पोखरामा सञ्चालित जीपलाइनलाई विश्वकै अग्लो र भिरालो जीपलाइन अवार्ड
पोखरा : पोखराको सराङ्कोटदेखि हेमजासम्म सञ्चालन हुँदै आएको जीपलाइनले विश्वमै नयाँ रेकड कायम गरेको छ।
विश्वका सहासिक गतिविधिका प्रडक्टबारे अध्ययन गर्ने र अवार्ड दिने संस्था अफिसियल वल्ड रेकर्ड (ओडब्लुआर) ले हाइग्राउण्ड एडभेन्चर नेपालले सञ्चालनमा ल्याएको जीपलाइनलाई टलेस्ट र स्टेपेस्टको अवार्ड दिएको हाइग्राउण्ड एडभेन्चर नेपालका निर्देशक दिनेश महर्जनले जानकारी दिए।
यो अवार्डसँगै विश्वकै अग्लो (टलेस्ट) र भिरालो (स्टेपेस्ट) जीपलाइनको रेकर्ड पोखराको सराङ्कोटदेखि हेमजासम्मको हाइग्राउण्डले सञ्चालनमा ल्याएको जीपलाइनले कायम गरेको हो।
यति अग्लो र भिराले जीपलाइन अन्यत्र नभएकाले यो रेकर्ड पाएको हो। यो जीपलाइनको दूरी १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा ९० सेकेण्डमा पूरा हुन्छ।
यो जीपलाइन समुन्द्री सतहदेखि १५५० मिटर उचाइमा रहेको छ। १८ सय ५० मिटर लामो यो जीपलाइनको तल्लो स्टेशन ९५० मिटरमा रहेको छ।
माथिल्लो र तल्लो स्टेशनको भर्टिकल उचाइ ६ सय मिटर रहेको छ। जीपलाइनको दुई स्टेशनबीच ५६ डिग्रीको स्लोप रहेको छ। यस्तो स्लोप र अग्लो जीपलाइन अन्यत्र कतै पनि नरहेको महर्जनले बताए।
यस्तो रेकर्ड अन्यत्र नभएकाले पोखराको जीपलाइनले विश्व रेकर्ड कायम गरेको हो। गिनिज बुक अफ दि वल्ड रेकर्डले पनि अध्ययन गरिरहेकाले अवार्ड पाउने उनले विश्वास गरे।
यो अवार्डसँगै साहसिक गतिविधिमा रमाउन चाहाने पर्यटकका लागि जीपलाइन थप आकर्षणको केन्द्र बन्ने हाइग्राउण्ड एडभेन्चर नेपालका निर्देशक महर्जनले बताए।
साहसिक गतिविधिमा रमाउन चाहाने पर्यटकका लागि हाइग्राउण्ड एडभेन्चर नेपालले जीपलाइनको साथै बञ्जी, स्विङ र एटिभि पनि सञ्चालनमा ल्याएको छ।
पोखरामा नेपालमै पहिलो पटक व्यवसायिक रूपमा सहासिक खेलका गतिविधि प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटाएर बेलुन लगायतका खेल सञ्चालनमा छन्।
पोखरामा सञ्चालित जीपलाइन चढेर अन्नपूर्ण, धौलागिरी हिमाल, सूर्येदयको दृश्य, सेती नदी, यम्दी खोला र हेमजा बजारदेखिने भएकाले पनि पर्यटक जीपलाइन गर्न रमाउने गर्दछन्।
जीपलाइन गर्न दैनिक ५० जना जति आउने गरेको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस !