प्रधानमन्त्रीज्यू, कहिले हटाउनुहुन्छ यो लाइन ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य निर्णय गरेको छ। स्थिति भने ३६ घण्टासम्म लाइन लाग्नुपरिरहेको छ। सरकारको यो निर्णय कहिलेदेखि कार्यान्वयन हुन्छ भन्ने धेरैलाई जिज्ञासा छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागबाट पासपोर्ट बनाउन सेवाग्राहीले अत्यधिक सास्ती भोगिरहेका छन्। जिल्लाबाट बनाउँदा महिना दिन लाग्छ। त्यसैले दु्रत सेवा लिन देशभरबाट काठमाडौं आउँछन्। यहाँ त झनै सास्ती पाएको पोखराका ३४ वर्षीय राजकुमार गुरुङले अड्डामा अन्नपूर्णको टोलीलाई बताए।
पासपोर्ट बनाउन काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागमा लागेको लाइन।
कतार जाने योजनामा रहेका गुरुङले पासपोर्ट बनाउन काठमाडौं आएको तीन दिन भएको सुनाए। हामीसँग कुराकानी हुँदासम्म उनको काम बनेको थिएन। काठमाडौं आएको पहिलो दिन आफन्तकहाँ बसे। बिहीबार बिहानै ४ बजे आएर लाइन लागे। अपराह्न साढे ४ बजेसम्म बसे। काम बनेन। उनी रित्तै हात फर्किए। फेरि ढिला होला भनेर बिहीबारको राति कार्यालयनजिकै होटलमा बसे। शुक्रबार बिहान ४ बजे नै फेरि लाइन बसिरहँदा अन्नपूर्ण पोस्ट्को टोलीले उनलाई भेटाएको हो।
चिसो मौसममा लाइन बस्नुपर्दा सेवाग्राही हैरान हुन्छन्। गेटमा प्रवेश गर्न, फाराम रुजु गराउन, राजस्व बुझाउन, बायोमेट्रिक र फोटो खिचाउनका लागि सबै ठाउँमा पटक–पटक लाइन लाग्दा थकित हुन्छन्। त्यसमाथि सर्भरले काम नगर्दा झनै सास्ती खेप्नुपर्छ।
भुइँमा घामको उज्यालो नखसिसकेकाले त्रिपुरेश्वर सडकमा गाडी फाटफुट मात्रै गुडेका देखिन्थे। विभाग अगाडि कोही ट्याक्सीबाट झरिरहेका थिए त कोही लाइनमै थिए। लाइनमा धकेलाधकेल चलिरहेको थियो। जसकारण भनाभनसँगै होहल्ला पनि सुनिँदै थियो। जो थिए देशमा अवसर नपाएर विदेश जान खोज्ने युवाहरू। उनीहरू कार्यालय समयको प्रतीक्षामा थिए।
बढ्दो चिसोमा यहाँको बसाइ निकै सास्ती र कष्ठपूर्ण हुने नै भयो। कोही राति १० बजे नै आएर मूल गेटमा बिहानीको प्रतीक्षा गरिरहेका थिए। कोही बिहान ३ बजे आएर लाइनमा मिसिँदै थिए। लाइन बढ्दै गएर मूलगेटबाट बिहान नहुँदै दशरथ रंगशालासम्म पुगिसकेको थियो।
पासपोर्ट बनाउन समय ‘बुकिङ’ गरेर आए पनि काम बनिरहेको छैन। २–३ घण्टामा भइसक्ने काम १२ देखि ३६ घण्टासम्म भोकै प्यासै लाइन बस्दा पनि सेवाग्राहीको काम बनिरहेको छैन। कहिले सर्भरले काम गरेन त कहिले कार्यालय समय सकियो भन्दै त्यहाँ खटिएका प्रहरीले सेवाग्राहीलाई फर्काइदिन्छ।
राहदानी विभागले लाइन हटाउन गत मंसिरमा अनलाइन सेवा लिएर आयो। तर, अनलाइनले लाइन हटाउनु त कहाँ हो कहाँ झन् बढाएको सेवाग्राहीले बताए। मुस्किलले २ सयमा पासपोर्ट बनाउने फाराम भरिन्छ। तर, साइबरवालाहरूले ८ हजारसम्म लिइरहेका छन्। फाराम भरेर समय बुकिङ गराइदिने नाममा साइबरवालाले चर्को असुली गर्ने गरेको सेवाग्राही बताउँछन्। विभागले दैनिक १५ सयदेखि २ हजारसम्म अनलाइन फाराम खुलाउँदै आएको छ। माग भने ४ हजारदेखि ६ हजारसम्म छ।
- ३६ घण्टासम्म पनि बन्दैन काम
- अनलाइन फारामले झनै सास्ती
- साइबरले लिन्छन् ८ हजारसम्म शुल्क
- दैनिक अनलाइन भर्न पाउने २ हजार
- सेवाग्राहीको माग भने ६ हजारसम्म
चिसो मौसममा लाइन बस्नुपर्दा सेवाग्राही हैरान हुन्छन्। गेटमा प्रवेश गर्न, फाराम रुजु गराउन, राजस्व बुझाउन, बायोमेट्रिक र फोटो खिचाउनका लागि सबै ठाउँमा पटक–पटक लाइन लाग्दा थकित हुन्छन्। त्यसमाथि सर्भरले काम नगर्दा झनै सास्ती खेप्नुपर्छ। तर, विभाग र तालुक निकाय परराष्ट्र मन्त्रालयले केही मतलब नरहेको भन्दै गुरुङले आक्रोश पोखे।
‘रातिदेखि नै बांगोटिंगो गरी ठूलो लाइन बस्नुपर्छ। तर, काम हुन्छ कि हुँदैन त्यसको ठेगान छैन’, उनले भने, ‘काठमाडौं आएपछि होटलमा बस्नुपर्छ। यहाँ काम गर्न राति ट्याक्सी चढेर आउनुपर्छ। हामीले कहाँ–कहाँ पैसा तिर्ने ? धेरै समस्या भयो।’ ३० हजार खर्च गरिसके पनि काम नबनेको उनले सुनाए।
‘कस्तो प्रविधि चाहियो ? स्टाफ कति चाहियो ? यो सबै कुराको व्यवस्था सरकारले गर्नुपर्ने होइन र ?’, उनले भने, ‘काम कसरी चाँडो हुन्छ ? त्यो हामीभन्दा तलब खाएर बसेका इन्जिनियर र कर्मचारीलाई थाहा छ। तर, उनीहरू गर्दैनन्।’ उनका अनुसार जिल्लामा एक महिनामा राहदानी बन्छ। ‘तर, हामीलाई अर्जेन्ट चाहिएको छ। मेडिकल भइसक्यो। कतार जान भिसा पनि आइसकेको छ’, उनले भने, ‘पासपोर्ट नवीकरण गरी ई–पासपोर्ट लिएर जानु छ। यो हाम्रो बाध्यता छ।’
द्रूत सेवाबाट काम बनाउन १२ हजार रुपैयाँ लाग्छ। सबै प्रक्रिया एक दिनमा पूरा भइसक्नुपर्ने हो। तीन दिनमा त हातमै पासपोर्ट आउनुपर्ने हो। तर, त्यसो हुन सकेको छैन। प्रक्रिया पूरा गर्नै दुई दिन लाग्छ। ‘महँगी बढ्यो। यहाँको कमाईले खान, लगाउन, बस्न पुग्दैन’, गुरुङले भने, ‘त्यसैले विदेश जानुपरिरहेको छ।’
प्युठानका २८ वर्षीय जीवन खड्का शुक्रबार बिहान ३ बजे पासपोर्ट बनाउन लाइन बसे। जिल्लाबाटै फाराम भरेर विभागले दिएको समयमा शुक्रबार मध्याह्न १२ बजे आएका थिए। तर, उनको काम आधा मात्रै भएको थियो। बायोम्याट्रिक र फोटो खिचाउन उनी शुक्रबार लाइन बसेका थिए।
‘टाढाबाट आउनु परेको छ। पासपोर्टकै लागि ३५ हजार खर्च भयो’, खड्काले भने, ‘राष्ट्रिय परिचयपत्र बनाउन एक हप्ता लाग्यो। त्यो भएपछि बल्ल पासपोर्टका लागि फाराम भरेँ। यसमा पनि दिनभर लाइन बस्नुपरेको छ। सरकारी काम कहिले जाला घाम यस्तै हो ?’ पासपोर्ट लिएर घर फर्किन ४५ हजार खर्च हुने उनले बताए। उनी दुबई जाने तयारीमा छन्। पहिलो पटक कतार गएर ६ वर्षमा फर्किएका थिए। ‘पासपोर्ट बनाउन लास्टै दुःख छ। जहाँ गयो त्यही लाइन बस्नुपर्छ। लास्टै झ्याउ छ’, उनले भने, ‘चिसोले लाइन बस्न निकै समस्या छ।
उनका अनुसार विदेशमा यस्तो काम घरमै बसेर छिनभरमै हुन्छ। यहाँ त रातभर धाउँदा पनि काम हुँदैन। सरकारी सेवा प्रदान गर्ने शक्तिशाली संरचनाको कमीले सेवाग्राहीले सास्ती भोग्दै आएको बताउँदै उनको बुझाइ छ। ‘आफ्नै देशको प्रमाणपत्र पाउनका लागि ४०–५० हजार खर्च हुन्छ’, उनले भने, ‘सरकारले सेवाको नाममा २४–४८ घण्टासम्म लाइन लगाएर एक प्रकारले सरकारले यातना नै दिइरहेको छ।’
झापाका ३७ वर्षीय विराज खालिङ कतारबाट फर्किएको चार महिना भयो। फेरि विदेश उड्ने तयारीमा छन्। तर पासपोर्ट हराएकाले नयाँ बनाउन काठमाडौंमा आएको उनले सुनाए। ‘बिहानै लाइन लाग्छौं। आज नेट चलेन भन्छ त प्रिन्ट नै हुँदैन भन्छ। आज काम हुँदैन भनेर फर्काइदिन्छ’, खालिङले भने।
उनका अनुसार हराएको पासपोर्ट बनाउन १७ हजार राजस्व लाग्छ। यो काम गर्न एक हप्ताअघि आएको उनले बताए। ‘बसाई छ बसपार्क, कुदाइ छ यता (राहदानी विभाग)। ट्याक्सी भाडा हजार, सात सोउ, आठ सोउ। खानै पर्यो’, उनले भने, ‘५० हजार ल्याएको खर्च सक्यो। काम अझै भएको छैन। कहिले काम हुन्छ ? कति खर्च लाग्छ थाहा छैन।’
उनका अनुसार लाइन बस्दाबस्दै दिन बित्छ। काम हुँदैन। फाराम भर्नै साइबरवालाले ८ हजारसम्म लिने गरेको उनले सुनाए। भने, ‘८ हजार माग्यो। छुट गरेर ६ हजार लियो। अग्रिम समय लिएर आउँदा पनि एक दिन लाइन बस्नुपर्यो। गाली गर्नुपर्ने कसलाई ? भन्नुपर्ने कसलाई ? परिस्थिति, देशको स्थिति यस्तै हो। चलिरहेको छ। दुःख भोग्ने, ठगिने हाम्रो मजबुरी हो। बिदेसिने हाम्रो बाध्यता हो।’
उनी शुक्रबार राति अढाई बजे विभागमा पुगेका थिए। ‘नेपालमा कमाइ नहुने होइन्। महिनामा १५ हजार कमाइन्छ। तर, परिवार पाल्न पुग्दैन। १५ हजारको कमाईले यहाँ केही हुँदैन। सबै किनेर खानुपर्छ। खेती भनेको त्यस्तै हो’, उनले भने, ‘८–९ वर्ष भइसक्यो विदेश पलायन भएको। यसपालि मेरो दिन बिग्रेर दसा लाग्यो। घरबाटै सबै कागजपत्र हरायो। खर्च जति भए पनि विदेश जाने हतियार पासपोर्ट आए ढुक्कै हुन्थ्यो।’
