रामपुर रोड्सलाई त्रिवेणी कप उपाधि
बेसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा भएको ३०औं संस्करणको त्रिवेणी कप फुटबलको उपाधि चितवनको रामपुर फुटबल क्लब, रोड्स रामपुरले जितेको छ।
बेसीसहरको सहजी रंगशालामा मंगलबार भएको फाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रोड्स रामपुर च्याम्पियन बनेको हो।
रोमान्चक खेलको निर्धारित समय र थप गरिएको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो।
पेनाल्टीमा रामपुरका अब्देल रहमान, आकाश थापा, डिका सेर्गी, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले गोल गरे। सन्दीप श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुके।
बागमतीका दिब गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ रै र कसीम राईले गोल गरे। दिपेश चाम्लिङ राई र आयुष राना पेनाल्टीमा चुके।
पेनाल्टी अघि अनिल रानाले १८ औं मिनेटमा गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, सुरेश कुमालले ३७ औं मिनेटमा गोल गर्दै रोड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगिताको उपाधिसँगै रामपुरले ५ लाख प्राप्त गर्दा उपविजेता बागमतीले ३ लाख प्राप्त गरेको छ। यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाएका छन्।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रामपुर रोड्सका सुरेश कुमाल चुनिए। सर्वाधिक गोलकर्ता बागमतीका देव गुरुङ, रामपुरका सुरेश कुमाल र समाज कल्याणका अब्दुल्लाहले संयुक्त पाए।
उत्कृष्ट गोलकिपरको अवार्ड बागमतीका रबिन बस्नेत चुनिए।
प्रतिक्रिया दिनुहोस !