राहदानी बनाउन जिल्लामा उस्तै सास्ती
गोरखा : गोरखाबाट जितेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले राहदानी वितरणलाई सहज बनाउने विषयमा पहिलो निर्णय गरे। तर, गोरखामा सेवाग्राहीले राहदानी बनाउन चरम सास्ती खेपिरहेकै छन्। चुमनुब्री–७ छेकम्पारका छिरिङफुञ्जो लामा तीन दिन पैदल र एक दिन गाडीको यात्रा गरी मंगलबार दुई छोरीको राहदानी बनाउन जिल्ला सदरमुकाम आइपुगे। मंगलबारै जिल्ला प्रशासन कार्यालयमा गए। राहदानी शाखाका कर्मचारीसित जानकारी लिए।
‘बाहिरबाट डेट लिएर आउनु हामी बनाइदिन्छौं भन्नुभयो। बाहिर भनेको प्रशासन कार्यालयको वरिपरिका पसल रहेछ’, तनावमा भेटिएका लामाले भने, ‘त्यसपछि मैले यी दुई छोरीलाई लिएर पसल–पसल चाहारेँ। कुनै पसलले पनि हामी डेट लिइदिन्छौं, फाराम भरिदिन्छौं भनेनन्। आज यतै बस्छौं। भोलि भरिदिनुहुन्छ त भनेर पसलेसित सोध्यो भने भोलि पनि यस्सै भन्न सकिँदैन भन्दा रहेछन्। कुनै दिन दुई–चार जनाको फाराम भरेर डेट लिन सकिन्छ। कुनै दिन एक जनाको पनि भर्न सकिँदैन। त्यसैले जिम्मा लिन सकिँदैन। प्रयासचाहिँ गर्छौँभन्दा रहेछन्।’
यही समस्या लिएर फेरि राहदानी शाखामा गए। ‘हामी यहाँबाट केही गर्न सक्दैनौँ। बाहिरबाटै डेट लिएर आउनुभयो भने केही दिन अघि सार्न बरु सक्छौं। तर, डेट नलिई आए केही गर्न सक्दैनौं भन्नुभयो’, उनले पीर पोखे, ‘यहाँ होटलमा कति दिन बस्ने ?’ अनुत्तरित प्रश्न गर्दै उनीहरू अपरान्ह ४ बजे प्रशासन परिसरबाट बाहिरिए।
राहदानी विभागले एमआरपी विधि छाडेर विद्युतीय राहदानी सेवा सुरु गरेपछि हरेक दिन, सेवाग्राहीले यस्तै सास्ती भोग्नुपरिरहेको छ। सेवाग्राहीलाई समस्या परेको मौकामा पसलेहरूले पनि मनोमानी रकम असुल्दै फाराम भर्ने गरेका अर्का सेवाग्राही मनोहर विश्वकर्माले बताए।
‘कुनै पसलेले पाँच सय रुपैयाँ लिँदो रहेछ। तर, फाराम कहिले भरिन्छ भनेर निश्चित नहुने रहेछ। कुनै पसलेले तेब्बर दस्तुर १५ सय लिने रहेछन्। उही दिनमा भरिदिने रहेछन्’, सिरानचोक १ बाट आएका विश्वकर्माले भने, ‘साह्रै बेथिति रहेछ। हामी पनि सुखले पासपोर्ट बनाउन आएका त होइनौं नि ! खाडीमा जोतिएर दुई–चार पैसा कमाउन जाउँला भनेर पासपोर्ट बनाउन आएको हो। विदेश जान कहाँ हो कहाँ हो, पासपोर्ट बनाउन मुस्किल भयो।’
सेवाग्राहीलाई मात्र होइन, यो सास्ती राहदानी फाँटमा पनि छ। ‘विभागले एक दिनमा प्रतिघण्टा आठ जनाको फाराम भर्न भनेको छ। तर, हामीले सेवाग्राहीको सुविधाका लागि प्रतिघण्टा १० जनाको अनलाइन फाराम भर्ने गरेका छौं’, एक कर्मचारीले भने, ‘तर जब बिहान १० बज्छ, धेरै जनाले डेट लिनका लागि एकैचोटी प्रयास गर्दा सर्वर जाम भएर खुल्दै खुल्दैन। पोहोर माघ चार गते यो सेवा सुरु भएको हो। एक दिन होइन, दुई दिन होइन एक वर्षदेखि यस्तो समस्या बेहोरेका छौं। सेवाग्राहीले यति गुनासो सुन्नुपर्छ कि, यही तनाबले प्रेसरको औषधि खानुपर्ने अबस्थामा पुगेका छौं।’
यहाँको समस्याबारे कार्यालयले विभागमा लिखित, मौखिक जानकारी गराएको पनि छ। स्टेसन थप गर्न माग पनि गरेको छ, तर विभागले टेरपुच्छर लगाएको छैन। ‘हामीले चाहेर पनि सेवा थप गर्न नमिल्ने रहेछ। आन्तरिक कर्मचारी र आन्तरिक व्यवस्थापनबाट उपकरण थपेर सेवा थप गर्न नमिल्ने रहेछ। विभागले पठाएको कम्प्युटरबाहेक अरूमा राहदानीको सर्वर नखुल्ने रहेछ’, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने, ‘स्टेसन थप गर्न उपकरण पठाइदिनुस्, कर्मचारी हामी नै व्यवस्थापन गर्छौं भनेर मौखिक, लिखित अनुरोध गरिरहेका छौं, तर, अहिलेसम्म सुनुवाइ भएको छैन। अझै प्रयास गरिरहन्छौं।’
प्रतिक्रिया दिनुहोस !