शनिबार र बिदाको दिन रोड खाली होला नत्र सधैं लाइनले सडक जाम हुन्छ। मेला लाग्छ। एक घण्टा एक दुई मिटर पनि लाइन अघि बढ्दैन। त्यति ठूलो लाइन हुन्छ। सरकारकै लाचारीले सरकारी सेवा लिन सास्ती भइरहेको सेवाग्राहीको भनाइ थियो। ‘त्यसमाथि सेवाग्रही बिचौलियाबाट साइबरमा ठगिन्छन्। हर कुना–कुना, गल्ली–गल्लीमा हामीलाई झुक्याएर ठग्छन्। प्रहरी प्रशासनलाई मतलब छैन’, खालिङले भने, ‘काठमाडौंमै राष्ट्रिय परिचयपत्रको फाराम भरेर अनलाइन समय बुकिङ गर्न साइबरवालाले ८ हजार लियो। पैसा नदिए एक महिनापछि काम हुन्छ भन्यो। पैसा भएपछि खोइ कहाँबाट एकै छिनमा समय मिलाइदियो।’
पासपोर्ट बनाउने लाइनमै भेटिइन् इटहरीकी सुशीला राई। एक हप्ता भयो काठमाडौं आएको। फोटो खिचाउन लाइनमा बसेकी थिइन्। तर, समयमा काम बन्छ भनेर उनमा आशा नै थिएन। बिहीबार लाइन बसिरहँदा ‘आज काम हुँदैन’ भनेर बेन्चबाटै उठाएर फर्काइ दिएको गुनासो उनले गरिन्। रातिदेखि नै लाइन लागेर फोटो खिचाउने ठाउँमा पुगेकी उनलाई कार्यालय समय सकिएको र सिस्टमले काम नगरेको जवाफ दिँदै कर्मचारीले फर्काएका थिए। त्यही भएर उनी शुक्रबार मध्य रातिदेखि फेरि लाइन लागेकी थिइन्। ‘पहिलेदेखि लाइन नलागे काम हुने चान्स कमै हुन्छ’, उनले भनिन्, ‘बालबच्चालाई घरमै छोडेर आएको छु। सात–आठ वर्षको बच्चा छ।’ वडाबाटै राष्ट्रिय परिचयपत्र बनाएर राहदानी बनाउन काठमाडौं आएको उनको भनाइ थियो।
उदयपुरका राकेश तामाङले रातभर, दिनभर लाइन लाग्दा गलिने सुनाए। दिसा, पिसाब गर्न पनि कठिन हुने गरेको उनले बताए। ‘कार्यालयको भित्री भागमा शौचालय छ। बिहान नभएसम्म भित्र जान दिँदैन। राति नै लाइन लाग्नेहरूलाई दिसापिसाब गर्न खोला किनारै पुग्नुपर्छ’, तामाङले भने।
पर्वतका अजय अधिकारी वैदेशिक रोजगारीका लागि कतार जाने तयारीमा छन्। भिसा आइसकेको छ। तर, पासपोर्ट नवीकरण नहुँदा उनलाई समस्या परेको छ। ‘लाइन हटाउन अनलाइन ल्याइयो। अनलाइनले झन् ग्राहो बनायो’, अधिकारीले भने, ‘पासपोर्टको अनलाइन फाराम भर्न ३ हजारदेखि ८ हजार लिन्छन्। हामीले मोबाइलमा समय लिन जति प्रयास गर्दा पनि हुँदैन। तर, उनीहरूले खैई कहाँबाट के गर्छन् ? आज नभई भोलिसम्म पासपोर्टका लागि समय मिलाउँछ।’
