भक्तपुरमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद हुँदै
भक्तपुर: भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन/जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ खेलमा प्रतिस्पर्धा हुने छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नपाका कर्मचारीलगायत खेलप्रेमीहरुको उपस्थितिमा र्यालीसहित आएको टोली उद्घाटन कार्यक्रममा सहभागी भएको थियो।
दत्तात्रयबाट सुरु भएको उद्घाटन र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रीतिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गरेका थिए भने सोही समारोहमा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताए। स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडी खेलकुदमा सहभागी हुनुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !