घडेरी खन्दा पाल्पामा भेटियो तीन सयभन्दा बढी तोपका गोला
तानसेन: पाल्पामा तीन सयभन्दा बढी पुराना तोपका गोला भेटिएका छन्। सदरमुकाम तानसेनमा नेपाली सेना दि फेशम महिन्द्र दल गणले घडेरी खन्ने क्रममा ती तोपका गोलाहरु भेटिएका हुन्।
तानसेन नगरपालिका-४ गोलखानामा रहेको जग्गामा नेपाली सेनाको अथिति गृह निर्माण गर्न जग्गा खन्दै गर्दा ती तोपका पुराना गोला भेटिएका हुन्। ति तोपका गोलाहरु कोही हातभरीका कोही अलि ठुलो, कोही ससाना छन् ।
इण्ट ईण्डिया कम्पनीको अंग्रेज सेनासँग भिमसेन थापाको समयदेखि पाल्पाबाट नेपाली सेनाले युद्ध लड्दै आएको थियो। कर्णेल उजिरसिंह थापाको कार्यकालमा नेपाली सेना र अंग्रेज सेनाबीच दुई पटक युद्ध भएको थियो।
सोही समयका तोप गोला हो वा अन्य समयका तोप गोला हुन भन्ने विषयमा अझै यकिन हुन सकेको छैन। पाल्पास्थित नेपाली सेनाले तोप गोला भेटिएको विषयमा मुख्यालयमा जानकारी गराएको छ। ती तोप गोला अहिले नेपाली सेनाले निगरानीमा सुरक्षित राखेको छ।
प्रतिक्रिया दिनुहोस !