यसमा धेरै बेथिति रहेको उनको बुझाइ छ। ‘यसमा कसको कमजोरी छ ? यसै भन्न सकिएन। तर, सेवा लिन दुःख भने धेरै छ’, उनले भने। जिल्लामा एक महिना लाग्ने भएकाले काठमाडौं आए पनि यहाँ एक हप्ता लाग्ने उनले बताए। उनका अनुसार पाँच हजारमा बन्ने पासपोर्ट इमेर्जेन्सीमा १२ हजार तिर्नुपरेको छ। बाँके कोहलपुरका प्रेमबहादुर ओलीले भने, ‘विदेश जानमै सबै गरे २–३ लाख खर्च लाग्छ। कहिले कमाउला र यो ऋण तिर्ने ? समस्यै छ।’
उनलाई पासपोर्ट बनाउन समय लिनमै चार दिन लाग्यो। उनले फाराम भरेर समय लिन साइबरमा ४ हजार तिरेका थिए। पैसा लिएर समय निकाली दिने बिचौलियाहरू लाइनमै आइपुग्छन्। सबै साइबरवालाले ठग्छन्।
‘हाम्रो कम्प्युटरबाट फाराम भर्दा समय पाइँदैन। तर, यिनीहरू कसरी, कहाँबाट समय मिलाउँछन् ? कर्मचारी र साइबरवालाको सेटिङ हो कि ? प्रश्न पनि छ। भिडमा एक जना पनि भेटिदैन आफैंले फर्म भरेर समय लिन सफल भएको’, उनले भने, ‘वैदेशिक रोजगारमा जाने मान्छेहरू पाइला पाइलामा ठगिन्छ। पासपोर्ट बनाउँदा ठगिन्छन्। मेडिकल गराउँदा लुटिन्छन्। मेनपावरका एजेन्टले एउटा काम भनेर विदेशमा अर्को काममा फसाउँछन्। हामी आफ्नै देशमा त ठगिन्छौं भने अर्काको देशमा दुःख र ठगिने त भइनै हाल्यो।’ 
ठगिने वातावरण कसले बनाउँछ भन्ने प्रश्नमा उनले आक्रोश पोखे, ‘नेताहरूले। नेताहरू गतिलो नभएर। ठगी गर्ने सञ्जाल छन्। जहाँ ठूला नेता, कर्मचारी, बिचौली सबै मिलेका छन्। जसले गर्दा जस्तोसुकै राम्रो सिस्टम ल्याए पनि जनताको कल्याण हुँदैन।’
आईटी इन्जिनियर र यहाँको प्रमुखले नै सेवाग्राहीलाई सास्ती दिइरहेको छ सेवाग्राही टीका पौडेलले बताए। ‘दुई महिनाअघि हामी यही सिस्टममा मज्जाले फाराम भर्न सक्थ्यौं। अहिले आएर सक्दैनौं, ट्राफिक जाम भनेर आउँछ। किन ? यो सबै कुरा त आईटी इन्जिनियरलाई थाहा हुन्छ। एउटा सिस्टम बिगार्ने बित्तिकै हामीले फर्म भर्न पाउँदैनौं।’
हामीसँग अग्रिम सेवा दिने उपाय छैन
कुमार राई, निर्देशक, राहदानी विभाग 
पासपोर्ट बनाउन किन भीड लाग्छ ?
यो भिड दुई–चार दिनदेखिको हो। विशेषगरी कोरियाको औद्योगिक क्षेत्रमा युटनसिपका लागि जानेहरूको हो। त्यहाँ गएर अनुभव आर्जन गरेर स्वदेश आउने र यहाँ काम गर्ने सपना बोकेर कोरिया जान पासपोर्ट बनाउनेहरूको भिड छ।
पासपोर्ट फाराम २ सयमा भरेर अग्रिम समय लिन सकिन्छ भन्ने छ। तर, साइबरवालाले ८ हजारसम्म लिँदा रहेछन्। किन ? यसमा सेवाग्राहीको पनि कमजोरी छ। हाम्रै कार्यालय अगाडि २ सयदेखि अढाई सयमा फाराम भर्ने गरेको छ। मागेजति दिनुहुन्छ भने सेवाग्राहीको पनि कमजोरी हो। त्यसमा हाम्रो दोष होइन।
सर्भरमा ‘ट्राफिक’ जाम किन देखाउँछ ?
