‘आम्जी’ र ‘स्याक्या’लाई कानुनी मान्यता
गोरखा : हिमालपारिको चुमनुब्री गाउँपालिकाले सय वर्षदेखि प्रचलित ‘स्याक्या’ र ‘आम्जी’ परम्परालाई कानुनी मान्यता दिएको छ। हालै सम्पन्न १२औं गाउँसभा तथा हिउँदे अधिवेशनले यहाँको उपचार पद्धति आम्जी र सांस्कृतिक, धार्मिक परम्परा स्याक्यालाई कानुनी वैधता दिएको हो।
साथै गाउँसभाले सामागाउँमा अवस्थित ‘हुसुरडाँडा’लाई बहरायनका राजकुमारको नाममा ‘रोयल बहराइन पिक’ बनाइएकोलाई वैधानिकता दिने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए। भोटे लामा समुदायको बसोबास रहेको यस भेगमा आम्जीद्वारा उपचार गर्ने पद्धति प्रचलनमा छ। नेपाल सरकारलेसमेत वैकल्पिक उपचार विधि भनेर मान्यता दिएको यस पद्धतिलाई सो गाउँपालिकाले पनि अपनाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
आम्जीले उपचार गर्ने पद्धतिलाई ‘सोवारिग्पा’ पनि भनिन्छ। आम्जी भनेको मंगोलियन भाषामा ‘डाक्टर’ हो। आम्जीलाई सयौं वर्षअघि तिब्बतका राजाले औषधि उपचार गर्न स्वास्थ्यकर्मीमार्फत आविस्कार गराएको विधि भनेर चिनिन्छ। आयुर्वेदिक औषधि, अकुपञ्चर र युनानी उपचार विधिको असल अभ्यासको मिश्रित रुप ‘सोवारिग्पा’ हो। यो विधिबाट उपचार गर्नेलाई आम्जी भन्न थालिएको यस विषयका जानकार नरेन्द्र लामाले जानकारी दिए।
उनका अनुसार यो विधि तिब्बतमा लोकप्रिय भएपछि भुटान, मंगोलिया, नेपालको हिमाली भेगमा फैलिएको हो। आम्जीले वनस्पति, जडिबुटी, वन्यजन्तुका केही अंग, माटो, चट्टान जस्ता खनिज, तान्त्रिक विद्या र अकुपञ्चरको प्रयोग गरी रोगको उपचार गर्ने उनले बताए।
पालिकाले आम्जी विधेयक पारित गरेपछि अब स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकामा व्यवसाय दर्ता गरेर क्लिनिक, औषधालय वा सानोतिनो अस्पतालसमेत सञ्चालन गर्न पाइने गाउँपालिकाले जनाएको छ। त्यस्तै, चुम उपत्यकामा प्रचलित ‘स्याग्या’ परम्परालाई पनि पालिकाले मान्यता दिएको छ। प्राणीको शारीरिक तथा मानसिक हिंसा अन्त्य गर्न विगत १०१ वर्षदेखि अपनाइएको ‘स्याग्या’ परम्परालाई कानुनी मान्यता दिएको गाउँपालिकाका प्रमुख निमा लामाले बताए।
यस विधेयकमा कुनै पनि सजिव प्राणीलाई काटमार नगर्ने, काटमार गर्ने उद्देश्यले पशुचौपाया तथा पक्षीपालन नगर्ने र काटमार गर्ने उद्देश्यले बेचबिखन पनि नगर्ने, काटमार गर्ने उद्देश्यले चुम उपत्यका हुँदै पशुचौपाया ओसारपसार नगर्ने, महका लागि मौरीपालन नगर्ने, वनजंगलमा डढेलो नलगाउनेलगायतका बुँदाहरू समेटिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए।
प्रतिक्रिया दिनुहोस !