म यात्रु बोक्न मिल्ने सुविधा थपिएको उनले बताए।
रिफ्यूलिङको सुविधा थपिएपछि यात्रुले भाडा दरपनि केही सस्तो हुने अपेक्षा गरेका थिए। तर भाडादर भने अहिलेसम्म पूरानै कायम रहेको छ। हाल दाङ–काठमाडौं न्यूनतम भाडा ८ हजार ८१० रुपैयाँ कायम गरिएको छ भने अधिकतम् १२ हजार ६६५ रुपैयाँसम्म छ। काठमाडौंबाट दाङ आउँदा दुई सय रुपैयाँ बढी भाडा निर्धारण गरिएको छ। यो भाडा दर दाङभन्दा झन्डै एक सय १५ मिटर पश्चिम दक्षिणको बाँकेस्थित राँझा विमानस्थल भन्दा बढी हो।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा टरिगाउँ विमानस्थल विस्तारका लागि पहल गर्न गठित समितिकी संयोजक श्यानी चौधरीले विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको जानकारी दिइन्। टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि तीन दिन बसेर सर्भे गरेर इञ्जिनियरसहितको टोली शनिबार दाङबाट फर्किएको उनले बताइन्। अहिलेविमानस्थलको नयाँ टावर निर्माणको काम पनि धमाधम भइरहेको छ। एक करोड बजेट विनियोजना गरेर काम भइरहेको हो। डिटेल सर्भेको रिपोर्टपछि धावनमार्ग विस्तार हुने अपेक्षा स्थानीयको रहेको छ।
प्रतिक्रिया दिनुहोस !