सुरुमा हामीलाई ५० लाख पासपोर्टको बुकलेट चाहिन्छ भन्ने थियो। हामीले २० लाखको स्वीकृति मात्रै पायौं। त्यही हिसाबले हाम्रो क्षमता निर्धारण गरिएको छ। अर्को सबै ठाउँबाट एकै पटक फाराम खोल्दा सर्भरमा लोड पर्छ। हाम्रो निश्चित क्षमता छ। यसले कहिलेकाहीँ हाई ट्राफिक जाम देखाउँछ।
कहाँबाट पासपोर्ट लिन सकिन्छ ?
विभागबाट दैनिक सरदर १५ देखि १६ सयसम्म फाराम खुलाइन्छ। ७७ जिल्ला प्रशासन, १९ इलाका प्रशासन र विदेशस्थित हाम्रा नियोगका ३८ स्थानमा स्टेसन खडा छन्। सबै आफ्नो क्षमताअनुसार फाराम खुलाउँछन्। केन्द्रबाट हामीले ४ हजार नै फाराम खुलाउन सक्छौं। तर, स्रोतसाधन छैन। उपत्यकामा १० दिनभित्र पासपोर्ट प्रिन्ट भएर जान्छ। टाढाका जिल्लामा २५ दिन पनि लाग्छ।
विभागबाट कस्ता सेवाग्राहीलाई सेवा दिइन्छ ?
विभागबाट अत्यन्तै जरुरी परेकाहरूलाई पासपोर्ट दिन्छौं। तर, काठमाडौं जिल्लाबाटै पनि फाराम लिएर जरुरी भन्दै आइपुग्नुहुन्छ। उपत्यकाका जिल्लामा हामीले जिल्लाबाट आएको फारामको पासपोर्ट सात दिनमै पठाउने गरेका छौं। तर, उहाँहरू सात दिनसम्म पर्खिनुहुन्न। हतार गर्नुहुन्छ। उहाँहरूले जिल्लाबाटै काम गराएदेखि हामीलाई प्रेसर पर्ने थिएन। यहाँ लगभग ७७ वटै जिल्लाका मान्छे थुप्रिन्छन्।
फाराम पनि बाहिर जिल्लाकै लिएर आउँछन्। जिल्लामा गएदेखि समस्या आउने थिएन। विभागमा जसले फाराम भर्नुहुन्छ उहाँहरूका लागि काम गर्ने हो। त्यो पनि इर्मेजेन्सीमा। उहाँहरूको आवश्यकता र मागलाई ध्यानमा राखेर सेवा दिने गरेका छौं।
यहाँबाट कति पासपोर्ट बनाइन्छ ?
दैनिक जति लाइभइनरोलमेन्ट हुन्छ त्यसैअनुसार पासपोर्ट प्रिन्ट हुन्छ। अहिले हामीले विभागबाट दिनको २ हजार लाइभइनरोलमेन्ट गरेका छौं। माग त त्योभन्दा बढी छ।
अग्रिम ‘डेट’ लिएर आउँदा पनि काम किन हुँदैन ?
हामीले सकेसम्म सेवा दिइ नै राखेका छौं। राहदानी विभागमा आउनुभएकाहरूलाई पहिलो प्राथमिकता दिन्छौं। शतप्रतिशत सेवा दिइरहेका छौं। तलमाथि भएको छैन। तीन दिनसम्म जो लाइन लाग्नुहुन्छ। उहाँहरू बाहिरी जिल्लाबाट आउनेहरू छन्। राहदानी विभागको फाराम त्यो होइन। पाँच दिन पछाडिको समय हुन्छ। तर, आजै चाहियो भनेर आउनुहुन्छ। उहाँहरूलाई अग्रिम सेवा दिने उपाय हामीसँग छैन।
तस्बिरहरू : अशोक दुलाल र सुनिता डंगोल
प्रतिक्रिया दिनुहोस !